ad ad

छापा खबर


नेकपा विवाद नयाँ मोडमा : ओलीले गरे- वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्षमा प्रस्ताव

नेकपा विवाद नयाँ मोडमा : ओलीले गरे- वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्षमा प्रस्ताव

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ०:४,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समाधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन्।

कोरोनाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

त्यस्तै बरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ। प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ। नयाँ प्रस्ताव बारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ।

‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनामा दिन्नँ। हामी कोरोनाविरुद्ध लडिरहेका छौँ। यस्तो बेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ।’

वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो।

त्यस्तै उनले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका छन्। ओलीको प्रस्ताव सकारात्मक भन्दै गौतमले यो विषयमा औपचारिक निर्णय गर्न प्रस्ताव गरेका थिए। तर, उनले विगतमा जस्तै फेरि धोका हुने हो कि भन्ने आशंका पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए ।

सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .