छापा खबर


प्रयोगशालाको क्षमता विस्तार, अब दैनिक ३ हजारसम्मको कोरोना परीक्षण हुने

प्रयोगशालाको क्षमता विस्तार, अब दैनिक ३ हजारसम्मको कोरोना परीक्षण हुने

नेपालखबर
चैत २७, २०७६ बिहिबार ०:३३,

सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ।

क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको अवधिमा सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराम खनालका अनुसार आवश्यक परेको अवस्थामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । जसको पहिचानसमेत भइसकेको छ।

मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन्।

आवश्यक भएमा दैनिक छ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने क्षमता विस्तार गरिने रजिस्ट्रार खनालले जानकारी दिए।

कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँचजस्ता कार्यलाई द्रुत गतिमा सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा आएको हो।

उनले प्रयोगशालालाई चौबीसै घण्टा चलाउन २० जनाजति जनशक्ति आवश्यक पर्ने बताए। एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपियाँ खर्च हुने तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उनले जनाए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसहित सरकारले छोटो अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौँ विश्वविद्यालय शिक्षा अस्पताल धुलिखेल, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवन र बुटवलमा सेवा सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ नमुना परीक्षण भइसकेको छ। आवश्यकता अनुसार परीक्षणको दायरा बढाइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .