छापा खबर


इटाली छिर्ने प्रयासमा थिए यी नेपाली, लिबिया बम विस्फोटमा मारिए

इटाली छिर्ने प्रयासमा थिए यी नेपाली, लिबिया बम विस्फोटमा मारिए

नेपालखबर
असार २०, २०७६ शुक्रबार ३:१३,

संगठित मानव तस्कर गिरोहको प्रलोभनमा परेर इटाली जान हिँडेका लमजुङ बेसीसहर-११ का २७ वर्षीय सन्तोष श्रेष्ठको लिबियाको त्रिपोलीस्थित ताजुरा डिटेन्सन सेन्टरमा भएको बम विस्फोटमा परी मृत्यु भएको छ।

विस्फोटमा ४० जना मारिएको र एक सय तीस जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

माघ २ गते सन्तोषसहित पाँच जनाको टोली इटाली जान दुबई हुँदै लिबियाको त्रिपोली पुगेको उनको परिवारका सदस्यले बताए। लमजुङकै चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर सन्तोष काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेका थिए।

त्रिपोलीबाट स्थानीय मानव तस्कर गिरोहको सेटिङमा अवैध रूपमा इटाली छिर्ने उनीहरूको योजना थियो।

इटाली छिर्न नसकेका चार जना भने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा शुक्रबार नेपाल फर्कंदै गरेको खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।

लिबिया सरकारले मंगलबार राति डिटेन्सन क्याम्पमा विद्रोही लिबियन नेसनल आर्मीले हवाई हमला गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय सहयोग नियोगका अनुसार उक्त क्याम्पमा सुडान, इरिट्रिया र सोमालियालगायत देशका एक सय ५० शरणार्थी थिए।

अवैध रूपमा इटाली छिर्न खोज्ने अफ्रिकी, अरबी र केही नेपालीका निम्ति लिबियाको त्रिपोली प्रस्थान विन्दुका रूपमा उपयोग हुँदै आएको छ।

सन्तोषसहितको समूह पनि यही सहर हुँदै अवैध रूपमा इटाली छिर्ने प्रयासमा थियो। अवैध सामुद्रिक जहाजमार्फत इटाली छिर्न आँटेकालाई बारम्बार लिबियन कोस्ट गार्डले पक्राउ गरी क्याम्पमा राख्दै आएको छ। अवैध आप्रवासनलाई रोक्न लिबियन कोस्ट गार्डलाई युरोपेली युनियनले आर्थिक सहायता उपलब्ध गराउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad