ad ad

छापा खबर


लिम्पियाधुरालाई नेपालको नक्सामा नसमेट्नुको कारण यस्तो रै’छ

लिम्पियाधुरालाई नेपालको नक्सामा नसमेट्नुको कारण यस्तो रै’छ

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १:२५,

सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ।

सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ। यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा किन समेटिएन?

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखियो। लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरासमेत नक्सामा समेट्ने?

उनका अनुसार लिम्पियाधुरा समेटिएको नक्सा पनि तयार पारियो । लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयार गरी ‘माथिल्लो’ निकायमा प्रस्तुत गरियो।

त्यो बेला ‘माथिल्लो’ निकायका रूपमा दरबारमा दुवै खालको नक्सा बुझाइएको सीमाविद् श्रेष्ठ स्मरण गर्छन्। प्राप्त आदेश अनुसार लिम्पियाधुरा बिनाको नेपालको नक्सा तयार पारी सार्वजनिक गरिएको उनको भनाई छ। यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले सुरुका दिनमा भारतमा छापिएका नक्सा नै नेपालका सरकारी कार्यालयमा प्रयोग हुने गरेको स्मरण गर्दै ती नक्सामा लिम्पियाधुरा नेपालकै भूभागमा पाइएको बताए।

नापी विभागबाट तयार पारिएको नक्सामा किन लिम्पियाधुरा समेटिएन भन्ने जिज्ञासामा उनले कालापानी क्षेत्रमा विवाद रहेकाले कहाँसम्म नक्सामा समेट्ने भन्ने समस्या भएको र समस्या नदेखिएको ठाउँ मात्र नक्सामा समेटिएको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .