ad ad

छापा खबर


एम्बुलेन्स चालकलाई भोज खुवाएर काठमाडौँको नेसनल हस्पिटलको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिशन

 एम्बुलेन्स चालकलाई भोज खुवाएर काठमाडौँको नेसनल हस्पिटलको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिशन

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ०:२७,

स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ।

यही क्रममा काठमाडौँको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोख्रेलले लेखेका छन्।

बुधबार चितवनका करिब ३५ एम्बुलेन्स चालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पिन वितरण गरिएको छ।

भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् ।

नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो । 

स्वतन्त्र रूपमा अस्पताल छान्न पाउने बिरामी र आफन्तको अधिकार कुण्ठित गर्न यस्तो भेला आयोजना गरिएकोमा चितवन प्रहरीको पनि ध्यानाकर्षण भएको छ ।

‘काठमाडौंको कलंकी चोकमा रहेको नेपाल नेसनल हस्पिटलका प्रतिनिधिको उपस्थितिमा एम्बुलेन्सचालक भेला भएका रहेछन्, एकजना बिरामी अस्पताल पु¥याएबापत सात हजार रुपैयाँ कमिसन चालकलाई दिने प्रतिबद्धता अस्पतालका प्रतिनिधिले व्यक्त गरेछन्,’  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले नयाँ पत्रिकासँग भने, ‘यो चरम विकृति हो, तर समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन ।’

बिरामी र आफन्तलाई शोषण गर्ने  यस्तो विकृतिलाई सहन नसकिने उनले बताए । ‘यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छाैँ,’ एसपी मल्लले भने । 

चितवन एम्बुलेन्सचालक समितिका सचिव सुवास तामाङले पनि एम्बुलेन्सचालकहरू भेला भएको स्विकारे । तर, बिरामी ‘किनबेच’को विषयमा छलफल नभएको उनको दाबी छ ।

‘भेलामा कुनै भोजभतेर भएको छैन, कमिसन लिने कुरा पनि भएको छैन । सामान्य अन्तक्र्रिया मात्र भएको हो,’ उनले भने, ‘भेलामा ट्राफिक नियमबारे छलफल भयो ।’ उनले ट्राफिक नियमबारे अन्तक्र्रिया भएको बताए पनि कार्यक्रममा एकजना पनि ट्राफिकको उपस्थिति थिएन । 

उनले भेलामा सहभागी चालकलाई नेपाल नेसनल हस्पिटलले ज्याकेट वितरण गरेको भने स्विकारे । ज्याकेटको भारी र पैसाको प्रलोभन बोकेर चितवन पुगेका अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर शर्माले यस्तो विषयमा चासो राख्न नमिल्ने बताए ।

‘साथीभाइबीच भेटघाट हो, यसमा तपाईंलाई किन चासो भयो ?’ नयाँ पत्रिकाकर्मीसँग उनले भने । उनले बुधबार बेलुका नै आफू काठमाडौं फर्किँदै गरेको जानकारी गराउँदै भने, ‘म मुग्लिन आइपुगेँ, कुरा गर्ने भए यहीँ आउनुस्, अरू म थप बोल्दिनँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .