ad ad

छापा खबर


प्रचण्ड भन्छन्- ‘ओलीले डेढ वर्षसम्म गरेको काम अब मैले गर्ने हो’

प्रचण्ड भन्छन्- ‘ओलीले डेढ वर्षसम्म गरेको काम अब मैले गर्ने हो’

नेपालखबर
मंसिर ७, २०७६ शनिबार १:३९,

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्।

उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्‍यो, स्थायित्व हुनुपर्‍यो । विकास निर्माणले गति लिनुपर्‍यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु।’

अध्यक्ष दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे।

‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो। अब त्यो स्थितिको अन्त्य भयो। दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं।’

दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट गर्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।

उनले तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि सुनाए । ‘गएको डेढ वर्षमा मलाई कार्यकारीजस्तो फिल भएन,’ उनले भने, ‘मलाई कार्यकारीका रूपमा काम गर्न त्यति सहज वातावरण थिएन। अबचाहिँ सहज भयो, दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो।’

पार्टी सचिवालयको बुधबारको निर्णयले ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमति प्रतिस्थापन गरेको दाहालको भनाइ छ। ‘यो निर्णयले गत वर्ष जेठ २ गतेको सहमतिलाई प्रतिस्थापित गर्‍यो, अब केही कन्फ्युजन आउँदैन,’ उनले स्पष्ट पारे।

पार्टी एकीकरणकै बेला एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको जिम्मा लिनेबारे छलफल भए पनि सहमति नभएको उनले जानकारी दिए।

‘प्रधानमन्त्री पनि, अध्यक्ष पनि र वरीयतामा पनि एक नम्बरमा हुँदा त अर्को अध्यक्षको भूमिका छ भन्न सिद्धान्तले हुने तर व्यवहारमा नहुने अनुभव भयो,’ उनले भने, ‘अहिले दुई अध्यक्षको कार्यकारी अधिकारसहित भूमिका विभाजन भएको छ ।’

अब पार्टीको कार्यकारी अध्यक्षका रूपमा के भूमिका हुन्छ भन्ने प्रश्नमा दाहालले भने, ‘एउटा त बैठकको अध्यक्षता गर्ने, एजेन्डा प्रस्तुत गर्ने, अध्यक्षको हैसियतले निर्णय गर्ने कुरासँग यो सम्बन्धित छ ।’

सचिवालय बैठकको निर्णयलाई स्पष्ट पार्दै उनले थपे, ‘गएको करिब डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो । अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .