ad ad

छापा खबर


जाडो याममा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्छ : डा.अनुप बास्तोला

जाडो याममा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्छ : डा.अनुप बास्तोला

नेपालखबर
साउन २४, २०७७ शनिबार २:४,

संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् ।

सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो । प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन्।

६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार नौ सय १९ अस्पतालबाहिर छन् ।

आजको नयाँ पत्रिका दैनिकले नेपालमा कोरोना संक्रमणको अवस्था र सम्भावित परिणाममा केन्द्रीत रहेर शुक्रराज अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाको अन्तर्वार्ता छापेको छ :

हामी अहिले कोभिड संक्रमणको कुन अवस्थामा छौँ?

पूरै नेपालको अवस्थाको विषयमा अहिले भन्न सकिने अवस्था छैन । प्रादेशिक हिसाबले हेर्दा प्रदेश २ मा कोरोना समुदायमा फैलिसकेको छ । उपत्यकामा ‘क्लस्टर’ (सम्पर्क–सम्पर्क–सम्पर्क)को रूपमा फैलिएको छ । त्यसको मतलब बाहिरबाट आएका मान्छेले सारेकाको संख्या बढी छ अहिलेसम्म।

दुई महिनाअघि तराई कुन अवस्थामा थियो, अहिले काठमाडौं त्यही अवस्थामा पुगेको छ । हुन त सरकारले यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले कोभिड रोकथाम गर्न खोजेको हो कि ट्राफिक व्यवस्थापन गर्न खोजेको हो? यो कोभिड रोकथामका लागि वैज्ञानिक छैन । देशमा कोभिडको दोस्रो केस देखिँदा लकडाउन गरियो, तीन महिनापछि आएर तराईमा महामारी सुरु भयो । तराईमा अब लकडाउन गरे पनि रोकिने सम्भावना छैन।

अबको १५ दिनमा कहाँ पुगिन्छ?
उपत्यकामा भर्खर सुरु भएको छ, अझै १५ दिनमा पनि खास परिस्थिति स्पष्ट हुनेछैन । अझै पनि काठमाडौं सुरुवाती चरणमा छ, तर हाम्रो शैलीले ‘डिजास्टर’ ल्याउनेछ । किनकि अहिले कोही संक्रमित हो कि होइन र संक्रमित कहाँ पुगेको छ भन्ने कसैलाई पनि जानकारी छैन। संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी गर्न सकिएको छैन ।

काठमाडौंलाई व्यवस्थित गर्न सकिएन भने दुई महिनापछि ‘ब्लास्ट’ हुन्छ । अहिलेको तालले हामीले थेग्न सक्दैनौँ, धरोधर्म थेग्न सक्दैनौँ । हाम्रोमा संक्रमण उच्चतम बिन्दुमा पुग्ने आगामी जाडोमा हो । जाडोमा कोभिड, दम, स्वाइनफ्लु सबै मिसिएर आउनेछ । मुख्य सिकार वृद्धवृद्धा नै हुनेछन्।

अझै पनि नियन्त्रण गर्न के गर्न सकिन्छ?
स–साना रोजगारीका लागि प्रभावित क्षेत्रबाट उपत्यकामा नियमित मानिसको प्रवेश भइरहेको छ । यसलाई रोक्न सकिएको छैन । उनीहरू कहाँ, कसरी र कोसँग बसेका छन्, तथ्यांक हामीसँग छैन । कोरोना प्रभावित क्षेत्रबाट आएका मानिसलाई रोक्न सक्नुपर्छ।

पिसिआर नेगेटिभ आए पनि उनीहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ । लकडाउन गरेर एक–अर्कामा हुने संक्रमण रोक्न सके केही न्यूनीकरण गर्न सकिन्छ । काठमाडौंभित्र पनि परीक्षण बढाउनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .