धेरै ठाउँमा पदका लागि झगडा पर्छ, वरिष्ठ हुँदाहुँदै पनि पद पाइनँ भन्ने गुनासो पनि सुनिन्छ। तर, भक्तपुर चोंछेका ७३ वर्षीय गोविन्द दुवाल भने यसको अपवाद हुन्।
किनकि, २०४३ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य बनिसकेका दुवाल यतिबेला भक्तपुर नगरपालिका वडा नम्बर ६ को वडा सदस्य छन्। वडा सदस्यका रूपमा उनी जनताको सेवामा तल्लीन रहेका खबर आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन्।
‘काम गर्न ठूलै पद चाहिन्छ भन्ने छैन,’ टोल–टोलमा जनताको गुनासो बुझ्दै हिँडेका दुवालले भने, ‘तल्लो तहका जनतालाई सानै सेवा गर्न सकें भने त्यो नै राम्रो र ठूलो कुरा हो।’ ठूला कुरा गरेर ठूलो पद ओगट्नुभन्दा सामान्य पदमा बसेर सामान्य जनताको सानो–सानो काम गर्दा ठूलो खुसी मिल्ने अनुभव उनले सँगालेका छन्।
लामो समय भक्तपुरमा एकछत्र राज जमाएको नेपाल मजदुर किसान पार्टीका सदस्य हुन् दुवाल। २०४३ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यका लागि भएको निर्वाचनमा नेमकिपाबाट चुनाव चिह्न ‘मादल’ लिएर उठेका उनी विजयी भएका थिए। त्यतिबेला वामपन्थी विचार धारण गर्नेहरू निर्वाचनमा भाग लिएर आफूलाई ‘जनपक्षीय उम्मेदवार’ भन्थे। उनले पनि यही विशेषण पहिरिएका थिए।
३४ वर्षअघि नै तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य भइसकेका भक्तपुरका ७३ वर्षीय गोविन्द दुवाल यतिबेला नगरको वडा सदस्य भएर जनताको सेवामा जुटेका छन्। भन्छन्– ‘राजनीति सम्पत्ति कमाउन होइन, जनताको सेवाका लागि हुनुपर्छ।’
मुलुकमा २०४७ सालमा बहुदलीय प्रजातन्त्र पुनर्बहालीपछि दुवाल २०५४ सालमा भक्तपुर जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए। यसरी कहिले सांसद त कहिले जिविस सभापति बनेका उनले यतिबेला वडा सदस्यको जिम्मेवारीमा रहँदा कस्तो महसुस गरेका छन् त? ‘जनताको काम गर्न ठूलो पद नचाहिने रहेछ। समस्या कति समाधान गर्न सकियो भन्नेचाहिँ ठूलो कुरा रहेछ’, दुई वाक्यमै उनले आफ्नो वर्षौंको अनुभव सुनाए।
विगतमा ठूलो पदमा पुगिसकेका उनलाई अहिले सानो पदमा बसेर काम गर्दा कुनै ग्लानि छैन। जनताको सेवा गर्न पाएकोमा खुसी लागेको बताउने उनी निकै सक्रिय देखिन्छन्। उनी टोल–टोलका समस्या बुझ्छन्, अनि समाधानका लागि जुटिहाल्छन्।
पार्टीबाट वडाध्यक्षमै उठ्न अनुरोध आए पनि उनले त्यो पदका लागि अरू साथी नै योग्य ठान्दै आफूलाई सदस्यमा सीमित राख्नु उपयुक्त ठाने।
Shares

प्रतिक्रिया