ad ad

छापा खबर


आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट निर्धारण नहुने

आन्तरिक मूल्यांकनका आधारमा  एसइईको ग्रेड सिट निर्धारण नहुने

नेपालखबर
बैशाख २८, २०७७ आइतबार २३:५४,

शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ।

कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

विभिन्न संघसंस्था र संसद्मा आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो,’ उनले भने।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा पौडेलले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने उनले बताए । अहिले विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएको पौडेलको भनाइ छ।

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले मन्त्रालय अहिलेसम्म ‘पर्ख र हेर’ को अवस्था रहेको बताए ।

‘अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था आएको छैन, विद्यार्थीले सकेसम्म डेरा गरी बस्न नपरोस् भन्ने उद्देश्यले परीक्षाको आन्तरिक तयारी र छलफलमा छौँ,’ प्रवक्ता शर्माले भने । आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिने कानुनी व्यवस्था नभएकाले तयारी अवस्थामै रहन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .