अनि बेलायती सेनामा ‘नम्बर वान’ नेपाली गल्फर बने गजेन्द्र

भन्छन् : त्यो आकस्मिक ठ्याक नहानेको भए आज सायदै गल्फर हुन्थेँ
अनि बेलायती सेनामा ‘नम्बर वान’ नेपाली गल्फर बने गजेन्द्र

मगेन्द्र राई
भदौ ७, २०८२ शनिबार १२:३४, बेलायत

‘..समयले मानिसलाई कहाँ-कहाँ पुर्‍याउँछ,

कहिले हसाउँछ, कहिले रुवाउँछ..’

दीपक खरेलले गाएको यो गीतजस्तै छ- गल्फर गजेन्द्र गुरुङ ‘ग्याज’को जीवन। उनी नेपालको पूर्वी जिल्ला पाँचथरमा जन्मिए। सानै उमेरमा भारतको देहारादुन गए। फेरि नेपाल फर्किए। त्यसपछि बेलायती सेनामा भर्ना भएर विश्वका कुनाकाप्चा पुगे। यस क्रममा उनी कहिले हाँसे त कहिले रोए। तर उनी न आत्तिए न मात्तिए। 

किनकि उनले बुझेका छन्- जीवन परिवर्तनको शृंखला हो। जीवन प्रयोगशाला हो, जति प्रयोग गर्न सक्यो, त्यसबाट त्यति नै धेरै फाइदा र आनन्द उठाउन सकिन्छ। जीवन समाधान गर्नुपर्ने समस्या मात्र हैन, अनुभव गर्नुपर्ने वास्तविकता हो भन्ने मान्यता राख्छन् उनी। त्यसैले उनी जहाँ-जहाँ पुगे, त्यहाँ गजबले जमे।

४४ वर्षअगाडि पाँचथरको रानीटारमा जन्मिए पनि उनको बाल्यकाल भारतको देहरादुनमा बित्यो। किनकि उनका बुवा भारतीय सेना भएकाले उनलाई पनि सँगै त्यहाँ लगेका थिए। त्यही हुर्किए, १० कक्षासम्म देहरादुनमै पढे।

भारतमा क्रिकेटको क्रेज र पल्टने बाबु फुटबल राम्रो खेल्ने भएकाले गजेन्द्र पनि सानैदेखि ती खेलमा लागे। स्कुलका प्रतियोगितामा सहभागी हुन थाले।

वयस्कको भर्‍याङ चढ्दै गएपछि उनका बाबा र काकाको सल्लाहबमोजिम उनी सन् १९९८ मा नेपाल फर्केर बिर्तामोडमा बसे। उनका काका त्यतिबेला बेलायती सेनामा कार्यरत थिए। काका-बाबुको बिँडो थाम्न बेलायती सेनामा भर्ना हुनका लागि उनी देहरादुनबाट नेपाल आएका थिए। 

अनि राष्ट्रिय फुटबल खेलाडी बन्ने धोको थाँती राखे
भारतबाट नेपाल आएपछि पनि उनी झापाको एक राम्रो क्लबबाट फुटबल खेल्न थाले। फुटबलमा भएको उनको लगावले खेलमा थप प्रगति हुँदै गयो।

उनलाई फुटबल खेल्न पाए अरू केही नचाहिने भो। यही नशाले उनलाई नेपालको राष्ट्रिय फुटबल खेलाडी बन्ने महत्वाकांक्षा बढायो।

तर नेपालमा खेलले मात्र खान-लाउन सम्भव थिएन। यसैबीच उनले बेलायती सेनामा भर्ती भए पल्टनमा प्रशस्त मात्रामा फुटबल खेल्न मौका पाउने जानकारी पाए। उनलाई खासमा फुटबल खेलिरहने वातावरण चाहिएको थियो।

त्यसैले भविष्य पनि बन्ने, फुटबल पनि खेल्न पाउने भएपछि राष्ट्रिय फुटबल खेलाडी बन्ने सपनालाई देउरालीमा फूल सँगै चढाएर उनी सात समुद्र पारि गोर्खामा भर्ती हुँदै बेलायत पुगे।

त्यो ठ्याक, जसले जगायो गल्फर बन्ने इच्छा
सन् २००१ मा पल्टनमा भर्ना भएपछि गजेन्द्रले फुटबल खेल पनि राम्रैसँग अगाडि बढाए। पल्टनमा आयोजना हुने फुटबल प्रतियोगिताहरूमा टिमलाई धेरैचोटि जित दिलाए। केन्ट मेडस्टोन ब्यारेक छेवैमा एक गल्फ क्लब थियो।

पीटी दौड गर्दा त्यही गल्फ कोर्सवरिपरि भएर गुज्रनुपर्थ्यो। त्यहाँ उनले मान्छेहरू गल्फ खेलिरहेका देखे। 

गल्फको सामग्रीसमेत अरूलाई बोकाएर बिस्तारै हिँड्दै गरेको देख्दा उनलाई लाग्यो, ‘कस्तो अल्छी लाग्दो खेल, यस्तो पनि खेल हुन्छ र?’

गल्फप्रति उनको यस्तै धारणा थियो।  

उनले त्यही बेला पहिलोपटक प्रत्यक्ष गल्फ देखेका थिए। उनी फुटबल ट्रेनिङबाट फर्कंदै गर्दा तात्कालिक क्लर्कमा काम गर्ने सन्तोष गुरुङ नियमित गल्फ खेल्थे। त्यसपछि भने गजेन्द्रलाई पनि कस्तो हुने रहेछ भनेर एकदिन गल्फ आइरन समात्दै बल हाने।

लठ्ठीजस्तो चिजले सानो बल हान्दा उनले बललाई राम्ररी छुवाउन पनि सकेनन्। तर उनले जब दोस्रोपटक, संयोगवश बलले डाँडा काट्यो। तर बल कसरी हानियो आफैँले भेउ पाउन सकेनन्।

यद्यपि उनलाई यस्तो मज्जा आयो कि त्यो सम्झीसम्झी रातभर निदाउन सकेनन्। भोलिपल्ट बिहान स्पोर्ट्स सप खुल्नेबित्तिकै उनले गल्फ आइरन र बल किने। यो नै  गजेन्द्रको गल्फयात्राको ‘टर्निङ प्वइन्ट’ थियो।

त्यो घटना स्मरण गर्दै भन्छन्, ‘यदि त्यो आकस्मिक ठ्याक हान्दा बलले डाँडा नकाटेको भए आज म गल्फर सायदै हुन्थेँ।’

उनलाई फेरि त्यस्तो सट हान्न महिनौँ लामो अभ्यास गरेपछि मात्र सम्भव भयो। यो सन् २०१० तिरको कुरा हो। त्यसपछि  उनले जंग सिंजालीसँग गल्फ खेल्ने टिप्स सिके। 

ब्रुनाईले बनायो गल्फर
सन् २०११ मा ब्रुनाई जानुअघि उनी खासै गल्फ खेल्दैनथे। तर ब्रुनाईमा केही फुर्सदिलो समय अनि गल्फ खेल्ने वातावरण भएकाले त्यहाँ उनको गल्फयात्राले मलजल पायो। 

उनी गल्फसँगै फुटबल, क्रिकेट, ब्याडमिन्टन पनि खेल्थे। यसरी धेरैवटा खेलमा हात हालेको देखेर उनकी श्रीमतीले कुनै एक खेल मात्र खेल्न सुझाव दिइन्। त्यसपछि भने उनी अन्य खेललाई थाँती राखेर गल्फमा मात्र होमिए।

अनि ब्रुनाई, मलेसिया आदि स्थानमा भएका गल्फ प्रतियोगिता उनले भाग लिन थाले र जित्न पनि थाले।

‘ठूलो सपना देख्नुपर्छ’
उनले झन्डै ३० वर्षको उमेरमा गल्फ खेल्न सुरु गरेका थिए। यो निकै ढिलो सुरुवात हो। ब्रुनाई हुँदा पल्टनका एक गोरा सेनाको प्रतिनिधित्व गरेर गल्फ खेल्न कहाँ-कहाँ पुग्थे। सेनाको गल्फ स्क्वाडमा रातो टिसर्ट लगाइन्छ।

उनलाई पनि त्यसरी नै रातो टिसर्ट लगाएर सेनाको स्क्वाडमा प्रवेश गर्ने महत्वाकांक्षा पलायो। तर भर्खरै सिक्न र खेल्न थालेका उनी हजारौँ बेलायती सेनाबाट छनोट हुने आशा राख्नु भनेको दिवास्वप्नजस्तै थियो।

तर उनले ठूलो सोच राखे, ठूलो सपना साँचे।

‘म सक्दिनँ भन्दा म कसरी गर्न सक्छु, फलनाले गर्न सक्छ भने म किन सक्दिनँ’ भन्ने सकारात्मक कुरा मनमा लिए। नभन्दै उनको गल्फ यात्राले गति लियो। गल्फ सुरु गरेको २ वर्षभित्र ‘सिंगल हेन्डिक्याप’मा प्रवेश गर्न सफल भए। अनि खेल्दै जाँदा ‘आर्मी स्क्वाड’मा पनि छनोट भए। 

उनी सम्झिन्छन्, ‘जब आर्मीको रातो गल्फको टिसर्ट बोकेर चेन्जिङ रुममा पसेर जर्सी लगाएँ, यति खुसी भएँ कि त्यो सपना हो वा विपना, छुट्याउन सकिनँ। पटकपटकऐना हेर्दासमेत द्विविधा भइरहेको थियो।’ 

उनले थपे, ‘जिन्दगीमा ठूलो सपना देख्नुपर्छ, जसले जीवनलाई सार्थक तुल्याउँछ।’

यही विचारले आज उनी बेलायती सेनामा ‘नम्बर वान’ नेपाली गल्फर बनेका छन्।

जितको ओइरो : आर्मीमा ‘प्लेयर अफ द इयर’सम्म
‘थिंक बिग, ड्रिम बिग’को मानसिकताले उनलाई कडा मेहनती बनायो। जसले सफलता दिलायो। उनले दर्जनौँ गल्फ उपाधि जितिसकेका छन्।

उनले बेलायतमा नेपाली समुदायद्वारा आयोजित प्रतियोगितामा एकछत्र राज्य गरिरहेका छन् भने टुर लेबलकै मानिने आर्मी च्याम्पियनसिपमा ४ पटक रनर अप बनिसकेका छन्।

सन् २०२४ मा बेलायती सेनाको ‘प्लेयर अफ द इयर (वर्ष खेलाडी)’ को उपाधि हात पार्दै ऐतिहासिक कीर्तिमान कायम गरे। अर्थात् यो उपाधि पाउने उनी पहिलो नेपाली बने। 

बेलायती सेनामा प्लेयर अफ द इयर (वर्षको उत्कृष्ट खेलाडी) को ट्रफी थाप्दै गजेन्द्र।

यति मात्र होइन, उनले गत वर्ष नेपालको धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न गल्फ प्रतियोगिता पनि जिते। उनको विजययात्रा जारी छ।

सफलतामा श्रीमतीको साथ
भनिन्छ- हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ। गजेन्द्रको हकमा त यो शतप्रतिशत लागु भएको छ। उनी आज गल्फमा जुन सफलता हासिल गरिरहेका छन्, त्यसमा आफ्नी पत्नीको ठूलो साथ रहेको उनी बताउँछन्।

भन्छन्, ‘म धेरै किसिमको खेल खेल खेल्थेँ, धेरैतिर हात हाल्दा ‘ ज्याक अफ अल ट्रेड, मास्टर अफ नन’ अर्थात् धेरैतिर ज्ञान, तर विशेषज्ञतामा शून्य हुँदोरहेछ, मेरो श्रीमतीले यही कुरा दोहोर्‍याउँदै कुनै एक खेल मात्र खेल्नु वा गल्फ मात्र खेल्नु भन्ने सुझाव दिइन्, त्यसपछि म गल्फ मात्र खेल्न थालेँ, मलाई श्रीमतीले समय व्यवस्थापनमा सहयोग गरिरहेकी छन्, यतिसम्म कि प्रतियोगिता नजिकिँदै जाँदा बच्चालाई म स्कुल लैजान्छु, तपाईं प्राक्टिस गर्न जानू भनेर समय समायोजन गरिदिन्थिन्। त्यसैले म निस्फिक्री प्रशिक्षण गर्थेँ अनि प्रतियोगिता जित्थेँ। यो सिलसिला जारी छ।’  

सर्टिफाइड कोचदेखि सेलिब्रेटी क्याडीसम्म
गजेन्द्र खेलमा मात्रै सीमित रहेनन्। उनले गल्फको गहिराइ बुझ्न र अरूलाई पनि गल्फको प्राविधिक पक्ष र खेल्ने कला सिकाउन सन् २०१५ मा युरोपियन गल्फ टिचिङ फेडेरेसनबाट ‘सर्टिफाइड कोच’ बने।

युरोपियन गल्फ टिचिङ फेडेरेसनबाट प्रशिक्षक पदको प्रमाणपत्र लिँदै गजेन्द्र गुरुङ।

हाल उनी खेल खेल्दै र सिकाउँदै गरिरहेका छन्। यसका अलावा उनी प्रसिद्ध गल्फ खेलाडीहरू क्याडी (सेलिब्रेटी क्याडी) पनि गर्छन्। 

सँगसँगै योग र ध्यान
उनी गल्फ खेलसँगै योग र ध्यान (मेडिटेसन) लाई पनि उत्तिकै समय दिन्छन्। समय निकालेर दैनिकजसो योग र ध्यान गर्छन्। यसले गल्फ खेलमा पनि ठूलो मद्दत पुर्‍याइरहेको उनी बताउँछन्। 

गल्फ ९० प्रतिशत मेन्टल र १० प्रतिशत फिजिकल खेल भएको उनको अनुभव छ। त्यसैले योग र ध्यानले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि महत्त्वपूर्ण सहयोग पुर्‍याउने उनी बताउँछन्। यसले एकाग्रता, तनाव व्यवस्थापन, धैर्यधारण गर्ने र सही समयमा सही निर्णय गर्ने क्षमता बढाउने उनको भनाइ छ। 

जसले गल्फ खेलमा राम्रो नतिजा ल्याउन सहयोग पुगिरहेको उनी सुनाउँछन्। भन्छन्, ‘टिअफ गर्दा कहिलेकाहीँ भनेजस्तो ड्राइभ हुँदैन, कहिले बंकरतिर कहिले ह्याजार्डतिर बल पुग्छ, कहिले पेनाल्टीमा परिन्छ, कहिले ग्रिनमा सजिलो पटिङ मिस हुन्छ, त्यस्तो अवस्थामा निराशा छाउँछ, रिस उठ्छ, कतिले त गल्फ सेट नै रिसले हुत्याइदिन्छन, क्लब फाल्छन्। त्यस्ता रिस्क म्यानेजमेन्ट, एंगर म्यानेजमेन्ट गर्न मेडिटेसनले ठूलो भूमिका खेल्छ।’

त्यसो त योग र ध्यान सबै खालका मानिसका लागि लाभकारी हुने कुरामा दुईमत छैन।  

सन् २०२५ मा ‘क्लिन स्विप


गजेन्द्र यही वर्षको सुरुवाततिर बेलायती सेनाबाट सेवा निवृत्त भए। अवकाशपछि फुर्सदिलो समय उनले गल्फका लागि सदुपयोग गरिरहेका छन्। 

यो वर्ष जति पनि प्रतियोगिता भए सबैमा उनले ‘क्लिन स्विप’ गरे।

केही समयअगाडि उनी पुन: बेलायती सेनाकै अर्को विभागमा नियुक्ति भएका छन्। यसले उनलाई फेरि सेनाको स्क्वाडमा फर्काएको छ।

बेलायती सेनामा धेरै प्रतियोगिता भइरहन्छन्। 

स्थलसेना, वायुसेना र जलसेनाबीच हुने गल्फ प्रतियोगितामा उनी स्थलसेनाका तर्फबाट सहभागी हुन्छन्। जुन प्रतियोगितालाई टुर लेभलको  मानिन्छ।

गजेन्द्र- बेलायती सेनामा उक्त स्तरको गल्फ खेल्ने पहिलो नेपाली हुन्।

अन्तिम गन्तव्य सिनियर गल्फ टुर
गल्फ खेल्न ढिला सुरु गरेको गजेन्द्रको अन्तिम लक्ष्य ‘सिनियर गल्फ टुर‘ खेल्ने हो। यद्यपि उनी अझै ‘प्रो गल्फ’ खेल्न क्वालिफाइड छन्।

तर त्यो अत्यन्तै टफ हुने उनी बताउँछन्। त्यसैले उनको छनोट सिनियर टुर हो। टाइगर उड्स उनको आइडल हुन्।

उनी उड्सको माइन्डसेटबाट अत्यन्तै प्रभावित छन्।

गजेन्द्रलाई थप सफलताको शुभकामना!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .