हङकङमा दुई हप्ताको बीचमा दोस्रो पटक प्याराग्लाइडिङ दुर्घटना भएको छ। पछिल्लो पटक आइतबार न्यु टेरिटोरिजको जंगली क्षेत्रमा दुर्घटनामा परेको हो।
यसअघि ९ डिसेम्बर दिउँसो दक्षिणी हङकङको पहाड शेकओ पिकको शिखरमा दुर्घटना हुँदा ६८ वर्षीय प्याराग्लाइडरको मृत्यु भएको थियो। तीव्र हावाका कारण उक्त दुर्घटना भएको अनुसन्धानले देखाएको छ।
आज भएको दुर्घटनामा भने चालकको उद्धार गरिएको छ। ४९ वर्षीय प्याराग्लाइडर बिहान साढे ११ बजे म्याकलेहोज ट्रेलको खण्ड ४ मा दुर्घटनामा परेका हुन्। उनी रुखमा ठोकिएर खसेका थिए।
दुर्घटनामा परेका उनलाई पदयात्रीले देखेर प्रहरीलाई खबर गरेका थिए। स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टका अनुसार उनलाई सरकारी उडान सेवा वानचाई हेलिपोर्टबाट उद्धार गरी रट्टोनजी अस्पताल पठाइएको थियो।
म्याकलेहोज ट्रेलको खण्ड ४ स्थित माअन शानमा रहेको ५३६ मिटर अग्लो पिरामिड हिल हङकङको सबैभन्दा अग्लो र सबैभन्दा ठूलो प्याराग्लाइडिङ स्थलका रूपमा चिनिन्छ। यो क्षेत्र नागरिक उड्डयन विभागले प्याराग्लाइडिङ गतिविधिका लागि तोकेका आठ क्षेत्रमध्ये एक हो।
Shares

प्रतिक्रिया