छापा खबर


अब्बल देखियाे चलचित्र ‘आमा’

अब्बल देखियाे चलचित्र ‘आमा’

नेपालखबर
फागुन १२, २०७६ सोमबार ४:२४,

वैदेशिक रोजगार यो समयको क्रुर यर्थाथ हो। त्यस्तो परिवार भेट्टाउन मुस्किल छ, जसको सदस्य परदेशिएका नहुन्।

जब बुबाआमालाई भौतिक र मानसिकरुपमा सन्तानको खाँचो पर्छ, त्यही बेला छोराछोरी विरानो मुलुक भाँसिन बाध्य हुन्छन्।

यो नियतीलाई फिल्मकर्मीले दृश्यचित्रमा अभिव्यक्त गर्ने प्रयास नगरेका होइनन् तर भावनाको वेग पकड्न प्रायः चुक्छन्।

निर्देशक दीपेन्द्र के.खनालले भने यो पीडा दर्शाउन तुलनात्मकरुपमा आफूलाई अब्बल सावित गरेका छन्, ‘आमा’मार्फत। यो खबर आजको कान्तिपुर दैनिकमा गोकर्ण गौतमले लेखेका छन्।

यस फिल्ममा आमाको सन्तानप्रतिको त्याग अनि आमाप्रति सन्तानको प्रेम त अनुभूत हुन्छ नै, मानवीयता लोप हुँदै गएको हाम्रो सामाजिक परिवेशको कठोर चित्रण पनि गरिएको छ। कमजोरी पक्कै छन् तर निर्देशक कथा र पात्रप्रति इमानदार रहेकोमा सन्देह छैन।

त्यस्ता पात्र पर्दामा देख्न पाइन्न्, जुन हाम्रै वरपर नभएका हुन्। अर्थात, आत्मियबोध गराउने अनेक गुणले भरिएको छ फिल्म। केही पात्रमा अनावश्यक संकट थोपरेर संवेदना ‘क्यास’ गर्ने चक्करचाहिं नभएको होइन। केही अप्रासांगिक बोझिला संवाद पनि छन्।

आमा (मिथिला शर्मा)को छोरा अमेरिकामा छन्, यता श्रीमान्को भर्‍याङबाट लडेर टाउकोमा गम्भीर चोट लाग्छ। आफैंले गाउँबाट काठमाडौं अस्पतालसम्म ल्याउँछिन्।

यहाँ छोरी आरती (सुरक्षा पन्त) र ज्वाईं (मनिष निरौला) छन्, उनीहरुले उपचारमा सहयोग गर्छन्। पैसा सकिदै जान्छ तर निको हुन्न। छोरो अमेरिकाबाट आउन पाउँदैनन्, आफ्नै पारिवारिक बन्धनमा परेकी छोरीले जसोतसो हेरचाह गर्छिन्।

तर, आमा आफैं दिनानुदिन कमजोर भइरहेकी छन्। उनले भोग्ने यावत् हन्डर र छोरीको साहसमा केन्द्रित छ फिल्म।

सरसर्ती हेर्दा ‘आमा’मा केही छैन। किन छैन भने यसमा ठूलो उतारचढाव हुन्न, न सर्वगुण सम्पन्न वलशाली ‘हिरो’ छ, न खुंखार भिलेन। चमकधमक छैन। अझ रोमान्स, कमेडी, एक्सन, आइटम गीतजस्ता मसला त छँदैछैन।

तर पनि ‘आमा’ले दर्शकलाई बाँधिराख्छ। त्यसको कारण हो, पात्रमार्फत निर्देशकले स्थापित गर्ने कारुण चित्र। मिथिला शर्मासहित हरेक चरित्रको आफ्नै व्यथा छ तर त्यो पोख्न आफ्नो मान्छे साथमासमेत हुँदैनन्।

त्यसैले त भेन्टिलेटरमा राखिएका पति (देशभक्त खनाल) सामू मिथिला बह पोख्छिन्, पति प्रतिक्रियाविहिन छन् तर उनको मन हल्का हुन्छ। भागदौडपूर्ण सहरमा बसेर पनि एक्लो महसुस गर्ने हरेकले उनको पीडालाई आत्मसात् गर्न सक्छन्।

‘आमा’मा तीन आमाहरु छन्। एक मिथिला शर्मा, जसको वयस्क छोरा आपत पर्दा साथमा छैन। दुई सरिता गिरी, जो भर्खर आमा भएकी छन् तर छोरा बिरामी भएकाले छुनसमेत पाएकी छैनन्।

तीन निसन्तान आमा सुरक्षा पन्त। जसलाई आमा बन्ने तीव्र इच्छा छ तर शरीरले साथ दिएको छैन। हरेक आमाको पीडाको आयतन र स्वरुप फरक छ तर त्यसले दिने चोटचाहिं समान।

आमाहरु समाजमा विद्यमान अव्यवस्था र विभेदका प्रतिनिधि हुन्। आमा हुन नसकेकै कारण सुरक्षाले विस्तारै अपहेलना सहनु पर्छ, बुबा इन्तु न चिन्तु हुँदा पनि हरबखत उनको साथमा हुनसक्दिनन्, किनभने बुहारीका रुपमा उनको आफ्नै जिम्मेवारी (बन्धन?) हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad