हङकङको क्याथे प्यासिफिक एयरवेजले आफ्नो एक विमानले फिलिपिन्सको मनिलामा गलत ट्याक्सीवे प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
बुधबार फिलिपिन्सको मनिला निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङको उडान भर्न लागेको क्याथेको उडान सीएक्स९१८ ले गलत ट्याक्सी वे प्रयोग गर्दा अन्य दुई उडानमा असर पुगेको थियो।
सोही घटनामा सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको एयरलाइन्सले जनाएको हो।
क्याथेको प्रवक्ताका अनुसार विमानले प्रस्थानका क्रममा ट्याक्सीवेको गलत प्रयोग गरेको थियो। जसका कारण मनिला एयर ट्राफिक कन्ट्रोलले दुई आगमन विमानको अवतरण रोक्नुपर्यो।
पछि ट्राफिक नियन्त्रण टावरले सीएक्स९१८ लाई रनवेमा प्रवेश गर्न र हङकङ प्रस्थान गर्न अनुमति दिएको थियो।
‘क्याथेले कहिल्यै पनि यात्रु वा चालक दलको सुरक्षामा सम्झौता गर्दैन। यस विषयमा पनि एयरवेजले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी गहन अनुसन्धान गरिरहेको छ,’ प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
Shares

प्रतिक्रिया