बजारको अनुमान छ- सभामुखमा प्रचण्डले पाखुरै सुर्केर आफ्ना पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराइछाडेको। तर वास्तविकतामा फरक रहेछ, आइतबार अपराह्न बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको अ पनि भन्न पाएनन्।
प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने, ‘तपाईंहरू सबै एक भएर आउनुभयो! अब म के भनौं!’
यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेका भए प्रचण्ड आफैं पनि ‘भैगो सुवासजीलाई नै गरौं’ भन्नेमा पुगिसकेका थिए।
तर त्यसमाथि भैंसेपाटी गठबन्धनले ‘सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड नै हुनुपर्छ’ भन्ने बल उनलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोलेनन्। भैंसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डले सभामुखको नाम फ्याट्टै भनिहाल्थे भन्नेमा थिए।
तर केपी ओलीले त्यो मौका दिएनन् र भने, ‘‘..अग्नि सापकोटा!’ यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्ताव भयो। त्यसमा ‘हुन्छ हुँदैन’ भन्ने प्रश्नै उठेन। प्रस्ताव पारित भयो। बैठक सकियो।
सचिवालयका ९ मध्ये ७ जनाको एकमत थियो, ‘शिवमायको तरिका गलत भयो।’ कुरा उठ्यो, ‘गलत मात्रै हैन, अति भयो।’ माधवले भने, ‘अहिले उपाय निकाल्नुपर्यो।’ केपी र ईश्वर यसबारे केही बोलेनन्।
यदि निर्देशनविपरीत शिवमायाले अन्तिम अवस्थासम्म राजीनामा दिइनन् र पार्टीबाट प्रस्तावित उम्मेदवारले नोमिनेसन गर्न नपाउने स्थिति आयो भने के गर्ने?
सहमति जुट्यो, ‘अर्काे उपाय खोज्ने।’ अर्थात्, नेकपासँग अन्तिम र एक मात्र निर्दयी उपाय बाँकी थियो, निर्वाचन आयोगलाई समानुपातिकतर्फ शिवमायाको प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना दिने! यसपछि उपसभामुख पद स्वतः समाप्त हुन्थ्यो। यो खबर आज माघ ८ गतेको जनआस्था साप्ताहिकले छापेको छ।
त्यसो गर्नु अपमानको पराकाष्ठा हुने कारण त्यो बाटोमा जान नपरोस् भन्नेमा नेताहरू थिए। तर अस्ति सोमबार शिवमायाले बिना आनाकानी उपसभामुखबाट राजीनामा दिइन्।
Shares
प्रतिक्रिया