हङकङवासी नेपालीहरूद्वारा सञ्चालित ‘हङकङ नेप्लिज टेनिस सोसाइटी’ले ‘दोस्रो नेसन्स कप-२०२५’ टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ।
सोसाइटीका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव राईका अनुसार प्रतियोगिता आउने अक्टोबर ५ तारिखका दिन अनसानस्थित नवनिर्मित गोपार्क साइसामा आयोजना गरिनेछ।

उनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी नेपालखबरलाई दिए।
टिम समूहमा हुने प्रतियोगितामा ८ राष्ट्रका ८ टोली सहभागी हुनेछन्।
एक टिममा कम्तीमा ५ जना हुनेछन्। हरेक टिमले २ वटा डबल्स र एक सिङ्गल्स म्याच खेल्नुपर्नेछ।
दुई समूहमा विभक्त गरी खेल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ।

समूहमा उत्कृष्ट अंक प्राप्त गर्ने दुई टोली च्याम्पियनसिपका लागि फाइनलमा प्रवेश गर्नेछन्।
विजेता टिमले नगद ४ हजार हङकङ डलर, ट्रफी, मेडल र टोकन अफ लभ पाउनेछ भने उपविजेताले २ हजार हङकङ डलर, प्लेट र टोकन अफ लभ प्राप्त गर्नेछ।
साथै सहभागी सबैलाई टोकन अफ लभ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा लगभग ५० खेलाडीको सहभागिता रहनेछ।
फिटनेस, फन र फ्रेन्डसिपको अवधारणामा सन् २०११ मा स्थापित टेनिस सोसाइटीले पहिलो प्रतियोगिता सन् २०१५ मा सञ्चालन गरेको थियो।
नेपालमा २०७२ मा महाभूकम्प गएपश्चात् सोसाइटी सामाजिक कार्यमा बढी केन्द्रित रह्यो।
पोखरा रंगशालामा टेनिस कोर्ट निर्माण, भूकम्प र बाढीले भत्किएका स्कुलका भवन निर्माण, राहत वितरणजस्ता काम सोसाइटीले गर्यो।
सन् २०२० मा महावाणिज्यदूतसँगको सहकार्यमा नेसन्स कप आयोजना पक्कापक्की भए पनि कोरोना कहरले स्थगन भएको थियो।
सोसाइटीले हालसालै चिम सा सुई वेस्ट केयर टिमसँग सहकार्य गरी नेपाली बालबालिका तथा युवाका लागि दुईमहिने ‘समर टेनिस लेसन फर द युथ’ कार्यक्रम सञ्चालन गरेको थियो।
साथै सोसाइटीले नेपाली टेनिस खेलाडीहरूबीच लिग म्याच, वार्षिक च्याम्पियनसिपजस्ता प्रतियोगिता तथा विभिन्न देशका समुदायबीच मैत्रीपूर्ण खेल आयोजना गरिरहेको छ।
Shares

प्रतिक्रिया