छापा खबर


प्रधानमन्त्री ओलीको वेबसाइट दुरुपयाेग, कसरी अपलोड भयाे यस्ता अश्लील भिडियो?

प्रधानमन्त्री ओलीको वेबसाइट दुरुपयाेग, कसरी अपलोड भयाे यस्ता अश्लील भिडियो?

नेपालखबर
फागुन ४, २०७६ आइतबार २:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ।

उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन।

केपीशर्माओली डटकम  (kpsharmaoli.com) मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ।

सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ।

सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश लुइँटेलले लेखेका छन्।

आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ। यो मात्र समाधान भने होइन। यो डोमेन प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ। नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाव छ।

के गर्दै छ प्रधानमन्त्रीको सचिवालय?
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्।

‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौं’, उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौं तर डटकम भएकाले सम्भव छैन।’

उनका अनुसार यो वेबसाइट नेपालमा बन्द गर्ने तयारी छ। ‘इन्टरनेट कम्पनीसँग सहकार्य गरी नेपालभित्र बन्द गर्ने प्रक्रिया सुरु भइसकेको छ’, उनी भन्छन्। नेपालको निजी क्षेत्रको इन्टरनेटप्रदायक कम्पनी वल्र्ड लिंकले यो साइट बन्द गरेको छ। तर अन्य इन्टरनेटप्रदायक कम्पनीबाट अहिलेपनि खुलिरहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७५ असोज ६ गते यौनजन्य सामग्री आदानप्रदान, प्रकाशन तथा प्रसारणमा रोक लगाएको थियो।

उक्त निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता वेबसाइटलाई तुरुन्त बन्द गर्न निर्देशन दिएको थियो। मुलुकी अपराध ९संहिता० ऐन २०७४ को दफा १२१ ले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।

डोमेन फिर्ता लिन सकिँदैन?
यो डोमेन साधारण व्यक्तिको नभएर प्रधानमन्त्री केपी ओलीका नाममा छ। यो वेबसाइटमा पोर्न भिडियो अपलोड हुँदा प्रधानमन्त्रीसँगै देशकै बदनाम भइरहेको छ। ‘नेपालभित्र इन्टरनेटप्रदायक कम्पनीसँग समन्वय गरी बन्द गर्न सकिन्छ’, आईटी कम्पनी सञ्चालक टुरुप संग्रौला भन्छन्, ‘यो वेबसाइटका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै हाम्रा प्रधानमन्त्रीको बदनाम भइरहेको छ।

छेङदु वेस्ट डाइमेन्सन डिजिटल टेक्नोलोजी कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीसँग समन्वय गरेर यसको डोमेन फिर्ता लियो भने दीर्घकालीन समस्या समाधान हुन्छ।’प्रधानमन्त्रीका सल्लाहकार अली यो डोमेन कहाँबाट सञ्चालन भएको हो भन्ने आधिकारिकता नभएको बताउँछन्।

‘वेबसाइटमा चिनियाँ कम्पनीको नाम उल्लेख भए पनि यो कम्पनीको आधिकारिकता चिनियाँ पक्षसँग छैन’, उनी भन्छन्, ‘कम्पनीसँग समन्वय गर्न कठिनाइ भएको छ।’

कसरी भयो प्रधानमन्त्रीको नाम दुरुपयोग?
केपीशर्माओली डटकम डोमेन सन् २०१३ सेप्टेम्बर ३१ मा रजिस्टर भएको थियो। राजनकुमार न्यौपानेले छेनाटेक नेपाल प्रालिका नामबाट यो डोमेन दर्ता गरे। उनले २०१३ देखि २१ जुन २०१७ सम्म नवीकरण गरे। उनले चार वर्षसम्म ओलीको व्यक्तिगत वेबसाइटकै रूपमा चलाए।

ओली २० फेब्रुअरी २०१८ (२०७४ फागुन ३ गते) दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि यो डोमेन नवीकरण भएन। प्रधानमन्त्रीको सचिवालयले नयाँ डोमेन केपीशर्माओली डटकम डटएनपी दर्ता गरी सञ्चालनमा ल्यायो। त्यही वेबसाइट अपडेट छ।

प्रधानमन्त्रीकै नाम दुरुपयोग भएर दर्ता भएको अर्को वेबसाइटको डोमेन १२ मार्च २०१८ पछि गलत ढंगले प्रयोग भएको पाइएको छ। ओलीका नामको डोमेनमा सन् २०१८ पछि विभिन्न पोर्न भिडियो अपलोड भएका छन्।

शीर्ष नेताको व्यक्तिगत डोमेन दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन।

यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका डोमेन दुरुपयोग भएका थिए। डोमेन दर्ता गरेर लामो समय अपडेट नगर्दा यस्तो समस्या देखिने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad