चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन्। उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ।
‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ?’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं। भाइरसले कताबाट छुने हो तनावमा छौं। नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ। किन्न जाने अवस्था छैन।’
सँगै रहेका विदेशी विद्यार्थी धमाधम फर्किएपछि एक्लो महसुस गरिरहेको एक नेपालीले बताए। छिमेकी भारत, बंगलादेश, माल्दिभ्सले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्। श्रीलंका र पाकिस्तानले पनि आफ्ना विद्यार्थीलाई छिट्टै लैजाँदै छन्।
हुपे प्रान्तको श्रीयनमा एमडी अध्ययन गरिरहेका अमित शर्माले सरकारसँग जतिसक्दो छिटो स्वदेश लैजान आग्रह गरे।
‘दैनिक संक्रमण बढिरहेको छ । तर, हामी १० दिनदेखि बाहिर निस्केका छैनौं। आफैँ चिकित्सक भएकाले पनि सुरक्षित हुने तरिका बुझेका छौं’, उनले भने, ‘सरकारले अहिले नै लगेर केही दिन क्वारेन्टाइन अर्थात् छुट्टै शिविर/अस्पतालमा राखेर निगरानी गरे हुन्छ।’
उक्त सहरमा ३० नेपाली छन्। ‘नेपाली विद्यार्थीलाई भाइरस देखिएको थाहा भएको छैन’, उनले भने। उहानस्थित ह्वाङजुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट)मा अध्ययनरत नेपालीले शारीरिक रूपमा सुरक्षित रहेको बताउँदै यही अवस्थामा घर फर्कन जोड दिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारी र दिनेश गौतमले लेखेका छन्।
विश्वविद्यालयको युरोलोजीमा पिएचडी गरिरहेका गौरव पोखरेलले भने, ‘अन्य मुलुकले आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगिसकेका छन्। तर हामी चीनमै सुरक्षित भनेर बस्नुपर्दा मानसिक रोग लाग्न त्रास बढेको छ।’
सोही सहरको सेन्टर चाइना नर्मल युनिभर्सिटीमा पीएचडी गरिरहेकी प्रमिला देवकोटाले सरकारसँग सम्पर्कमा रहेर हारगुहार गरिरहँदा पनि फर्काउन चासो नदेखाएको गुनासो गरिन्। उनले भनिन्, ‘म श्रीमान् र बच्चासहित उहानमै छौं। यहाँको अवस्था भयावह छ। भाइरस लागेको रहेनछ धन्य छौं। तर कहिलेसम्म थुनिएर बस्ने?’
आफ्नो पैसा तिरेर नेपाल फर्कन चाहे पनि सरकारी प्रयासबिना नसकिने उनले बताइन्। उनले भनिन्, ‘हामी २० तारिखदेखि कोठाबाहिर निस्केका छैनौं। बच्चा घाममा राख्न पाएका छैनौं।’
आफ्नो अनुरोध राजदूत लीलामणि पौड्याल र परराष्ट्रसचिव शंकरदास बैरागीले बेवास्ता गरेको उनको भनाइ छ।
उनले भनिन्, ‘सरकारले सगरमाथा संवाद र भ्रमण गरेर कैयन् रकम खर्चिने अनि विश्वमा देखिने र सुनिने कूटनीति भन्ने, यहाँ आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि व्यवस्था गर्न नसक्ने? हाम्रो कूटनीति कस्तो?’ प्रधानमन्त्री र दलका शीर्ष नेताले बेलैमा सोच्न आवश्यक रहेको उनले बताइन्।
हुपेकै चिन्चो सिटीमा रहेका विद्यार्थी गुरुकुमार यादव घरबाहिर ननिस्किएको आठ दिन भएको छ।
उनले भने, ‘भाइरसको संक्रमण देखियो कि भनेर आफैंलाई चिमोट्दै बस्दै छौं।’ हुपे प्रान्तमा दुई सय बढी नेपाली विद्यार्थी छन्। उहानमा एक सय जनामध्ये ४० जना छुट्टीमा छन्। चिन्चोमा पनि ५० देखि ५५ विद्यार्थी छन्।
याे पनि : उहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी, ल्याएपछि कहाँ राखिन्छ उनीहरूलाई?
Shares
प्रतिक्रिया