छापा खबर


सुष्माले रुँदै भनिन्- ‘म पानी लिन गएकाले बाँचें, घरका सबैलाई पहिराले पुर्‍यो’

सुष्माले रुँदै भनिन्- ‘म पानी लिन गएकाले बाँचें, घरका सबैलाई पहिराले पुर्‍यो’

नेपालखबर
साउन ३१, २०७७ शनिबार ०:५४,

जुगल गाउँपालिका-२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो।

पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन्।

‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पु¥यो,’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी लिन गएकाले बाँचें।’

लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन्। उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको खबर आजको राजधानी दैनिकले छापेको छ।

‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासि आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँसु पार्दै भनिन्।

बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए।

पहिरोले एकै घरका आठ जनासम्म पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

एकाबिहानै बस्ती नै पहिरोले सखाप पारेपछि स्थानीयमा भागदौड र रुवावासी मच्चिएको थियो । नेपाली सेना र स्थानीयले पहिरोले पुरेको स्थानबाट बालबालिकाको शव निकाल्दा सबैको आँखा रसाएका थिए।

पहिरोले पुरिएका आफन्तहरू जीवितै भेटिन्छन् कि भनेर सेनासँगै स्थानीय पनि पहिरो पन्छाउन सहभागी भएका थिए । सेनाले गहिरो गरी खन्दा त्यहाँ रहेका स्थानीय भन्दै थिए, ‘सर धेरै बल गरेर नखन्नू न, जीवितै भए त दुख्छ नि।’

पहिरो आउँदा घर नै हल्लिएको स्थानीयले बताएका छन् । पहिरोमा परी घाइते भई चौतारा अस्पतालमा उपचार गरिरहेकी घाइते जुनुमाया तामाङले पहिरो आउँदा भुइँचालो आएजस्तै गरी घरहरू हल्लाएको बताइन्। पहिरोले घर पुरेपछि श्रीमान्ले तानेर आफूलाई बचाएको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad