ad ad

छापा खबर


सगरमाथाको उचाइ घोषणा गर्ने तयारी

सगरमाथाको उचाइ घोषणा गर्ने तयारी

नेपालखबर
भदौ ६, २०७७ शनिबार १:०,

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ।

हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए। ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने। चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन्।

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित बनेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला।’

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो।

डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो। उक्त काम डिसेम्बरमा सकिएको थियो। प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन्।

डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ। १०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ।

सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .