छापा खबर


आइतबार यसरी गरिँदै छ सागको भव्य उद्घाटन, यातायातमा जोर-बिजोर लागू हुने

आइतबार यसरी गरिँदै छ सागको भव्य उद्घाटन, यातायातमा जोर-बिजोर लागू हुने

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १:८,

दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबार सुरु हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह ३ घन्टा ४० मिनेटसम्म चल्ने १३औँ सागका लागि गठित समारोह समितिले जनाएको छ। स्वास्थ्यमा सुधार आए उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नेछन्।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा हुँदै छ। दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछन्।

प्रत्येक देशका खेलाडी तथा पदाधिकारीले आफ्नो झन्डासहित मार्चपास गर्नेछन् । मार्चपास्टमा नेपालको झन्डा बोक्ने खेलाडीको नाम भने तय हुन बाँकी छ। नेपाली टोलीका सेफ द मिसन पीताम्बर तिम्सिना नेतृत्वको समितिले मार्चपास्टमा झन्डा बोक्ने खेलाडी तय गर्नेछ। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालगायत खेलाडीमध्येबाट एकजना छनोट हुनेछन् ।

उद्घाटन समारोहलाई आकर्षित बनाउन अतीसबाजी पनि गरिनेछ। सागका २८ मध्ये ८ खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य खेल काठमाडौं र ललितपुरमा हुनेछन्। उद्घाटन काठमाडौंमा मात्रै हुने भए पनि पोखरामा सांस्कृतिक कार्यक्रम भने आयोजना गरिनेछ।

२४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५ सय जनाले सहभागिता जनाउनेछन्। त्यसमध्ये तीन हजार खेलाडी, एक हजार अफिसियल, दुई हजार दुई सय ७० रेफ्री, जज र जुरी रहनेछन् । त्यसबाहेक विशिष्ट पाहुना पनि सहभागी हुने नेपाली टोलीका डेपुटी सेफ द मिसन रिम रानाभाटले जानकारी दिए।

२८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६ सय ९४ खेलाडी दर्ता गरिएको छ ।

सागको सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमान्डमा साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ। स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र पाहुनाका लागि काठमाडौंमा मात्रै ५० भन्दा बढी होटेल बुकिङ गरिएको छ।

सवारी साधनमा जोर-बिजोर नियम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औँ सागको उद्घाटन र समापन समारोहको अवसरमा सवारीसाधनको चाप व्यवस्थापन गर्न जोर–बिजोर नियम लागू गरेको छ।

यत्तिकै पनि सवारीसाधनको चाप बढी हुने काठमाडौंमा सागको उद्घाटन र समापनका दिन जोर-बिजोर नियम लागू गरिएको हो। यो खबर आजको नयाँ पत्रिकामा दीपेन्द्र गुरुङले लेखेका छन्।

उद्घाटनका दिन आइतबार बिजोर र समापनका दिन २४ मंसिरमा जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चलाउने पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .