ad ad

छापा खबर


सुरक्षा फौजमा साढे १४ हजार महिला, तीनवटै सुरक्षा निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा

सुरक्षा फौजमा साढे १४ हजार महिला, तीनवटै सुरक्षा निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा

नेपालखबर
पुस १९, २०७६ शनिबार ३:११,

नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो। गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन्। तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन।

डा थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ। केही दिनअघि मात्रै डिआइजी डा आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ। प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ। हाल नेपाल प्रहरीमा चार महिला एसएसपी छन्।

नेपाल प्रहरी मात्र होइन, सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै छ। सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गरिन्। नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ। सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ।

सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो। तर, ०४६ पछि मात्र संख्या बढ्यो। ०६१ भन्दा अगाडि प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो। ०६१ मा पहिलोपटक सहायक सेनानीमा महिला भर्ना भए। हाल सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ। त्यस्तै प्राविधिकतर्फ दुई सय १४ जना छन्। पाँच हजार ६२ महिला सेनामा छन्। महिलाको संख्या निरन्तर बढिरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

प्राविधिकतर्फ हाल सहायक रथीमा तीन, महासेनानीमा १३ र प्रमुख सेनानीमा २७ महिला कार्यरत छन्। सामान्य सेवातर्फ महिलाहरू सेनानीसम्म पुगेका छन्। हाल ७४ महिला प्रशासनतर्फ र ५३ महिला प्राविधिकतर्फ सेनानी पदमा छन् । सहसेनानीमा एक सय ४२, उपसेनानीमा ७३ र सहायक सेनानीमा एक महिला छन् । महिलालाई प्राथमिकता दिन छुट्टै गुल्मसमेत बनाइएको छ। उपत्यका पृतनाअन्तर्गत गोरखकाली गुल्ममा महिलाकै नेतृत्व हुने गरेको छ।

त्यस्तै, नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ सालदेखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए। अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन्। ०५१ मा चार महिला मीरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गासिंह चन्द एकैपटक इन्स्पेक्टरमा भर्ना भए। चौधरी र बज्राचार्य गत वर्ष एसएसपीमा बढुवा भए भने राना र चन्द बढुवा हुने तयारीमा छन्। यसअघि विमला थापा र पार्वती थापा नेपाल प्रहरीमा प्रशासनतर्फ डिआइजीसम्म पुग्न सफल भएका थिए।

तर प्राविधिकतर्पm भने महिला एआइजीसम्म पुगिसकेका छन्। भर्नामा समावेशी कोटाका कारण नेपाल प्रहरीमा महिलाको संख्या बढ्दो छ। हाल एक डिआइजीसहित चार एसएसपी, ११ एसपी, २२ डिएसपी र एक सय १५ इन्स्पेक्टर महिला छन्। त्यस्तै, दुई सय ८१ सइ, चार सय ६१ असइ, सात सय ९७ हवल्दार, चार हजार चार सय ४४ महिला सिपाही छन्।

महिलाको संख्या बढ्दै जाँदा प्रहरीको सेवासमेत प्रभावकारी हुँदै गएको प्रहरी प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले बताए। तालिमदेखि फिल्डसम्म पुरुषभन्दा महिलामा कुनै कमी नभएको डिआइजी थापाको अनुभव छ।

देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि क्रमशः महिलाको संख्या बढ्दै छ। इन्स्पेक्टरको चौथो ब्याच (२०६०)बाट सशस्त्र प्रहरीमा महिलाहरू भर्ना हुन थालेका छन्  चौथो ब्याचमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छन्। त्यस्तै पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया पनि गत वर्ष डिएसपी भएका छन्। प्रशासनतर्फ सशस्त्र प्रहरीमा १६ जना इन्स्पेक्टर छन्। प्राविधिकतर्फ भने पाँच एसपी, नौ डिएसपी र २९ इन्स्पेक्टर छन्। उनीहरू सबै स्वास्थ्य सेवातर्फका हुन्। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

समग्रमा सशस्त्रमा दुई हजार नौ सय ३३ महिला छन् जसमा २१ सय ४२ जवान छन्। सशस्त्रमा महिला जनशक्ति कुल फौज संख्याको १२ प्रतिशत हो। यो संगठनमा महिला नेतृत्व तहमा पुग्न अझै केही वर्ष लाग्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .