हङकङकै आकर्षक पुरस्कारवाला प्रतियोगिता ‘द नर्थ फेस सय किलोमिटर अल्ट्रा ट्रेल च्यालेन्ज’मा नेपाली धावकहरूले वर्चस्व कायम गरेका छन्।
यही डिसेम्बर १९ (पुस ४) शुक्रबार राति १० बजे ताइपोस्थित विसिङ स्क्वायरबाट सुरु दौडमा पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राई विजयी भएका छन्। उनले निर्धारित १०० किमिको दुरी १२ घन्टा २ मिनट १७ सेकेन्डमा पूरा गरेका हुन्।
लगातार दुईपटक डिफेन्डिङ च्याम्पियन बनेका फिलिपिन्सका जोन र्व ओनिफा दोस्रो स्थानमा सीमित भए भने हङकङका वाई हुङ वोङ तेस्रो स्थानमा रहे।
यो जितसँगै नेपाली धावक अर्जुनले नगद १५ हजार हङकङ डलरका साथै ८ हजार डलरको गिफ्ट भौचर हात पारेका छन्।
त्यसैगरी हङकङवासी अर्का नेपाली सन्तोष तामाङले १२ घन्टा ४२ मिनेट २० सेकेन्डमा निर्धारित दुरी पार गरी चौथो स्थान सुरक्षित गरे।
नेपालबाट आएका नेपाली सेनाका गोपाल तामाङ सातौँ स्थान र हङकङवासी भेटेरन रनर दिनानाथ बगाले १४ घन्टा ९ मिनेट २ सेकेन्डमा निर्धारित दुरी पार गरी आठौँ स्थानमा आउन सफल भए।
यस्तै हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसनका अध्यक्ष वेदराज लिम्बू सोह्रौँ स्थानमा अटाए।
महिलातर्फ हङकङवासी दिलु लिम्बू दोस्रो भइन्। उनले निर्धारित दुरी १६ घन्टा १६ मिनट १७ सेकेन्डमा पूरा गरेकी हुन्।
चीनका ह्वा रिङ फु पहिलो र ताइपेईकी मेङ युन तुङ क्रमशः पहिलो र तेस्रो बने।
दोस्रो भएबापत दिलुले नगद १० हजार हङकङ डलरसहित ५ हजार डलरको गिफ्ट भौचर हात पारिन्।
पुरुषतर्फका विजेता अर्जुन कुलुङ समाज हङकङको प्रायोजनमा हङकङ आएका हुन्।
प्रतियोगितामा भाग लिनेहरू धेरैजसोले एचकेन्युट्राको प्रतिनिधित्व गरेका थिए।

प्रतियोगिताअन्तर्गत १०० किमि इन्डिभ्युजल्स, १०० किमि रिले, ५५ किमि र १४ किमि विधामा क्रमशः ५००, ५००, १००० र १२०० गरी कुल ३ हजार २०० धावक सहभागी भएका थिए।
२७ घन्टा कट अफ समय रहेको उक्त दौड पूरा गर्नेहरूले यूटीएमबी र आईटीआरएका लागि ४ र्याङ्किङ प्वाइन्ट प्राप्त गर्नेछन्।
तेस्रो प्रयास सफल
अंग्रेजीमा एउटा भनाइ छ- लगातार दुईपटक असफल भए पनि तेस्रो प्रयास सफल हुन सक्छ। यो मान्यता अर्जुन कुलुङ राईमा लागु भएको छ।
पहिलोपटक प्रतियोगितामा भाग लिँदा उनी तेस्रो स्थानमा रहे।
यसपछि गत वर्ष दोस्रो स्थानमा आए।
अनि अहिले तेसो प्रयासमा पहिलो भए अर्थात् विजेता बने।
उनको विजयसँगै फिलिपिन्सका जोन रे ओनिफाको ह्याट्रिक सपना चकनाचुर भयो।
‘रनिङ क्विन’ दिलु

३२ वर्षको उमेरदेखि अल्ट्रा ट्रेल दौडमा भाग लिन थालेकी दिलु लिम्बूले हङकङवासी नेपालीमाझ ‘रनिङ क्विन’ (दौडकी रानी) को परिचय बनाउँदै छिन्।
३७ वर्षलाई बिट मार्न लागेकी दिलुको लोभलाग्दो सफलता देखे हङकङका नेपालीले उनलाई त्यस्तो उपमा दिन थालेका हुन्।
उनी दुई महिनाअघि मात्र ५० किमिको दौडमा नयाँ कीर्तिमानसहित विजयी भएकी थिइन्। हङकङ, मलेसिया र चीनमा गरी दिलुले दर्जनौँ ट्रफी हात पारिसकेकी छन्।
मुखमा आइसकेको पुरस्कार उम्कियो
हङकङमा ‘लोकल हिरो’को उपमा पाएका सन्तोष तामाङ एक दशक गुमनाम रहे। दश वर्षअगाडि दौड प्रतियोगितामा उनका जित प्रसिद्ध साउथ चाइना मर्निङ पोस्टमा समाचार बन्थे।
‘त्यस्तो सफलता हात पारिरहेका बेला किन एकाएक गुमनाम हुनु भो?’
नेपालखबरको प्रश्नमा उनी भन्छन्, ‘त्यतिबेला अहिलेजस्तो ट्रेल रनिङका संगठित संस्था थिएनन्। एक्लै दौडन पर्थ्यो। हौसला दिनेहरू कमै थिए यही कारण दौडमा सुस्ताउन पर्यो।’
तर उनी चुप लागेर बसेनन्। त्यसबीच उनी साहसिक हवाई खेल प्याराग्लाइडिङमा छलाङ मार्दै टान्डेम पाइलट बने।
अहिले उनको राम्रो कमब्याक भएको छ। केही समयअगाडि मात्र उनी हैसन हाइकको २४ किमिमा प्रथम र गत हप्ता मात्र लान्ताउ ५० किमिमा दोस्रो बने।
उनले यसपटक १०० किमिमा आफूलाई परीक्षण गराए।
अन्तिम चेक प्वाइन्ट ९ मा पुग्दासमेत उनी तेस्रो हुनेमा ढुक्क थिए। पछाडि कोही थिएनन्।
फिनिसिङ प्वाइन्ट आउनअगाडि हङकङका चिना एकाएक हावाजस्तै बत्तिँदै आएर सन्तोषलाई पछि पारे।
चिनाले सन्तोषभन्दा ५ मिनटअगाडि फिनिसिङ लाइन छोए।
त्यो क्षण सम्झिँदै सन्तोष सुनाउँछन्, ‘मुखैमा आएको माड उम्कियो। म तेस्रो हुने कुरामा ढुक्क थिएँ। कताबाट त्यो चिना हावाजस्तै बतासिएर मलाई ओभरटेक गर्यो।’
जसका कारण मुखैमै आइसकेको झन्डै ८ हजार हङकङ डलरको पुरस्कार गुम्यो।
लडेर चोट लाग्दा पनि हारेनन् हिम्मत

हङकङका भेटेरन ट्रेल रनर दिनानाथ बगाले सबैभन्दा अनुभवी धावक हुन। उमेरले ४८ काट्न आँट्दा पनि उनको जोस घटेको छैन। दिना १०० किमिभन्दा माथिका दौडका स्पेसलिस्ट हुन्।
उनले गत महिना मात्र भियतनाम र थाइल्यान्डमा आफ्नो उमेर समूहतर्फ क्रमशः पहिलो र तेस्रो बने।
यसपटकको दौडमा करिब ३० किमि पुगेपछि उनी लडे, तर पनि हिम्मत हारेनन्, दौडेर फिनिसिङ लाइन चुमेरै छाडे। पाँच सयमध्ये आठौँ स्थानमा रहन सफल भए।
‘त्यस्तो चोट लागेर पनि निराश नभई दौड पूरा गर्नु भो, के कुराले आत्मबल दिन्छ?’
नेपालखबरको जिज्ञासामा उनले भने, ‘हो, चोटले पीडा दिन्छ, त्यसमाथि भोक, प्यास, निद्रा र थकानले लखतरान हुन्छ, तर जब फाइनल ल्यापमा फिनिसिङ प्वाइन्ट चुमिन्छ, तब सबै पीडा बिर्साएर स्वर्गीय आनन्द प्राप्त हुन्छ।जसरी एक महिला प्रसव वेदनापछि शिशु जन्माउँछिन् र खुसी हुन्छिन्। वास्तवमा अल्ट्रा रन जीवनको उत्सव र मृत्युको पूर्वाभ्यासको एक गहन अनुभव पनि हो। यही लोभ र मोहले अल्ट्रा रनरहरू दौड पूरा गर्छन्। त्यो पीडा र कष्ट खप्न नसक्नेहरू भने बीचैमा हात उठाउँछन्।’
चोट नलागेको भए आफू टप फाइभमा पर्ने उनले बताए।
‘द नर्थ फेस सय किलोमिटर अल्ट्रा ट्रेल च्यालेन्ज’ हङकङमा हुने सबैभन्दा आकर्षक पुरस्कारको प्रतियोगिता हो।
Shares

प्रतिक्रिया