मंसिर २६ गते बिहानसम्म आकाश सफा थियो । त्यसैले जुम्लाको तिला गाउँपालिका–९, ढिपुगाउँका छविराज बोहोरा अन्य १२ जनासँगै पाटनतिर लागे ।
सेतक चिनी (ह्याड्या) पकाएर पैसा कमाउने उद्देश्यसाथ हिँडेका उनीहरू सोही दिन साँझ फूलबारी पाटन पुगे । भोलिपल्ट बिहानैदेखि हावाहुरीसहित बाक्लो हिमपात सुरु भयो।
‘एक्कासि हिमपात भएपछि कसरी जोगिने भन्ने चिन्ता भयो, ओडारको खोजीमा लाग्यौं,’ बोहोराले भने, ‘धन्न दुईवटा ओडार भेटिए, त्यहीँ बसेर ज्यान जोगायौं।’
बाहिर तीन–चार फिट हिउँ जमेकाले उनीहरू तीन दिन ओडारभित्रै कैद भए । हिउँ पगालेर पानी पिए ।
‘सामल (खाद्यान्न) भएकाले खान भने समस्या भएन,’ उनले भने, ‘तैपनि निकै अत्यास लाग्यो, बाँचेरै फर्कन्छौं कि नाइँ भन्ने चिन्ताले सताइरह्यो ।’
यो खबर आजको कान्तिपुर दैनिकमा जुम्लाबाट एलपी देवकोटाले लेखेका छन्।
समूहमा चार महिला र नौ पुरुष थिए । तीन जना सेरा ओडारमा र १० जना गौढुंगा ओडारमा बाँडिएर बसे । दुई ओडारको दूरी करिब दुई किलोमिटर छ । ‘ठूलो हावाहुरी चल्नुका साथै हिमपात भएपछि मरे सबै सँगै मरौंला, बाँचे सँगै फर्कौंला भन्दै ओडारभित्र पस्यौं,’ उनले भने ।
तीन दिनसम्म उनीहरूले अनिँदै कटाए । ‘मुटु छेड्ने चिसो, त्यसमाथि साँघुरो ओडारमा खुट्टा पसारेर बस्ने ठाउँसमेत थिएन,’ उनले सुनाए, ‘हिउँ कहिले पातलिएला र घर जान पाइएला भन्ने मात्र लागिरह्यो ।’
तीन दिनसम्म सम्पर्कमा नआएपछि गाउँमा उनीहरूको अवस्थाबारे चिन्ता बढ्यो । वडाध्यक्ष शेरबहादुर बोहोराले सम्बन्धित सरकारी निकायमा ‘पाटन गएका मान्छे बेपत्ता भएको’ सूचना टिपाए ।
सञ्चारमाध्यममा समाचार आयो तर उनीहरूले आइतबार गाउँ आएपछि मात्रै त्यसबारे थाहा पाए । ‘हामीलाई त गाउँलेले दमाहा बजाउँदै भव्य स्वागत गरे, आस मारिसकेका मान्छे सकुशल फर्किए भन्दै खुसी मनाए,’ उनले भने।
ढिपुगाउँमा टेलिफोन सम्पर्क नभएकाले बेपत्ता भनिएका व्यक्तिहरू गाउँ पुगेकोबारे सोमबार बिहानसम्म पनि बाहिरकाले थाहा पाएका थिएनन् ।
नेपाली सेनाको सुर्खेतस्थित पृतनाका प्रमुख सरोजप्रताप राणाले सोमबार बिहानैदेखि उद्धारका लागि पाटन जान सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सेनाको टोलीसँगै जान सुर्खेत विमानस्थल पुगिसकेका थिए ।
त्यतिबेलै बेपत्ता भनिएकाहरू गाउँमा पुगेको खबर आयो । दिउँसो करिब ११ः४० बजे बोहोरा स्वयंले गाउँको अग्लो डाँडामा गएर सुर्खेत एयरपोर्टमा हेलिकप्टर चढ्ने तरखरमा रहेका मन्त्री भण्डारीलाई मोबाइलबाट सन्देश टिपाए, ‘हामी घरमा पुगिसक्यौं मन्त्रीज्यू, चिन्ता र चासो लिनुभएकोमा धन्यवाद।’
उनीहरूले तीन दिन ओडारमा जति कष्टपूर्ण रूपमा बिताए, त्योभन्दा कहालीलाग्दो छ फर्किंदाको संघर्ष । कम्मरसम्म आउने हिउँ छिचोल्दै अन्धाधुन्ध हिँड्दा गन्तव्यमा पुगिन्छ कि पुगिन्न भन्ने चिन्ताले सताएको उनले सुनाए ।
‘घरपरिवार, गाउँले र सरकारले हामीलाई कहाँ कस्तो अवस्थामा होलान्, के खाए होलान् भनेर चिन्ता गर्नुभएछ,’ उनले भने, ‘त्यतिबेला हामी भने हिउँ छिचोल्दै लट्ठीले बाटो कोरेर अघि बढिरहेका थियौं ।’
सोही गाउँका बिनबहादुर बोहोरा भने अभागी ठहरिए । हिमपात सुरु भएपछि हतार–हतार गाउँ फर्किने क्रममा चिसोले कठ्यांग्रिएर उनको मृत्यु भयो । उनले आफूसँगै लगेका तीनवटा खच्चर पनि चिसोले बोटोमै मरे ।
Shares
प्रतिक्रिया