जाडोयाम सुरु भइसक्दा पनि डेंगुको संक्रमण रोकिएको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले दिनहुँ डेंगुसँग सम्बन्धित ५-७ जना बिरामी उपचारका लागि आइरहेको जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले पछिल्ला १० दिनमा ५१ जना परीक्षण गराउन आएकामा ७ जनामा डेंगु देखिएको बताइन्। विशेषज्ञहरूले भने डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोध गर्ने क्षमता विकास भएको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने औंल्याएका छन्।
नेपाली समाजमा लामखुट्टेको लार्भा जाडोयाममा मर्छ, चिसोमा लामखुट्टेजन्य संक्रमण हुँदैन भन्ने मान्यता थियो। विज्ञहरूका अनुसार जाडोयाममा लामखुट्टेको जीवनचक्रसमेत ढिलो हुन्छ। ५–१० दिनमा लामखुट्टेको जीवनचक्र पूरा हुने भए पनि जाडोमा यो समय लामो हुन सक्छ।
जाडोयाममा किटहरू शीतनिद्रा (हाइबरनेसन) मा जाने गर्छन्। काठमाडौं, पोखरासहित मुलुकका विभिन्न भागमा न्यून मात्रामा डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा प्रकाश शाहले बताए। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
गत नोभेम्बरमा ५ सय ८५ जनामा परीक्षण गर्दा १ सय ४७ जनामा डेंगु देखिएको थियो। ‘डेंगु फैलाउने लामखुट्टे चिसो प्रतिरोधी त भइरहेको छैन भन्नेबारे विस्तृत अध्ययन जरुरी छ,’ उनले भने।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हटौंडाका किटविज्ञ शिशिर पन्तका अनुसार काठमाडौंको जाडोमा समेत संक्रमण देखिइराख्नु डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास भएको संकेत हो। उनले लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास हुनु खतराको संकेत रहेको औंल्याए।
‘हाल न्यून तापक्रममा समेत लामखुट्टे बाँचिरहेका छन् र सक्रिय भएर रोग सारिरहेका छन्,’ उनले भने। नेपालमा हालसम्म डेंगु सार्ने वा अन्य लामखुट्टे कति कम तापक्रमसम्म बाँच्न सक्छन् भन्नेबारे अध्ययन भएको छैन।
भारतस्थित नेसनल इन्स्टिच्युट अफ मलेरिया रिसर्चले दुई वर्षअघि ‘हलद्वानी’ मा गरेको अध्ययनअनुसार डेंगु उत्पन्न गर्ने एडिस एजिप्टी लामखुट्टेको लार्भाले जाडोयामलाई राम्ररी ‘एडप्ट’ गरिरहेको छ।
विज्ञहरूका अनुसार जाडोयाममा बाहिर निस्कँदा चिसो भए पनि कोठाभित्रको तापक्रम बढी हुन्छ। डेंगु सार्ने लामखुट्टे कोठाभित्रको अँध्यारो ठाउँमा लुकेर बसेका हुन्छन्।
डेंगु ज्वरो सबभन्दा पहिले सन् १७८५ मा दक्षिण अफ्रिकामा पाइएको थियो। यसपछि एसियाको दक्षिण पूर्वी मुलुकमा फैलियो। सन् १९६० सम्म यो रोग ४० देशमा सीमित भए पनि हाल यसको विस्तार १ सय २८ मुलुकमा भइसकेको छ। प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १ सय २८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छ।
प्रतिक्रिया