ad ad

छापा खबर


इरान-अमेरिका द्वन्द्वले यी हुन् नेपालमा हुने ५ नोक्सान

इरान-अमेरिका द्वन्द्वले यी हुन् नेपालमा हुने ५ नोक्सान

नेपालखबर
पुस २८, २०७६ सोमबार ५:२८,

मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन्। केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरूले चिन्ता जाहेर गरेका हुन्।

उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ।

नेपालबाट रोजगारीका लागि खाडी मुलुकमा जाने कामदारहरूको संख्या अधिक नै रहेको र त्यहाँ तनाव बढ्दा नेपाली कामदारहरू आतंकित भई नेपाल फर्कंदा रेमिट्यान्स घट्ने विज्ञहरू तर्क गर्छन्। यो खबर आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन्।

अर्थविद् प्राडा चन्द्रमणि अधिकारी उक्त तनावको सबैभन्दा ठूलो प्रभाव विप्रेषणमा नै पर्ने तर्क गर्दै भने, ‘मानवीय दृष्टिकोणले पनि नेपाली जनशक्तिलाई स्वदेश फर्काउनुपर्ने हुन्छ।यसको उचित प्रबन्ध मिलाउँदा खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

उनीहरू नेपाल फर्किसकेपछि खाडी मुलुकबाट अधिक मात्रामा भित्रने रेमिट्यान्समा कमी हुने उनको भनाइ छ। विप्रेषण आप्रवाहमा असर परेपछि वैदेशिक मुद्रामा चाप पर्ने बताउँदै उनले थपे, ‘शोधनान्तर बचतमा पनि चाप पर्नेछ।’

नेपालले भारतबाट तेल खरिद गर्दै आएको छ भने भारतले अन्य मुलुकबाट तेल आयात गर्छ। भारतले सबैभन्दा बढी तेल आयात गर्ने मुलुकमध्ये इरान पनि एक हो। इरानमा द्वन्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याए।

उनले भने, ‘भारतबाट तेल किनिने भए पनि भारतले खाडीबाट तेल किन्ने हुँदा यसमा कडाइ हुन गई मूल्य बढ्छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ।यसरी मूल्य बढ्दा नेपालको अर्थतन्त्रको लागत बढ्न गई यसले समग्र अर्थतन्त्र प्रभावित हुन्छ।’

अमेरिका र इरानबीचमा तनाव हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै डा अधिकारीले नेपालीले मूल्यवृद्धिको मार खेप्नुपर्ने अवस्था आउने अनुमान गरे।

यी सबैको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै द्वन्द्वग्रस्त क्षेत्रबाट आउने पर्यटकहरूको संख्यामा गिरावट आई मूल्यवृद्धि हुने हुँदा पर्यटकले खर्च गर्ने क्षमतामा ह्रास हुने उनको आकलन छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि मध्यपूर्वमा तनाव जारी रहेमा नेपालमा सबैभन्दा ठूलो असर विप्रेषण आप्रवाहमा नै पर्ने बताए। उनले भने, ‘ठूलो संख्यामा विप्रेषण आप्रवाह खाडी मुलुकबाट नै हुन्छ, त्यसले वैदेशिक रोजगारीको निरन्तरतामाथि नै प्रश्न उठ्न सक्छ।’

विप्रेषण आप्रवाह कम हुँदा त्यसको असर सामाजिक तथा आर्थिक सूचकहरूमा पर्न जाने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यसले गरिबी निवारणमा पनि असर गर्ने चिन्ता व्यक्त गरे। उनले भने, ‘मध्यपूर्वमा तनाव रहिरहे विदेशी विनिमय सञ्चिति प्रभावित हुन जान्छ।’

उनले गरिबी निवारणको अभियानमा असर पर्ने, उपभोगमा असर गर्ने, सामाजिक आर्थिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्राप्त भएका उपलब्धिहरूमा नकारात्मक असर पर्न जाने उल्लेख गरे। उनले विशेष गरी निम्न तथा मध्यमवर्गीय परिवारमा यसले नकारात्मक असर पार्ने जानकारी दिए :
१. विप्रेषण आप्रवाहमा गिरावट
२. मूल्यवृद्धि
३. पर्यटकहरूको आगमनमा कमी
४. गरिबी निवारणमा असर
५. रोजीरोटी नै गुम्ने खतरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .