ad ad

छापा खबर


भुक्तभोगी भन्छन् : सोचेजस्तो रहनेछ कोरिया

भुक्तभोगी भन्छन् : सोचेजस्तो रहनेछ कोरिया

नेपालखबर
माघ २८, २०७६ मंगलबार ०:४१,

मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो। गाडीबाट ओर्लिएर बस्ने होस्टेलसम्म पुग्दा उनीहरूको कपाल सेताम्मे भइसकेको थियो। बाहिरी तापक्रम माइनस २५ डिग्री थियो।

उनीहरूले काम गर्ने र बस्ने ठाउँ जंगलको बीचमा अग्ला रुखमुनि थियो। कोठाभित्र भने न्यानो थियो। कोठामा खाट थिएन। उनीहरूलाई एक एकवटा ब्लाङ्केट, डसना र सिरक दिइयो।

होस्टेलअगाडिका रुख पनि सेताम्य थिए। हिउँका डल्ला पातझैं रुखमा अड्किएर बसेका थिए। अलि पर टिनले छाएका १० वटा एकपाखे झुपडी थिए। ‘कोरियामा बस्ने साथीले हिउँ खेलेको फोटो देखाउँदा लोभ लाग्थ्यो तर आफैं काम गर्ने ठाउँमा हिउँको थुप्रो देख्दा त अत्यास लाग्दोरहेछ,’ विमलले भने, ‘मैले तस्बिरमा देखेको कोरिया र आफैंले भोगेको कोरिया एउटै थिएन।’

कोठामा पुगेको एकैछिनमा बम पड्केजस्तो ठूलो आवाज आयो। ‘हामी तर्सियौं, कहाँ आइपुगियो जस्तो लाग्यो, पछि बुझ्दा हाम्रो कम्पनीले सुरुङभित्र माइन विस्फोट गराएको रहेछ,’ अर्जुनले भने, ‘त्यहाँबाट ढुंगा निकाली पेलेर मैदानजस्तो धुलो बनाउँदोरहेछ।’ यो खबर आजको कान्तिपुरमा होम कार्की गोकुल थोकर मिलेर विस्तृत रूपमा लेखेका छन्।

कम्पनीमा हाजिर गरेको पहिलो दिन अर्जुनलाई सुपरभाइजरले लोड-अनलोड गर्ने मेसिनमा नुनको बोरा हाल्न लगाए, विमललाई साबेल बोक्न। हातको इसाराले बोरासँगै बस्न लगाए।

‘जहाँ–जहाँ कम्पनीको गाडी र फोरक्लिप (सामान उठाउने सानो गाडी) हिँड्छ, त्यहाँ बाटोभरि नुन हाल्न लगायो,’ विमलले भने, ‘घुँडामुनिसम्म हिउँ आइपुग्थ्यो। पहिलो दिन दुई घण्टासम्म हिउँमा काम गर्नुपर्‍यो।’

कम्पनीभित्रको संसार भने अर्कै थियो । मेसिनको ठूलो आवाज आउँथ्यो। मैदाजस्तो धूलो हावामा फैलिन्थ्यो।

‘ढुंगा पेल्दा एकदमै तिखो आवाज निस्किँदोरहेछ, त्यसलाई छेक्न भनेर कानमा ठेडी घुसाइएको हुन्छ तर सानो आवाजलाई मात्रै रोक्छ,’ अर्जुनले भने, ‘यसो ठेडी खस्यो कि भनेर छाम्दा कानमै हुन्छ, ठेडी लगाएको र नलगाएको उस्तै हो।’

मेसिनबाट २० केजीको धूलो बोरामा प्याक भएर आउँथ्यो। बोरामा प्याक हुनासाथ उनीहरूले उचालेर फोरक्लिपमा हालिदिनुपर्छ।

‘बोरा उचाल्यो, राख्यो। फेरि उचाल्यो राख्यो। ८ मिनेटमा ५० वटा बोरा उचालेर फोरक्लिपमा राखिसक्नुपर्छ। दुई घण्टा निरन्तर काम गरेपछि पिसाब फेर्न र पानी पिउनका लागि १० मिनेट समय दिइन्छ,’ उनले भने, ‘एक मिनेट ढिलो गर्न पाइन्न।’

‘लगातार एउटै खालको आवाज सुन्दा एकोहोरो बनिँदोरहेछ, दिमागले केही सोच्नै सक्तैन, दैनिक १० घण्टाभन्दा बढी बिताउँदा शरीर शून्यजस्तै हुन्छ,’ अर्जुनले भने, ‘बेलुका कोठामा पुग्दा नाकभरि धुलो छिरेको हुन्छ। मेरो त ढाड दुख्न थालिसेकेको छ। श्वासप्रश्वाससम्बन्धी रोगले भेट्टाउँछ कि भन्ने डर छ। अहिले कमाएको पैसा नेपाल फर्केपछि उपचारमै सकिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ।’

‘बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ’
छिटो र मागअनुसार उत्पादन बढाउन सकेन भने नेपाली कामदारमाथि दुर्व्यवहार पनि त्यत्तिकै हुने गरेको छ। खासगरी सुपरभाइजरले गाली गर्छन्।

‘काम गरिरहेका बेला पछाडिबाट लात हान्दै आउँछ, किन लात लगाएको भन्दा तँ मभन्दा ठूलो मान्छे होस् र भन्छ,’ सिन्धुलीका परियारले भने, ‘लात नलगा भनेर झगडा गर्नुपर्छ।’

इन्चनमा ४ वर्ष ५ महिना काम गरिसकेका सोलुखुम्बुका पूर्ण राईले भने, ‘आरामले गर्दा एक मिनेट लाग्ने कामलाई २० सेकेन्डमा सक्न लगाउँछन् । फेरि त्यो काम एकदमै राम्रो हुनुपर्छ।’ परियारका अनुसार फिलिपिनी, भियतनामीलाई भन्दा नेपालीलाई फरक व्यवहार हुन्छ।

‘फिलिपिनीलाई केही अपशब्द बोल्यो भने तुरुन्तै दूतावासका मान्छे कार्यस्थलमा आइपुग्छन्, हाम्रो दूतावासका मान्छेलाई यस्ता गालीगलौजले छुँदैन, मान्छे मर्‍यो भने मात्रै छुन्छ,’ उनले भने । त्यसैले कामदारले आफूमाथि भएको दुर्व्यवहारविरुद्ध स्थानीय प्रहरी वा नेपाली दूतावाससमक्ष पुर्‍याउने गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .