ad ad

छापा खबर


उपचार नपाएर यसरी ज्यान गुमाउँदै छन् संक्रमित

उपचार नपाएर यसरी ज्यान गुमाउँदै छन् संक्रमित

नेपालखबर
भदौ १६, २०७७ मंगलबार २:१५,

बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो।

मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका ती कोरोना संक्रमितलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो। तर विडम्बना, बुटवलको कोभिड अस्पतालमा आइसियु थिएन।

भैरहवाको भीम अस्पतालमा आइसियू तथा भेन्टिलेटर उपकरण त थिए तर सेवा थिएन। चिकित्सकले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरि एम्बुलेन्स खोजे, पाएनन्। केही सीप नलागेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा उनको उपचार थालियो।

उपचारकै क्रममा दिउँसो उनको मृत्यु भयो। ‘समयमै भेन्टिलेटरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो कि’, प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा.सुदर्शन थापाले भने।

गत साताको सोमबार गैडहवाका एक संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भयो। घरको छतबाट खसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजले भीममा रेफर गरेको थियो। उनको अवस्था गम्भीर थियो तर आइसियू नहुँदा आइसोलेसन वार्डमै राखियो। सोही राति उनको मृत्यु भयो।

केही दिनअघि मृत्यु भएका रोहिणीका कोरोना संक्रमित एक पुरुषले पनि बुटवल–भैरहवाका कोरोना विशेष अस्पतालमा उपचार पाएनन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि ५० वर्षीय ती पुरुष सुरुमा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पुगेका थिए। मुटु अस्पतालले कोरोनाको लक्षण देखिएको भन्दै प्रादेशिक अस्पताल बुटवल पठायो। प्रादेशिक अस्पतालमा आइसियु खाली नभएको भन्दै फेरि मुटु अस्पतालमै पठाइयो। मुटु अस्पतालले पुनः फिर्ता गरेपछि उनलाई भैरहवाको भीम अस्पताल पठाइयो।

भीममा भेन्टिलेटर सेवा नभएकाले चिकित्सककै सल्लाहमा भारतको गोखरपुर लैजाँदै गर्दा नौतनवामा उनको मृत्यु भयो।

प्रदेश ५ मा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार भएको छैन। कतै आइसियु छैन त कतै भेन्टिलेटर। कतै भएका भेन्टिलेटर पनि जनशक्ति नहुँदा त्यसै थन्किएका खबर आजको नागरिक दैनिकमा बुटवलबाट रेखा भुसालले लेखेकी छन्।

यी केही प्रतिनिधि उदाहरण हुन्। प्रदेशमा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार भएको छैन। जनशक्ति व्यवस्थापन नगरिँदा भएका भेन्टिलेटर उपकरण थन्किएका छन् भने संक्रमितले उपचार पाउन सकिरहेका छैनन्।

केहीले भेन्टिलेटर सेवा खोज्दाखोज्दै ज्यान गुमाएका छन्। केही रेफर भएर चितवन तथा काठमाडौं पुगेका छन्। एम्बुलेन्स खर्चको जोहो गर्न नसक्नेहरू आइसोलेसन वार्डमा आइसियूको पालो कुरेर बसेका छन्। बुटवलको कोरोना विशेष अस्पतालका डा.थापाका अनुसार आइसियूमै राख्नुपर्ने अवस्थाका ८ जना संक्रमित अहिले पनि फिबर क्लिनिक र आइसोलेसन वार्डमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .