छापा खबर


हराएको भनिएको चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पर्‍यो

हराएको भनिएको चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पर्‍यो

नेपालखबर
असोज ८, २०७७ बिहिबार १:०,

उत्तरी सिमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पारेको छ।

उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो। ५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हो।

चीनले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको भन्ने विवाद आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्‍जीवी गिरी नेतृत्वको टोली सिमानामा पुगेको थियो।

चिनियाँ अधिकारीसँग वार्ता गर्ने प्रयास सफल नभएपछि नेपाली टोली सीमास्तम्भको खोजीमा जुटेको थियो। त्यसक्रममा हराएको भनिएको सीमास्तम्भ फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

हुम्लाको नाम्खा गाउँपालिका-६ टाकुलेमा सीमास्तम्भ भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए। उनका अनुसार सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो। चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन्। तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो।

यो सीमास्तम्भ नभेटिँदा चीनले सीमा क्षेत्रमा बनाएका संरचनाबारे विवाद उत्पन्न भएको थियो। नाम्खा गाउँपालिका-६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ।

स्थानीय बासिन्दाले ती भवन नेपाली भूमिमा बनाएको बताउँदै आएका छन्। चीनले त्यसलाई आफ्नो जमिन दाबी गर्दै आएको छ। विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको टोली लोलुङजोङ पुगेको हो। त्यहाँ रहेका चिनियाँ अधिकारीले आफ्नो भूमि भन्दै उनीहरूलाई फिर्ता पठाएका थिए।

स्थानीय बासिन्दा र जनप्रतिनिधि भने चीनले भौतिक संरचना बनाएको लोलुङजोङ क्षेत्र नेपालकै भएको बताउँछन्। अनुगमन टोलीमा रहेका नाम्खा गाउँपालिका अध्यक्ष विष्‍णुबहादुर तामाङले त्यो क्षेत्रमा यसअघि चौँरी चराउने गरिएको बताए।

नेपाली टोली पुग्दा चिनियाँ सुरक्षाकर्मी नवनिर्मित भवनमै बसिरहेका थिए। त्यहाँ रहेका चिनियाँ अधिकारीले नेपाली टोली आएको भन्दै चिनियाँ सेनालाई बोलाएका थिए।

चिनियाँ टोलीले भवन बनेको स्थानबाट थप साढे दुई किलोमिटर नेपालतर्फ आफ्नो भूमि दाबी गरेको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .