ad ad

छापा खबर


यती एयर समूहको बदमासी : सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढ्यो

यती एयर समूहको बदमासी : सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढ्यो

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १:३६,

सोलुखुम्बु जिल्लाको नाम्चे बजारपारि कोङ्दे क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथा मात्र होइन, उच्च शिखर ल्होत्से, मकालु, चो–यु, ग्याजुङ खाङ र अमादब्लम सामुन्ने देखिन्छन्।

यही अनुपम विशेषताले युनेस्कोले सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा राखेको थियो। कोङ्देको त्यही अद्वितीय भ्यु प्वाइन्टमा व्यापारीको होटेल उभिएपछि युनेस्कोले नेपाल सरकारलाई सोधेको छ– अब सम्पदा सूचीमा राख्नुपर्ने कारण के छ?

सगरमाथा राष्ट्रिय निकुञ्जलाई राज्यले माया नगरे पनि यो सम्पदामाथि भएको ज्यादतीले संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) चिन्तित छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

निकुञ्ज क्षेत्रमा होटेल निर्माण सुरु भएदेखि नै युनेस्कोले नेपाल सरकारलाई पटकपटक पत्र लेखेको छ । यो ठाउँमा होटेल बन्नाले सगरमाथा क्षेत्रको सौन्दर्य र महत्व संकटमा परेको युनेस्कोको ठहर छ।

माओवादी हमलामा मालपोत अधिकृत मारिएपछि उनको नाममा नक्कली हस्ताक्षर गरेर निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहले कब्जा गरेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।

१० मंसिर ०५८ मा माओवादीले सोलुखुम्बुमा हमला गर्दा तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि मृत्यु भएको थियो । राति हमला भयो, दिउँसो उनले निकुञ्जको जग्गा नामसारी गरिदिएका थिए भन्ने कागज बनाएर यती एयरका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा र उनका भाइले निकुञ्जको ५० रोपनी जग्गा आफ्नो नाममा सारेका थिए ।

तर, अख्तियारको निर्देशनअनुसार प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा मालपोत अधिकृतको हस्ताक्षर किर्ते गरिएको पुष्टि भएको थियो । तर, निकुञ्जका अधिकारीले यो जग्गा फर्काउने नाममा झारा टार्ने काम मात्र गरे ।

युनेस्कोले चिन्ता गर्दा पनि अनुसन्धान भइरहेको छ, अदालतमा मुद्दा चलिरहेको छ भनेर पन्छिन खोजे । अझ अहिले त सर्वोच्च अदालतले नै सो जग्गा शेर्पा दाजुभाइको नाममा हुने ठहर गरिसकेको छ । विवाद पुनरावलोकनमा जान्छन्, तर राष्ट्रिय सम्पत्ति र विश्व सम्पदा लुटिएको यो विषयमा सरकारले पुनरावलोकन गर्न पनि आवश्यक ठानेको छैन ।

विश्व सम्पदा हडपिएको विषयमा युनेस्कोले भने सन् २००५ देखि नै पटकपटक नेपाल सरकारसँग प्रश्न सोधेको छ । सन् २००६ मा भएको विश्व सांस्कृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सम्मेलनमा युनेस्कोको विश्व सम्पदा समितिले सगरमाथा क्षेत्रमा भएको अनधिकृत हस्तक्षेपको प्रतिवेदन पेस गरेको थियो ।

त्यसअघि सन् २००५ को सुरुवातमा युनेस्कोको विश्व सम्पदा केन्द्र र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ ९आईयुसिएन०ले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र ‘कोङदे भ्यू रिसोर्ट’ नामको रिसोर्ट बनाइएको अनौपचारिक जानकारी प्राप्त गरेको थियो ।

पर्यटन र पर्वतारोहणका कारण परेको चाप, हेलिप्याड निर्माण र जलवायु परिवर्तनले सगरमाथा निकुञ्जमा चुनौती थपिएको समितिको प्रतिवेदन थियो । त्यसमाथि त्यही क्षेत्रमा व्यावसायिक होटेल खोल्दा सम्पदाको पहिचान संकटमा परेको युनेस्कोको ठहर थियो ।

निकुञ्जको जग्गा कब्जा गरेर कोङ्दे रिसोर्ट बनाइएको विषयमा जिज्ञासा राख्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईले यस विषयमा आफूले केही नबोल्ने बताए ।

‘सम्मानित अदालतले फैसला गरिसकेको विषयमा केही बोल्न मिल्दैन,’ उनले भने । तर, रिर्सोटका विषयमा युनेस्को र विश्व वन्यजन्तु कोषले चासो देखाएको भने स्वीकार गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .