घरबाट निस्कँदै हुनुहुन्छ? बानी बदल्नुस्।
तीन कुरा साथमा राख्न नबिर्सनुस्। १.मास्क। २.सेनिटाइजर। ३.चानचुन नोट। (पैसा)
यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुनसक्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।
यसबाहेक नोट गन्दा बूढी र चोर औँलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ।
सार्वजनिक सवारी साधनका सहचालक पनि सावधान हुनुहोस्- ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान्। लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ जना संक्रमित थपिएका छन्। अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ। त्यसैले यात्रा त गर्नुस्, तर सचेत हुनुस्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार सार्वजनिक यातायात चढ्दा पूर्वसावधानी अपनाउनुपर्ने हुन्छ। उनी भन्छन्, ‘घरबाट निस्कँदा चानचुन लिएर निस्कनु उपयुक्त हुन्छ। ठूलो नोट साट्दाखेरि सहचालकसँग बोल्नु पर्दा वा थुक लागेको नोट छ भने संक्रमणको जोखिम हुन्छ।’
गुट्खालगायत सुर्तीजन्य पदार्थ खाने सहचालक वा यात्री भएको खण्डमा नोटमा थुक भेटिने वा बोल्दा थुकका छिटा पर्ने सम्भावना हुन्छ। धेरैजसो सहचालकको पैसा गन्दा थुक लगाउने पुरानो बानी छ। ‘सहचालकले यात्रीसँग कराउन थाले पनि जोखिम हुन्छ। मास्क लगाउने र चुप्प लागेर चानचुन पैसा लिनु बुद्धिमानी हुन्छ’, डा. पुनले भने।
विगतमा झैं यात्रुले भाडामा किचकिच गर्ने, झ्यालबाट थुक्ने, जहाँ पायो त्यहीँ बस्ने, डन्डी वा सिटमा जहाँतहीँ छुने कार्य नगर्न डा. पुनको आग्रह छ। सकेसम्म यात्रु र सहचालकबीच पनि धेरै नबोल्दा नै उपयुक्त हुने डा. उनको सल्लाह छ। सहचालक दिनभरि धेरै व्यक्तिसँग कारोबार गर्नुपर्ने हुँदा संक्रमणको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया