ad ad

छापा खबर


युवामा रोग प्रतिरोधी क्षमता बढी, तर नेपालमा युवा नै धेरै संक्रमित किन?

युवामा रोग प्रतिरोधी क्षमता बढी, तर नेपालमा युवा नै धेरै संक्रमित किन?

नेपालखबर
साउन २४, २०७७ शनिबार ०:५१,

युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्।

२१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो।

त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २।१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ।

६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीको भनाइ छ। ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन्। त्यसैले बढी संक्रमित भएका छन्’, डा.तिवारीले भने, ‘युवा उमेरसमूहमा बढी संक्रमित भेटिए भन्दैमा ६० वर्षमाथिको समूह जोखिममा परेको छैन भन्न मिल्दैन। संक्रमण युवा समूहमा बढी देखिए पनि मृत्युदर वृद्धवृद्धामा बढी छ।’

११ देखि २० वर्ष उमेरमा संक्रमण १५.४ प्रतिशत छ। ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १.५ प्रतिशत संक्रमित छन्। त्यस्तै ७१ वर्षभन्दा माथिका संक्रमित एक प्रतिशतभन्दा पनि न्यून छन्। डा.तिवारीका अनुसार चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ। यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुन्छ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए। क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिँड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ।

एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञको भनाइ छ। यस्तै, असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .