चीन घुम्दै सोचेँ– माओ र चाउ एनलाइजस्तै जमेको भए राजा महेन्द्र र बीपीको जोडी!

६० वर्षदेखि हङकङको धारामा आइरहेको पानीको मुहान पुग्दा
चीन घुम्दै सोचेँ– माओ र चाउ एनलाइजस्तै जमेको भए राजा महेन्द्र र बीपीको जोडी!

चीनको जियाङ्सी भ्रमणका क्रममा लेखक


कमल पौड्याल
भदौ १०, २०८२ मंगलबार ६:२३, हङकङ

प्रशान्त महासागरको पश्चिमी भेग तिरबाट उठेका समुद्री आँधीहरूले हङकङलाई छोला छोला जस्तो गरेर चीनको हाइनान, ताइवान र ग्वाङझाउतिर सोझिएको पाँचछ पटक भइसक्यो यो साल। 

तर पछिल्लो ताइफुन ‘विपा’ले भने हङकङमा निकै लामो समयपछिको संकेत नम्बर दस प्लसको अभिलेख राख्यो। 

हङकङलाइ साठी किमि टाढा राख्दै प्रतिघन्टा करिब एकसय तीस किमि गति भएको ‘विपा’ समुद्री आँधीले गर्दा हङकङ विमानस्थलका करिब पाँच सय हवाइजहाजका उडान–अवतरण रद्द भए त्यो दिन। करिब एकलाख यात्रुहरूको भ्रमणतालिका अवरुद्ध पार्दै पूरै हङकङको स्थल र जल यातायात समेत ठप्पै पार्‍यो ‘विपा’ले दिनभरि। यसले गर्ने निकै ठूलो आर्थिक नोक्सानको कुरो त छँदैछ। 

अक्सर यी ताइफुनहरू सुरु हुनुअगाडि मौसम जहिल्यै एकदमै गर्मी र अस्ट्रेलिया, न्युजिल्यान्डतिरको जस्तै निलो आकाश र परपरसम्म देखिने प्रष्ट सफा दृश्यले भने सधैँ स्वदेशको दसैँतिहारको सम्झनामा पुर्‍याउँछ। 

हङकङ र मूलभूमिबीच अहिलेको आवतजावतको सहजताले गर्दा चीनका पर्यटकीय पदयात्रीहरू हङकङका वनजङ्गलमा र हङकङका प्रकृतिप्रेमीहरू सेन्जान सहर सेरोफेरोका हरियाली डाँडापाखामा लाइन लागेर हिँड्न थालेका छन्। 

यस्तै मौसम हुँदा तुङचुङको बासस्थानबाट देखिने उत्तरपूर्वी हङकङका सबै पहाडी पदमार्गका थुम्काहरूमा पटकपटक पाइला टेकेको अनुभूतिमा रमाउँछु म सधैँ। 

यी देखिएका पहाडहरूको अझ पछाडि सधैँ बाआमा जस्तो गरेर उभिएको देखिने चीनको सेन्जान सहरको पूर्वमा पर्ने ‘वुटोङ’ पर्वत शृंखला यस्तै सफा मौसममा मात्रै देख्न सकिन्छ। जसको टुप्पोमा मैले जान नभ्याए पनि मेरा पदयात्री मित्रहरू खेम गुरुङ र नारायण भण्डारीले पाइला टेकेर आए हालसालै। 

अब म सहित पुनः जाने योजना बुन्दै गर्दा अर्को महत्त्वपूर्ण प्राकृतिक र ऐतिहासिक ठाउँको भ्रमण गर्ने संयोग जुर्‍यो यसपालि। 

हङकङमा जुन २८ को बिहान नुहाउँदा स्नान कोठाको धारोको पानी हेरेर म बच्चाबेला जस्तै रमाएँ। किनकि त्यो दिन मेरो जीवनको पैँतीस वर्षसम्म हङकङमा पिएको, नुहाएको लुगा धोएको पानीको मुहान र अन्य ऐतिहासिक सेरोफेरोको चारदिने यात्रामा निस्कने तय भएको थियोे। 

मूलभूमि चीनको ‘जियाङ्सी’ प्रान्तमा पर्ने यो ‘दोङजियाङ’ नदीबाट हङकङबासीले तिर्खा मेटाएको पनि लगभग मेरै उमेर बराबर भएछ। 

जहिल्यै भन्ने गर्छु, बाल्यकालमा बा र आमासँग सहर जाने भनेपछि कहिले उज्यालो होला भनेर निद्रा नलाग्ने म। 

त्यही बेलामा मावलीकी हजुरआमाले काठमाडौँ हुँदै बग्ने बागमतीको मुहान बागद्वार र विष्णुमतीको मुहान विष्णुद्वारको पैदल धार्मिक यात्राको वर्णन गर्दा आँखा नझिम्काई सुन्ने गर्थें म। 

०४० सालतिर काठमाडौँबासीहरूको घरघरको कलधारोमा आउने पानीको मुहान सुन्दरीजलमा सायद एक या दुईपटक वनभोज गइएको थियो कलेजबाट। 

नेपालीमा उखान हाल्दा वा कसैलाई चुनौती दिँदा ‘धेरै घाटको पानी खाएको मान्छे हो म’ भनेर भन्ने गरिन्छ। अर्को अर्थमा भन्ने हो भने धेरै मूल या घाटको पानी खाएको व्यक्ति धेरै परिपक्व अनुभवी हुन्छ भनेर पनि अर्थ्याउन सकिन्छ।

मैले सम्झेँ, पृथ्वी लोकमा मानव जीवनको चौबीस वसन्तसम्म स्वदेशको फरकफरक घाटको पानी खाए पनि हङकङमा भने पैँतीस वर्ष एउटै मूल वा घाटको पानी पो खाइएछ गाँठे!

जे होस् ओकोमोनो काउलुन हङकङ र टिनेज डेन्सिटी एसोसिएसनकी निर्देशक मिस सार्लोट र हिन्सको सहकार्यमा यो भ्रमण दलमा अठार जना हङकङका स्थानीय चिनियाँ र हामी आठजना नेपाली थियौँ। 

तीन रात, चार दिनको यो घुमाइ सशुल्क भए पनि द्रूत रेलको यात्रा, तीन दिन फरकफरक तारे होटलको बास, ब्रेकफास्ट, लन्च र डिनरगरी फरकफरक स्थानमा बाह्रतेह्र छाक भोजनका परिकार अनि आरामदायी बस, ड्राइभर, अंग्रेजी र स्थानीय भाषाको लागि दुईजना पर्यटक गाइड सहितले गर्दा यो रकम एकदमै न्यून वा होइनबराबर नै थियोे भन्दा पनि हुन्छ। 

यो यात्राको अर्को रमाइलो पक्ष र मज्जाको पाटो यस यात्रा दलका सहभागी साथीहरू थिए। हङकङलाई कर्मथलो बनाएका हामी सबै यहाँका सभा समारोह वा अन्य जमघटमा छोटो भेटघाट वा वार्तालाप भए पनि यसरी तीनचार दिनसँगै हिँड्ने संयोग भने पहिलोपटक जुरेको थियो।

उमेरले छ दशकको नेटो काटिसके पनि सधैँ अधबैँसे युवा जत्तिकै जोसजाँगर र उर्जावान् पुरन खड्का, स्वदेशको सोल्टी होटलदेखि हङकङसम्म कुनै समयका सहकर्मी, कम बोल्ने गम्भीर स्वभावका सीताराम ढुङ्गाना। उमरले मभन्दा कान्छा भए पनि जीवन जगतका अनुभव, अध्यात्म र व्यावसायिक ज्ञानमा समेत जेठा लाग्ने भाइ नारायण भण्डारी हङकङमा मेरो पदयात्राका जोडी पनि हुन्। 

हङकङको शिक्षा विभागमा अंग्रेजी शिक्षकका रूपमा कार्यरत न्यून संख्याका नेपाली युवाहरूमध्येका एक शैलेन्द्रसिंह बोगटी उमेरको हिसाबले भने हाम्रो समूहका सबैभन्दा कान्छा सहभागी थिए। 

दबङ्ग अनि हास्यचेतका साथै हठ र आँटका पनि धनी विनय शाह हिन्सको तर्फबाट यो भ्रमणदलका हाम्रा संयोजक थिए। 

अन्य मित्रहरू अधिराज राई, कृष्णराज लावती र नरेन्द्र गुरुङ यो भ्रमणमा जान नभ्याए पनि ताराप्रसाद गुरुङ र संगीता गुरुङ दम्पतीले हाम्रो भ्रमण दललाई असमावेशी हुनबाट जोगाइदिएका थिए। 

हङकङको सबैभन्दा पुरानो चीन जाने रेल बिसौनी हुङहाममा बिहान सात बजे जम्मा भएर चिरपरिचित स्टेसनहरू पार गर्दै करिब पैँतालीस मिनेटमै अन्तिम बिसौनी ‘ल उ’ बोर्डर पुगियो।

चिनियाँ परिचय पत्रले गर्दा करिब पन्ध्र मिनेटमै अध्यागमन पार गर्दै मिस सार्लोट सहितको स्थानीय चिनियाँ टिममा हामी पनि समाहित भयौँ। 

शनिबारको दिन भएकोले हङकङबाट चीनका विभिन्न भूभागको भ्रमणमा हिँडेका पर्यटक समूहहरूको चहलपहलले सेन्जान सहरको विशाल आँगन खचाखच थियो। 

युवा पथप्रदर्शक वाङले बताएको भ्रमण तालिकाको विस्तृत विवरणलाई अर्का टुर गाइड सिंक्लेयरले हामीलाई अंग्रेजीमा बताएपछि हामी जियाङ्सी जाने स्पिड ट्रेनको बिसौनीतिर ओर्लियौँ। 

चार पटक नेपाल पुगेका सिंक्लेयर हामीसँग छोटो समयमै घुलमिल भैहाले। खासगरी गौतम बुद्ध र लुम्बिनीप्रति उनको अगाध आस्था र चासो रहेछ। 

सेन्जानबाट ठीक साढे नौ बजे हिँडेको द्रूत रेल सहरका नागबेली रेलका बाटाहरू बिस्तारै छिचोल्दै जियाङ्सी जाने मुख्य रेलमार्ग पुगेपछि तीनसय सात किमि प्रतिघन्टाको गति लिएर सोझियो। 

दायाँबायाँ विभिन्न भौगोलिक दृश्य, खेतीपाती, पुराना र नयाँ बस्ती बाहेक निक्खर हरियो सदाबहार जङ्गल देखिन्थ्यो।

रेल भन्नेबित्तिकै सावेलले हालेको कोइला बाल्दै, सिट्ठी बजाउँदै धुवाँको मुस्लो फाल्दै छक् छक् छक् छक्, वा गड्ङ् गड्ङ् गड्ङ् आवाज याद आउने युगका हामी। तर यो रेल मैले पछिल्लो गुआन्सी यात्रामा भनेजस्तै हिँडेकोे हैन, वायुवेगमा बगेको छ।

हाम्रो दिउँसोको खाना ट्रेनमै हुने भनिए अनुसार तात्तातो खाद्य र चिसो पेय पदार्थ हवाइजहाजमा जस्तै सिटअगाडि आइपुग्यो। 

ट्रेन मिनेट मिनेटमा अनगिन्ती सुरुङमार्गहरूमा पस्दै निस्कँदै गर्दा सहयात्री पुरन खड्काले स्वदेशको सुर्तामा बर्बराउँदै भने, ‘विदेश घुम्दा त रमाइलो लाग्छ कमलजी, तर के गर्नु हाम्रो देशमा त हाम्रा नाति पनातिका पालामा यत्तिको देख्न पाए भाग्य!’

‘हाम्रा नेताहरू त जिम्मेवारी लिन र बिग्रेको जति अरुको थाप्लोमा अनि जस जति आफैँ लिने प्रतिस्पर्धामा दौडिन्छन्। परियोजना सम्पन्न हुनु कता हो कता शिलालेखमा नाम राख्न र रिबन काट्न कैँची र रिबन आफैँ कोटभित्र राखेर हिँड्छन्,’ नारायण भाइले सुस्केरा हाल्दै भने। 

कुनै समय हङकङबाट एमालेलाई तन, मन र धनले मलजल गर्नेहरूमध्येका नारायण भण्डारी अहिले भने राजनीतिबाट निराश हुँदै मोक्ष प्राप्त गरेर पाखा लागेका छन्। 

‘हाम्रो देशमा जस्तै उद्घाटनमा र शिलापत्रमा नाम राख्न मरिहत्ते गर्ने नेताहरू यो देशमा हुने हो भने शिलान्यास र उद्घाटन गर्दागर्दै कार्यकाल सकिन्थ्यो होला यहाँका नेताहरूको,’ विनय शाहले हाँस्दै थपे।

हुन पनि अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेका र राष्ट्रिय गौरवका एकदमै ठूला परियोजनाहरूको शिलान्यास वा उद्घाटनमा मात्र चिनियाँ उच्च नेताहरू छोटो मीठो कार्यक्रममा देखापर्छन्, बस्। 

यसरी दायाँबायाँ हेर्दै समसामयिक गफ गर्दै हिँडेको करिब अढाई घण्टामा जियाङ्सीको स्टेसनमा हामीलाई ओरालेर द्रूत रेल नानजिङको गन्तव्यतर्फ सोझियो। 

चारैतिरबाट हरियाली डाँडाकाडाले घेरेको जियाङ्सी लगभग काठमाडौँ उपत्यकाको ठूलो प्रारूप लाग्ने तर धुवाँधुलो र प्रदूषणको नामोनिसान छैन। 

चीनका प्राचीन कृषक समूह ‘हाक्का’ आदिवासीहरूको उद्गमस्थल मध्ये एक हो जियाङ्सी। वनस्पतिको विविधता र सयौँ प्रजातिका जङ्गली जनावरको बासस्थान यो उपत्यकालाई चीनको प्राकृतिक अक्सिजनको भण्डार पनि भनिन्छ। 

निलो आकाशमुनि परपरसम्म देखिने हरिया डाँडाहरू देखाएर हामी लोभिँदै गफ गर्दा गाइड सिंक्लेयरले कुरो बुझेछन् क्यारे र भने, ‘डन्ट वरी, वि विल बि देयर लेटर।’

उनले ‘सानवाइ’ र ‘वाइ’ डाँडातिर देखाए। 

अध्यागमन पार गर्दै बाहिर कुरेको बसमा चढ्यौँ। हङकङका धारामा निरन्तर विगत साठी वर्षदेखि झरिरहेको पानीको मुहान ‘सानवाइ’ डाँडा र ‘दोङजियाङ’ नदीको मुहानतर्फ गाडी गुड्न थाल्यो। 

बस त हङकङमा भन्दा पनि अझै अग्रगामी पो रहेछ। यदि एकैजना यात्रुले मात्रै पनि सिटबेल्ट नलाए आवाज दिएको दियै। 

दुई लेनको एकतर्फी सडकमार्गको दायाँबायाँ विशाल फैलिएको खेतीपाती र एकीकृत बस्ती अनि निख्खर हरियो वन। सडक यातायात र अन्य भौतिक संरचनाले प्रकृतिसँग आवश्यक स्थान मात्रै सापट लिएको छ। 

हरिया धान र मकै खेतीका विशाल फाँटहरूमा दोहोरो गोड्नेदेखि घोगा वा बाला हाल्दै गरेको अनि पाकिसकेको मकै र पहेँलपुर धान अर्थात् अन्नबालीका तीनथरी उमेर स्वरूपसँगै देखिन्छ। 

किसानले कहिल्यै समयमा मल नपाउने अनि मन्त्री र नेताहरू भने असार पन्ध्रको धान दिवसको शुभकामना भन्दै सामाजिक सञ्जालमा छाउने आफ्नो देश सम्झँदा मन कटक्क हुन्छ। 

पुरानो झिँगटी या खबटाले छाएका बस्तीसँगै दुईतीन तले सिमेन्टेड नयाँ घर अनि नजिकै फेरि अत्याधुनिक बीसतीस तले भवन मानव सभ्यताको तीन पुस्ते बासस्थानबारे मैले चासो राख्दा गाइड सिंक्लेयरले भने, ‘चीनमा पुरानो पुस्ता परम्परागत घरबाट सिमेन्टेड घरमा सरेका छन्। यद्यपि पुराना घरहरू पनि आउने पुस्ताको अध्ययन अनुसन्धानको लागि संरक्षण गरेर राख्नु अनिवार्य छ यहाँ। पछिल्लो पुस्ताको रोजाइ भने आधुनिक एपार्टमेन्टमा छ। बसाइँसराइ त्यति सहज छैन’

यदि अर्को प्रदेशमा सरे नै पनि त्यहाँको शिक्षा, स्वास्थ वा अन्य सरकारी सुविधाको उपभोगको लागि लामो समय कुर्नुपर्छ। त्यसैले स्थानीय विकास द्रूतगतिमा भएको छ यहाँ। 

यद्यपि व्यापार व्यवसाय गर्नभने जहाँ गएर पनि गर्न सकिन्छ। अझ नयाँनयाँ विकास भएका सहरमा त निश्चित अवधिसम्म सरकारले कर लगायत अन्य दस्तुरमा मिनाहा वा भारी छुट छ। त्यस्ता सहरहरू प्रोपर्टीमा लगानीदेखि व्यावसायिक कर सहुलियतको कारण छोटो समयमै नयाँ हब बन्छन्।

यिनै दृश्य हेर्दै कुरा गर्दै करिब सवा दुई घण्टाको बसयात्रापछि हामी ‘सानवाइ राष्ट्रिय निकुञ्ज’ को गेटमा ओर्लियौँ। 

हाम्रो लागि गल्फ कोर्टजस्ता तर ठूला आकारका तीनवटा वाहन तैयार भएर बसेका रहेछन्। 

सबै चढेपछि सफारी कार्ट खोलाको किनारैकिनार हुँदै विस्तारै उकालो लाग्यो। चारैतिर सदाबहार जङ्गल र तल आवाज सहित बगेको खोला बाहेक केही देखिन्न। सबैभन्दा अचम्म त बाटोको बीचमा परेका रुखहरू समेत नकाटी दायाँबायाँ च्यापेर बाटो निर्माण भएको छ। ठाउँठाउँमा मौरीपालन र चिया बगान पनि रहेछ। 

उहिल्यै टिस्टुङ पालुङबाट सिम भञ्ज्याङतिर उकालो लागेजस्तो लाग्ने। करिब पौने घण्टाको यात्रापछि हामी ओर्लियौँ। अब भने पैदल हिँडेर डुङ्गा चढ्न जानुपर्ने बताए टुर गाइडले। 

‘दोङजियाङ’ खोलाको माथिपट्टि पहाडको चट्टान फोरेर बनाइएको फराकिलो सिमेन्टेड पैदलमार्गमा हामी लगायत स्थानीय पर्यटकहरूको पनि बाक्लो चहलपहल थियोे। घुम्तीपिच्छे खोलाको अलगअलग प्रारूप देखेर म जन्मस्थल धादिङमा तरेको कोल्पुखोला, महेश खोला, नौबिसे खोलादेखि सदरमुकाम जाँदाको बुङचुङ खोलासम्मको अतीतमा हराएँ।

करिब पैँतालीस मिनेटको पैदल यात्रापछि हरियो पहाडमुनिको विशाल जलकुण्डमा आइपुगियो। 

हामी आधुनिक डुङ्गा चढ्यौँ। ठ्याक्कै स्वदेशको कुलेखानीको इन्द्र सरोबर वा पोखराको फेवाताल जस्तै लाग्ने। तर यति सफा वातावरण कि प्लास्टिकजन्य वा अरु कुनै खाले फोहोरको नामोनिसान छैन। 

पहाडहरूको बीचैबीच प्रकृतिमा मन्त्र मुग्ध हुँदै करिब पैँतालीस मिनेट जलयात्रापछि निकुञ्जको अर्को बस चढेर सानवाइ डाँडाको भञ्ज्याङमा पुगियो। 

तलैदेखि यी सवारी साधन नचढी पैदल यात्रा गर्ने भए आउजाउ गरेर छ घण्टाको रुट पनि रहेछ। 

चारैतिर आँखाले नभ्याउने तरेली परेका निख्खर हरिया पहाडका पत्रपत्रहरूको बयान अक्षरमा बताउन असम्भव लाग्ने।

करिब दस मिनेट पैदल हिँडेपछि अर्को मुख्य वा हङकङ आउने पानीको उद्गम स्थल जलकुण्डमा आइपुगियो। अजङ्गको पहेँलो ढुङ्गामा चिनियाँ भाषामा लेखिएको नारा देखाउँदै गाइड सिंक्लेयरले सोधे, ‘डु यु नो एबाउट आवर लेट ग्रेट लिडर चाउ एनलाइ?’

‘अफकोर्स वि नो भेरी वेल एबाउट हिम। हि वाज ग्रेट लिडर फर योर कन्ट्री। अल्वेज भेरी गुड फ्रेन्ड अफ आवर नेसन। अल्सो ह्याड भेरी गुड रिलेसन विथ आवर लेट किङ महेन्द्र एन्ड लेट प्राइममिनिस्टर बीपी कोइराला,’ मैले भनेँ। 

सिंक्लेयरका अनुसार साठी वर्षअगाडि यो खानेपानी उद्घाटन हुँदा यो ढुङ्गामा उनैको हस्ताक्षर जस्ताको तस्तै कुँदिएको थियोः ‘कृपया पानीलाई प्रदूषित नगरौँ– चाउ एनलाइ।’

यही पहेँलो ढुङ्गाको पछाडिपट्टि दोङजियाङ नदी कसरी जियाङ्सी, गाङझाउ, ग्वाङझाउ, सेन्जान र हङकङलाई पानी बाँड्दै बाँकी आफ्नो अस्तित्व चाहिँ पर्ल रिभर डेल्टा हुँदै महासागरमा मिसिएको छ भनेर देखाउने नक्सा कुँदिएको रहेछ। 

सन् साठीको दशकको सुरुवाततिर दक्षिणी चीन तथा हङकङमा निकै ठूलो खडेरी परेछ।  

पानीको हाहाकार हुँदा हङकङेलीहरूले चीनका छिमेकी गाउँ सहरहरूबाट ट्याङ्कीको पानी समेत किनेर खानुपरेको थियो भनिन्छ। तीनचार दिनमा जम्मा चार घण्टा मात्र धारामा आउने पानीले निर्वाह गर्थे अरे त्यो समयका मान्छे। त्यसपछि तत्कालीन हङकङको ब्रिटिस शासकहरूले ग्वाङझाउका प्रदेश प्रमुखलाई हङकङमा स्थायी रूपमा खानेपानी समस्याको समाधानका लागि सहयोग गरिदिन आग्रह गर्दै पत्राचार गरेछन्। 

त्यसपछि बेइजिङबाट स्वीकृत भएपछि करिब छ वर्षमा यो खानेपानी योजना सम्पन्न भएर हङकङका धाराहरूमा मूलभूमि अर्थात् यही जियाङ्सी प्रान्तमा बग्ने दोङजियाङ नदीको पानी झर्न थालेको रहेछ। 

त्यही समयको सेरोफेरोमा हङकङमा पनि युद्धस्तरमा स्थानीय स्रोत साधन अनुसार जलकुण्डहरू निर्माण गरिएको इतिहास पाइन्छ। 

प्लभर कोभ, सिङमुन, ताइलाम, हाइल्यान्ड, ताइताम, सिकपेक जस्ता ठूला र अन्य साना स्रोतले हङकङको अहिलेको पानीको मागमध्ये अठार/बीस प्रतिशत मात्र पूरा हुन्छ र बाँकी असी प्रतिशत चाहिँ जियाङ्सीको यही मुहानबाट। 

सामूहिक तस्बिर लिएपछि नेपाली समूह फेरि स्वदेशको चर्चा र चिन्तामा विचारमग्न हुनथाल्यौँ। 

साठी वर्षअगाडि पनि प्रदूषण बारेको कस्तो अग्रगामी सोच चाउ एनलाइको। अहिलेसम्म जे भनियो त्यही मान्ने, बुझ्ने अनुशासित जनता। 

उनै माओ र चाउ एनलाइको जस्तै हामी पनि गर्ने हो भन्दै सपना बाँडेर आएको गणतन्त्रलाई मेलम्ची खानेपानी आयोजनाले कहिले सम्म कुरीकुरी गरिरहला?

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायत अन्य नदीहरूको प्रदूषित दुर्दशाको लागि नेताहरूसँगै जनता पनि जिम्मेवार छन्। एकताक निकै चर्चा पाएको बागमती सफाइ अभियानबारे आजकाल केही सुनिन्न। 

चाउ एनलाइ र माओत्सेतुङको जोडीले हालेको जगले यो देश कायापलट भयो। हाम्रो देशमा पनि राजा महेन्द्र र बीपीको जोडीको केमिस्ट्री यस्तै मिलेको भए?

जसले जे भने पनि राजा महेन्द्रको निरंकुशताको एउटा पाटोलाई साइड लाएर अर्को पाटो हेर्ने हो भने उनको देश प्रेम, विकासका पूर्वाधार, सन्तुलित परराष्ट्र सम्बन्धले निकै फड्को मार्थ्यो उनी अझै दसपन्ध्र वर्ष बाँचेका भए। 

अहिले दक्ष जनसक्ति सकभर स्वदेशमा बस्नै मान्दैन। उतिबेला प्राज्ञ वा योग्य जोसुकै नेपालीलाई दार्जिलिङदेखि अन्य देशबाटसमेत झिकाएर स्वदेशमै अड्याउन सक्ने उनको खुबी मान्नैपर्छ। 

सिंक्लेयरले ल अब ग्लास ब्रिजतर्फ जाऊँ भनेपछि हाम्रो सामूहिक विश्लेषणको एकाग्रता भङ्ग भयो। 

सानबाइ डाँडाको सबैभन्दा उच्चभागमा पहाडको कोखामा निर्माण गरिएको पदयात्रा मार्गमा हामी लर्कन लागेर हिँड्न थाल्यौँ। करिब आधाघण्टा हिँडेपछि गज्जबको आकाशे झर्ना देखाउँदै सिंक्लेयरले भने– हङकङको पानीको मुहान यही हो। 

तस्बिर र भिडिओ खिचेर हिँड्दै ग्लास ब्रिजमा आइपुगियो। म उचाइदेखि डराउने परेँ। जाऊँ या नजाऊँको द्विविधा हुँदै गर्दा ‘ए दाइ पक्कै खसेर मरिन्न। सिधा तल नहेर्नुस्, पर पर हेर्नुस् क्यै हुन्न के’ भन्दै विनय भाइले ताने मलाई। नभन्दै हो रहेछ। 

तर मुनि हेर्दा भने अनकन्टार हरियो जङ्गलमा खसिएला जस्तो लागेर पाइलै नसर्ने। 

तस्बिर खिच्यौँ हामीले।

कालीगण्डकीमाथि बनेको बाग्लुङ र पर्वत जिल्ला जोड्ने झोलुङ्गे पुल जत्तिकै अग्लो हुनुपर्छ तर पुलको डिजाइन साजसज्जा अनि हिँड्ने ठाउँमा ग्लासको प्यानल ओछ्याइएकोले गर्दा पर्यटक आकर्षण ह्वात्तै बढेको। चारैतिरको पत्रे डाँडाकाँडाको हरियालीको बयान गरी साध्य छैन। तर यो चाहिँ हाम्रो देशमा पनि छ अझ हिमालपछाडि उभिएको। 

करिब डेढ घण्टाको परिक्रमा सिध्याएर फेरि सानबाइ डाँडाको भञ्ज्याङमा आएर चढेको निकुञ्जको बसले हामीलाई ओरालो घुम्ती बाटो हुँदै उत्तर गेटमा ल्याएर छोडिदियो। 

नजिकै रहेको रिसोर्टको रेस्टुरेन्टमा हाम्रो टुर बसले ल्याइपुर्‍यायो। दुईवटा प्राइभेट रुमका टेबलभरि खानाका स्थानीय परिकार सिचुवान खाना सँग मिल्दोजुल्दो लाग्ने। सिंक्लेयर पनि हाम्रै टेबुलमा जोडिएर यी परिकारको व्याख्या गरे। बिफ, पोर्क, चिकन, मटन, माछा, नुडल, सागसब्जी, राइस, देखि डिजर्टसम्म। 

मैले ‘चप चिल्ली विथ सोया सस’ भनेर मात्रै सोधेको थिएँ। ठ्याक्कै सिलौटोमा पिँधेको जस्तै नुनखुर्सानी–लसुन पो आइहाल्यो। 

हाम्रो खुवाइ देखेर सिंक्लेयरले भने, ‘फ्रम टुमरो, आइ विल अरेन्ज स्पेसल स्पाइसी फुड फर यु गाइज।’ 

‘वन्ली फर मी नट फर एभ्रीवन,’ मैले भनेँ।

खानपिनपछि हामी बस चढेर करिब दुई घण्टाको बाटो पार गर्दै पहिलो बास होटल ‘अत्तुर’को ढोकामा ओर्लियौँ। 

कर्मचारीहरूले हाम्रो कोठाको कार्ड तयार गरेर राखेका रहेछन्। 

भोलिपल्टको ब्रेकफास्ट ठीक सात बजे होटलको दुईतलामा रहेको रेस्टुरेन्टमा हुने सूचना अनि संक्षिप्त भ्रमण तालिका सुन्दै सुत्ने तरखरमा लागियो। 

बिहान रुमको वेक अप कलको घण्टीले निद्राबाट बिउँझिएपछि कोठाको सेरोफेरो हेरेँ, कस्तो गहिरो निन्द्रा लागेछ, सपना सम्झन थालेँ। 

ओशोले भन्थे, ‘मानव जीवन मे हर रोजका निद मृत्युका एक अस्थायी पूर्वअभ्यास है।’

हुन पनि हो करिब सात घण्टा म को हुँ, के हुँ, कहाँ छु? बस छ त शरीर मात्र छ ओछ्यानमा, मन त सपनामा उडिरहेको छ।

पर्दा हटाएर झ्याल बाहिर हेरेँ, स्वयम्भूको थुम्कोबाट दहचोक, हलथुम, नागार्जुन र ककनी शिवपुरी हेरेजस्तो। तर पछाडि हिमाल चाहिँ छैनन्। 

तयार भएर रेस्टुरेन्टमा झरेँ। केही साथीहरू आइसकेका र केही आउँदै रहेछन्। 

बफे ब्रेकफास्टका परिकार लन्च या डिनर भन्दा पनि धेरै। 

त्यसपछि हामी ऐतिहासिक ‘हाक्का’ म्युजियम तर्फ लाग्यौँ। माथि नै उल्लिखित यी आदिवासी कृषकहरूले माटो चाटेर वा सुँघेर उब्जनी हुन्छ हुँदैन पत्ता लगाउँछन् अरे भन्ने जनश्रुति छ। करिब चार सय वर्षअगाडि हङकङको साइकुङ हुँदै अन्य क्षेत्रमा पहिलो धानबाली यही समुदायले नै भित्र्याएका थिए। 

परम्परागत कृषि उपकरणहरू हँसिया, कोदालो, चाँदे, हलो, खन्ती, कुटोदेखि जाँतो र तेल पेल्ने काठको कोल हाम्रा जस्तै। सहनाइ, नरसिंगा, ढोलक, तबला सबै मिल्दोजुल्दो। 

हाम्रो देशकै असन इन्द्रचोक ढोकाटोल, जैसीदेवलका जस्ता वरिपरि घर बीचमा चोक तर एकतले मात्र खबटा टायलले छाएका घर। चुलोचौको, ढुकुटी खाट, अन्य ओछ्यान, आँगन पिँढीमा धेरै समानता। 

विवाहमा बाजा बजाएर जन्ती जाने चलन पनि रहेछ। वरवधुको पोसाक हेर्दा दुलहीको घुम्टो र लुगा चाहिँ ठ्याक्कै हाम्रो जस्तै हेरेर तस्बिर खिचिरहेका सहयात्रीद्वय ताराप्रसाद र संगीता गुरुङलाई मैले सोधेँ, ‘बिहेको याद आयो कि कसो हो तपाईंहरूलाई?’

संगीताले भनिन्, ‘हो नि दाइ, मैले त वहाँलाई बिहाअगाडि देखेकै थिइनँ। फोटो मात्रै त्यो पनि लुकिछिपी। उमेर नै कत्ति फरक छ हाम्रो। घरको धुरखामो समातेर बिहा गर्ने चलन अनुसार भएको मेरो बिहे त। त्यो बेलामा वहाँ त हङकङमा हुनुहुन्थ्यो। पछि वहाँ फर्केपछि कागजपत्र मिलाएर हङकङ आएको।’

कस्तो अचम्म आफ्नै देशको संस्कार, संस्कृति पनि चीनमा आएर पो थाहा पाइयो। 

‘बरु नेवारहरूमा दुलहीले सानैमा बेल विवाह गरेको चाहिँ देखे, सुनिएको थियो,’ मैले भनेँ। 

‘अझ हाम्रोमा त हुनेवाला दुलाहाको लुगा वा फोटो राखेर पनि बिहा गर्ने चलन छ,’ ताराप्रसाद गुरुङले थपे। 

‘आजकाल त विवाहअगाडि नै लिभिङ टुगेदर अनि लभ म्यारिजको फेसन छ। यस्ता कुरा सुन्दा अचम्मित हुँदै जिब्रो टोक्छन् नयाँ पुस्ता,’ मैले भनेँ। 

‘कमल दाइ, लभ न सब, तीस वर्ष भयो जिन्दगी आनन्दले हाँसिखुसी चलेकै छ,’ संगीताले भनिन्। 

हङकङमा जागिरे जीवन र समाजसेवामा लागेका यो जोडीका दुई छोरीहरूले हङकङको स्थानीय कलेजमा नेपाली समुदायको नाम उँचो राखेका छन्। 

नारायण भाइ नगरा बजाउँदै थिए। अरु साथीहरू ठूलाठूला टिम्बरलाई काठको चोके बनाएर दुई जनाले आरोले चिरेको, अनि रामो, रन्दा, करौँती र घन अनि माटाको भाँडाकुँडाका प्रदर्शनी हेरेर बाल्यकालकै अनुभूतिमा रमाइरहेका थिए। सहयात्री चिनियाँहरू भने यो परिवेशबाट नआएकोले अचम्म मान्दै, बुझ्दै गहिरो अवलोकनमा तल्लीन देखिन्थे। 

अब भने हामी म्युजियमबाट यहाँको ‘मेइ पास सम्पदा संरक्षण’ पार्कतिर लाग्यौँ। गेटमा ओर्लिएपछि करिब चालीस मिनेटको ढुङ्गा छापेको उकालो हुँदै चिङ, मिङ वा अन्य राजवंशको समयमा जियाङ्सी र ग्वाङदोङ प्रान्तको ऐतिहासिक सीमा प्रवेशद्वारमा पुगियो। गज्जबको प्राकृतिक दृश्य देखिँदो रहेछ सेरोफेरोको। 

नेपाल–चीन–तिब्बतको बार्टर सिस्टम कालकै लाग्ने यो समयको सेरोफेरोमा ढक–तराजु सहितको भन्सार चौकी पनि संरक्षण गरेर राखिएको रहेछ। दायाँबायाँ आलुबखडाका बगैँचा, संरक्षण गरेर राखिएका हजार पन्ध्र सय वर्ष पुराना रुखलाई मुसार्दै, ढोग्दै पुनः मुख्य गेटमा फर्कियौँ। 

गेटको बायाँपट्टिको घुम्ती पसलमा यहीँका स्थानीय अर्गानिक आलुबखडाबाट बनेका थरीथरीका अचार जस्ता परिकार देखाउँदै सिन्का हातमा दिएर चाख्न भनिन् चिनियाँ आमाले। 

हाम्रोमा बेचिने पाउ जस्तै कुनै निकै पिरो, कुनै गुलियो कुनै ठिक्कको स्थानीय परिकार जिब्रो फट्कारेर चाखेपछि केही त किनिदिनै पर्‍यो। नजिकै बोतलमा राखिएको महलाई मैले यो अर्गानिक हो कि होइन भनेर गाइड सिंक्लेयर मार्फत सोध्दा आमाले हो नि भन्दै खोलेको एउटा बोतलबाट मह निकालेर चाख्न दिइन्। मूल्य रहेछ एक सय आरएमबी। हङकङ डलर एक सय दसजति। 

मलाई बाल्यकालमा आमाले यसैगरी हत्केलामा मह राखिदिँदा चाटेको याद आयो। 

मैले यी आमालाई केहीबेर हेरेँ र सिंक्लेयरलाई आमाको उमेर कति हो भनेर सोध्न लगाएँ।

‘त्रिहत्तर वर्ष,’ उनले भनिन्। 

मैले एकसय बीस आरएमबी दिएर महको बोतल लिएँ। 

‘एकसय मात्र हो, किन बीस बढी दिएको?’

मैले आमालाई अलि बढी दिएको भन्दा पनि लिन मानिनन्। मैले करै गरेपछि लिन त लिइन् तर दुई पाकेट स्थानीय स्न्याक्स झोलामा जबर्जस्ती हालिदिइन्। 

‘यहाँका मानिसहरू परिश्रमको मूल्य मात्र लिन्छन् बढी वा टिप्स लिने बानीले मानिस अल्छी हुन्छ, अनावश्यक लोभ बढ्छ भन्ने मान्यता राख्छन्,’ सिंक्लेयरले व्याख्या गरे। 

यी आमाको जस्तै विचार आनीबानी हाम्रा देशका ‘बा’को प्रशासन र राजनीतिमा भइदिए कस्तो हुन्थ्यो देश? मनमनै गमेँ मैले। 

म बसमा फर्केर ल है अर्गानिक हनी एक सय आरएमबी भनेर सबैलाई बोतल देखाउँदै भनेपछि तीनचार जना साथीहरू ओर्लेर किन्न गए। इमानदार आमाको व्यापार बढेको देखेर म मनैदेखि खुसी भएँ। 

अनि हामी बस चढेर दिउँसोको खानाको लागि स्थानीय प्रदर्शनी हलको केन्द्रमा रहेको रेस्टुरेन्टतर्फ लाग्यौँ। 

‘दिस इज फर यु’ भन्दै परिकारहरूले भरिएको घुम्ने टेबुलमा भएको खुर्सानीको कचौरो म भएतिर घुमाइदिए सिंक्लेयरले। 

लन्चपछि हामी जाने जियाङ्सीको अर्को चर्चित अंग्रेजी वर्णमालाको वाइ आकारको यो डाँडा देखाउँदै गाइडले यसको नामाकरणबारे बताए– तपाईंहरूले चरा मार्न काठ र रबरको चिज प्रयोग गर्नुहुन्छ?

आँ गर्दा अलंकार बुझ्ने हामीले नेपाली नामाकरण गरिहाल्यौँ, ‘गुलेली पहाड’। 

‘ठ्याक्कै हङकङको लान्ताउ पिकको ठूलो प्रारूप,’ हङकङका अनुभवी पदयात्री नारायण भाइले थपे। 

घना जङ्गलको बीच दुई लेनको सफा पिच बाटो हुँदै बस उकालो लाग्यो। करिब एक घण्टामा दुई वटा थुम्काको बीचको भञ्ज्याङमा बस रोकियो। 

आँखाले नभ्याउने जियाङ्सीको दृश्य प्रकृति प्रविधि र विकाशको त्रिवेणी। सबै सबै क्यामरामा कैद गर्न मन लाग्ने। 

यहाँको स्काइ वाक चर्चित रहेछ। अर्थात् विशाल सिसाको प्यानलमा निलो आकाश र बादलको छाया, तल हेर्दा पैँतीस हजार फिटमाथि हवाइजहाजबाट पृथ्वी ग्रहतिर हेरेजस्तो। खसिन्छ कि जस्तो लागेर झसंग झसंग भइने। स्थानीय पर्यटकहरूको बाक्लो चहलपहल छ। 

नजिकै जंगलको अर्को करिब एक किलोमिटर सिसाको पुलबाट दृश्यहरू हेर्दै घुम्ने अर्को ठाउँ रहेछ तर यो त्यति धेरै अग्लो होइन।

घुम्दै गर्दा वाइ डाँडालाई कालो बादलले घुम्टो हाल्दै मेघ गर्जन सहित बिजुली चम्कन थालेपछि हामी बस चढ्यौँ। घनघोर वर्षा छिचोल्दै बस गुलेली पहाडको ओरालो झरेर हाम्रो दोस्रो दिनको बासस्थान ‘या सान टुरिजम रिसोर्ट एन्ड दालोङसान इकोलोजिकल होटल’मा आएर रोकियो।

बेलुकीको भोजनपछि मात्र रुम चेक इन गरिने भनेपछि भोजनालय तर्फ लागियो। 

विशाल ब्यांक्वेट हलका टेबुलहरू हामी लगायत अन्य पर्यटकहरूले भरिभराउ थिए। 

हलको विशाल स्क्रिनमा जियाङ्सीको स्थानीय इतिहास, संस्कार संस्कृति, खानपिन र पर्यटकीय स्थानहरूको डकुमेन्ट्री चल्दै थियो। 

उही दर्जनौँ जियाङ्सी परिकार घुम्ने टेबलभरि। हाम्रो चलनचल्तीको भाषामा ज्वाइँ मानेझैँ मानमनितो। 

रिसेप्सनले तयार गरेको चाबी लिएर कोठातिर लाग्यौँ। दुईतले रिसोर्टका ब्लकहरूको ठाउँठाउँमा काँक्रो, घिरौँला, खुर्सानी, तने बोडी फलेको देख्दा उहिलेका रछ्यान र मकैबारीको याद आयो। रुममा जान लाग्दा उहिले गाउँघरमा तल्लोघर, माख्लोघर हिँडेको अनुभूति हुने। 

उतिबेला पैताला नै जुत्ता मोजा हुन्थ्यो अर्थात् खाली खुट्टा उकालो ओरालो गरिन्थ्यो तर यहाँ भने जुत्तामोजामुनि पनि लचकदार कार्पेट र तीन वटा फरकफरक लिफ्ट चढेर रुममा पुगियो।

केही साथीहरू थकाइले सुते पनि विनय, नारायण, शैलेन्द्र भाइ र म स्विमिङ पुलतिर लाग्यौँ। 

स्विमिङ पुलको डिलमा उभिएर मास्तिर रिसोर्ट हेर्दा ठ्याक्कै धुलिखेलको ‘आगन्तुक’ रिसोर्टको याद आयो मलाई। बस त्यहाँबाट हिमाल हाँसेको देखिन्छ तर यहाँ भने पहाडहरू मात्रै। 

यो रिसोर्टबाट जियाङ्सी प्रान्तको कहीँकतै गाउँ सहरको बत्तीसम्म बलेको देखिँदैन। वनबाट चाहिने मात्रै चर्चेको छ रिसोर्टले। निहुरिरहेका बासका झाङ र उत्तिस, बकाइनो, काभ्रो जस्तो देखिने वृक्षहरू सहितको घना जङ्गलबाट एकनासले झ्याँउकिरी कराउँदै, थकाइ मार्दै फेरि कराउँदा अद्भुत आनन्द आयो हामीलाई। 

यस्ता पर्यटनका पूर्वाधारका होटल र रिसोर्टमा भने हाम्रो देश पनि निकै अगाडि छ। यस्तै खाले विकास निर्माण हाम्रो देशमा पनि भइदिए हुन्थ्यो भन्नुपर्ने अवस्था छैन यो क्षेत्रमा चाहिँ। स्वदेशका निजी उद्यमीहरू बधाईका पात्र छन्। 

यो स्विमिङ पुलको पानी यहीँको शुद्ध प्राकृतिक हो भन्ने सुनियो। नभन्दै हङकङ वा अन्य अरु सहरहरूको स्विमिङ पुलमा जस्तो क्लोरिनको गन्ध पटक्कै छैन। स्विमिङ र गफ बराबर गर्न थाल्यौँ हामी। 

साँझ छिप्पिँदै जाँदा धेरै समायान्तरपछि जुनतारा टहटह देख्न पाइयो आकाशमा। 

गुजुमुज्ज तारापुञ्ज देखाउँदै शैलेन्द्र भाइले भने, ‘यो सायद सप्तऋषि ताराहरू हुनु पर्छ।’ 

आमाहरूले त उहिले शुक्र उदायो बुध उदायो भन्नुहुन्थ्यो। आकाशमा ज्वाला बाल्दै केही समयपछि विलाउने तारा हेरेर हामी तारा पोइल गयो, तारा पोइल गयो भनेर आँगनमा उफ्रिन्थियौँ। 

यति लामो समयसम्म कसले, केले, किन रोकेको छ हामीलाई यति सुन्दर प्रकृतिसँग साक्षात्कार हुन? हामीले आफैँलाई प्रश्न गर्‍यौँ। अब हङकङ फर्केको भोलिपल्ट देखि पुनः दौडादौड, भागाभाग, भ्याइनभ्याइ बस। 

अलि चिसो बढ्दै गएपछि विनय भाइले कफीसपमा गएर कफी पिउने मनसाय राखे। निकै ढिलोसम्म कफी पिएर गफ गर्दै आआफ्नो कोठातिर लाग्यौँ। 

सिसाको ढोका खोलेर जाली ढोकामा मात्र चुकुल लगाएर सुत्दा सिमसिमे झरी र किराहरूको आवाजले पचास वर्षअघिको धादिङ केवलपुर गाउँको अनुभूतिमा रमाएँ म। 

यस्तै मौसममा आमाले म सुतेपछि झुल कसिदिनुहन्थ्यो। कतै झुक्किएर छिरेको लामखुट्टेले टोकेको फोकोहरू भोलिपल्ट बिहान निधार हात खुट्टामा देख्दा ल हेर भसक्कै टोकेछ लामखुट्टेले, यसलाई त भन्दै दिउरेमा तताएको तेल लाइदिने आमाका हातहरू सम्झनामा मात्रै भएको पच्चीस वर्ष नाघेछ। 

बिहानको वेकअप कलभन्दा पहिला झुल्के घामसँगै कोठको बाल्कोनीको डिलमा बसेका चराहरूले बिउँझाइ दिए। तयार भएर तल ओर्लेको अलि चाँडो भएछ। बसमा लगेज राखेर नारायण भाइ र म मर्निङ वाक गर्दै सेरोफेरो चाहर्‍यौँ करिब पैँतालीस मिनेट। 

ब्रेकफास्ट बफेमध्ये ठ्याक्कै मासको फुरौलाले जस्तै परिकार र उही स्वादले माघे संक्रान्तिको सम्झना गरायो हामी सबैलाई। 

अब भने तेस्रो दिनको यात्राको लागि हामी पूरै जियाङ्सीलाई मन र आँखाभरि राख्दै अर्को छिमेकी प्रान्त ग्वाङदोङतर्फ लाग्यौँ। 

करिब पौने तीन घण्टाको यात्रापछि बस ग्वाङदोङ प्रान्तको पुरातात्त्विक ऐतिहासिक ‘तोङगिययान रक बुद्धिस्ट गुफा’ स्थलको मूलद्वारमा आएर रोकियो। 

करिब हाम्रो कीर्तिपुर आकारको तर सानो, बिल्कुल फुस्रो रातमाटो रङको विशाल ढुङ्गे पहाड। भित्रभित्र प्राकृतिक र मानव निर्मित हिँड्ने सुरुङ नै सुरुङ। बुद्ध र उनका शिष्यहरूका दर्जनौँ स्वरूप ढुङ्गामा कुदिएका र कालीगढले बनाएका। बुद्ध दर्शन सम्बन्धी पुस्तकालय र ऐतिहासिक सामग्री पनि सुरक्षित साथ राखिएको। हिँड्दै जाँदा पहाडको ककेरामा ढुङ्गामै कुँदिएको सुतेको करिब साठी फिटको विशाल बुद्ध मूर्ति रहेछ।

चीन पनि कुनै समय हाम्रो बाइसे चौबीसेभन्दा धेरै ससाना राज्यमा विभाजित थियो। त्यहाँका चिङ मिङ र अन्य वंशीय शासकहरूले आआफ्ना शासनकालका यी गुफाका भित्ताभित्तामा आआफ्ना शासनकालका आफ्ना नाम लेखेका थुप्रै शिलालेखबारे सिंक्लेयरले बताए। 

‘हाम्रा केपी बाजस्तै रहेछन् त्यो बेलाका यहाँका शासकहरू पनि, शिलालेखमा नाम लेखाउन मरिहत्ते गर्ने। ठेकदारलाई आठौँ पटक म्याद थपेको धरहराको काम बल्ल अहिले पचासी प्रतिशत सकियो भन्छन् तर दुई वर्ष पहिल्यै उद्घाटन ठोके बुढाले,’ शैलेन्द्र भाइले भने। 

‘केपी मात्रै हैन के बाबु, उस्तै परे देउवा र आरजुले कांग्रेसको प्रधानमन्त्री भएपछि मात्रै थानकोट सिस्नेखोला सुरुङमार्ग उद्घाटन गर्न पर्छ भनेर रोक्न बेर छैन,’ पुरनजीले झटारो हाने। 

‘यो मामलामा त झन् प्रचण्ड अझै अग्रगामी। मेलम्ची नै प्रधानमन्त्रीदेखि अन्य ठूलाबडाले पाँचचोटि उद्घाटन गरेको भनेर गुगल गुरुले नै देखाउँछन् त,’ विनय भाइले थपे। 

वास्तवमा यो सहयात्राको अर्को रमाइलो पक्ष नै हामीबीचको स्वस्फूर्त हास्य वार्तालाप। यिनै गफ तान्दै यो प्रातःकालीन भ्रमणपछि हाम्रो यात्राको अन्तिम र तेस्रो बासस्थान होटल फिनिक्समा आएर बस रोकियो। 

होटल चेक इनलगत्तै फेरि लन्च। कहिलेकाहीँ पटकपटक खाना खाँदा कस्तो सुत्केरीले झैँ तीनचार छाक खाना खाइयो आज भनिन्थ्यो। 

यहाँ यस्तै फेरि घुम्ने टेबुलभरि ग्वाङझाउका तरह तरहका डिसहरू। अब हङकङ गएपछि डाइटिङ गर्ने भन्दै लामो हात गर्‍यौँ सबैले। 

खानापछि केहीबेर विश्राम गरेर अन्य ऐतिहासिक धरोहरहरूको यात्रातर्फ बस अगाडि बढ्यो। 

हाम्रो पाटन दरबार स्क्वायर जति ठूलो ‘मे फ्यामिली म्यान्सन’ प्राचीन चिनियाँ शिल्पशैलीको केन्द्र रहेछ।

उनै हाक्का समुदायको निजी जीवन, संस्कार, संस्कृति खानपानबारेको करिब चारसय वर्ष पुरानो यो संरचनामा खासगरी उतिबेलाको शिक्षा, स्वास्थ्य, सामाजिक वा निजी जीवनयापन र प्रविधिबारे बुझ्न सकिन्छ। 

हाम्रो जस्तो सानो आँखिझ्याल आकारको चौकोसभित्रको डण्डीमा गुच्चा वा रिठ्ठा जस्ता वस्तुहरू तलमाथि सारेर हिसाब गरिने पुरानो प्रविधि हङकङका पुराना बन्धकी पसलमा समेत अझै देख्न सकिन्छ। 

एउटा बोर्डमा हाक्काहरू संसारका कति देशमा कसरी फैलिएका छन् भन्ने चार्ट बनाइएको रहेछ। 

पूर्वी एसिया, अफ्रिका, दक्षिण अमेरिका, भारत, श्रीलंका लगायत नेपालमा पनि बाह्रौँतेह्रौँ शताब्दीताक आएका हाक्का जाति ०.०२ प्रतिशत छन् भन्ने देख्दा हामी अचम्मित भयौँ। नेपालमा यिनीहरूका पछिल्लो पुस्ता को होलान् त? आपसमा अनेक तर्कना गर्‍यौँ। हङकङ आएपछि पनि यसबारे जिज्ञासा राख्दा यी हाक्काहरू नेपालका गुरुङहरूमध्येको भएको एक मानवशास्त्रीले बताएको मित्र कुलप्रसाद गुरुङले सुनाए।

यो सम्पूर्ण महल हाक्का समुदायकै एकजना ग्वाङदोङबासी अर्बपतिले पुनर्निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेका रहेछन्। यसको नजिकै उतिबेला नदीमा पानीको सतह घट्दा र बढ्दा कम पर्यावरणीय असर हुनेगरी ढलनिकास र खानेपानी आपूर्तिसम्बन्धी इन्जिनियरिङ संग्रहालय पनि निकै रोचक लाग्यो। 

हामी पुनः बस चढेर अर्को भ्रमण स्थल ‘जिनसाङ सोङचेङ हिस्टोरिकल एन्ड कल्चरल टुरिजम एरिया’को प्रवेश द्वारमा ओर्लियौँ। 

करिब एक घण्टा लाग्ने रहेछ पूरै घुम्न। 

सायद हाम्रो टुँडिखेलभन्दा पनि दोब्बर क्षेत्रफल हुनुपर्छ। बसन्तुरको नौतले वा तलेजु भवानी जस्तै पगोडा शैलीको चारवटा फरकफरक कोणमा निर्मित ऐतिहासिक धरोहरलाइ ग्रेट वाल शैलीको ठूलो फराकिलो ढुङ्गे पर्खालले जोडेको रहेछ। 

सबैभन्दा गज्जब त पहिलो दिन देखेको दोङजियाङ नदीको मुहानको मूल र खोला यहाँ आइपुग्दा नारायणी नदीजत्रै देखिने तर पानी भने निलो र सफा। 

पहिलो ऐतिहासिक घरको माथिल्लो तलाको बाल्कोनीबाट यहाँ दोङजियाङ नदीमा अरु दुईवटा नदी मिसिएको त्रिवेणी हेर्नेहरूको भिड लाग्ने रहेछ। 

यी अग्ला घरहरूका कुनाकुनाबाट उतिबेला दरबारको सुरक्षाको लागि चौबीसै घण्टा सैनिकहरूले निगरानी गर्ने रहेछन्। करिब तीस फिट अग्लो घेरिएको पर्खालको माथिल्लो भागको पैदलमार्गको बाहिरतिर बन्दुक वा हतियार तेर्स्यएर कसरी सुरक्षा कवच बनाइन्थ्यो भन्ने शिलालेखलाई सिंक्लेयरले अंग्रेजीमा अनुवाद गरेर सुनाए। 

पृथ्वीनारायण शाहले बनाएका नुवाकोटको सात तले दरबार सम्झेँ मैले। त्यसमा पनि बाहिरबाट भित्र केही नदेखिने तर भित्रबाट बाहिरी गतिविधि पूरै देखिने यस्तै प्रविधिको प्रयोग छ। 

रुख र भवनका छानामा उफ्रिरहेका बाँदरको गतिविधिले स्वयम्भू र पशुपतिको याद आउने। यसरी करिब सवा घण्टामा चारवटा तलेजुको बुइँगलसहित मिनी ग्रेटवाल हिँडेर दोङजियाङ नदीको किनारामा ओर्लियौँ। 

परम्परागत फ्लोटिङ अर्थात् तैरिने पुललाई उस्तै देखिनेगरी आधुनिक प्रविधिले पुनर्निर्माण गरिएको। पन्ध्र मिनेटमा हिँडेर वारपार गर्दै तस्बिर लियौँ हामीले।

सूर्यास्तले दोङजियाङको निलो शान्त सतहमा पहेँलपुर लाली छरिरहँदा करिब चार सय वर्ष पुरानो ऐतिहासिक बस्तीमध्येको एउटा भुइँतले घरमा हाम्रो यात्राको अन्तिम डिनरको लागि हामी टुर गाइडको झण्डाको पछिपछि लाग्यौँ। 

भक्तपुर वा पाटनका दरबार स्क्वायर, गल्ली र चोकहरूजस्तै ठाउँहरू पार गरेर रेस्टुरेन्ट पुग्दा उही ऐतिहासिक युगमै छौँ कि भन्ने सोचाइलाई टेबुलभरि पस्केका आधुनिक जियाङ्सी खानाका परिकारहरूले भने बिर्साइदिए। 

खानपिनपछि यहाँको चर्चित नाइट मार्केट अर्थात् रात्रिकालीन बजारको भ्रमण तालिका थियो। नयाँ प्रविधिले बनाइएको तर हेर्दा उही पुरानै चौधौँपन्ध्रौँ शताब्दीको जस्तो लाग्ने डिजाइन र सेरोफेरो। 

ठ्याक्कै हङकङको बिग बुद्ध थ्रिसिक्टी नोम्पिङ केबलकारको बिसौनीको सेरोफेरोको बजारको याद आयो हामीलाई। 

धेरै नै युवायुवतीको चहलपहल। खासगरी परम्परागत पोसाक भाडामा लगाएर अनि त्यही परिवेशको शृंगार गरेर फोटो सेसनको लागि प्रसिद्ध रहेछ यो बजार। 

हाम्रा समूहका कुनै पनि चिनियाँ महिलाहरूले यो मौका छुटाएनन्। दुई सय पचास आरएमबीमा महिलाहरूलाई तीनचार सय वर्ष पहिलाका राजकुमारी जस्तो बनाइदिने। जुन पुराना कथा कहानीमा आधारित चिनियाँ चलचित्रहरूमा पनि हेर्न सकिन्छ। 

यसरी व्यस्त दिनको रमाइलो भ्रमण तालिका पूरा गरेर होटलमा फर्कियौँ। 

भोलिपल्ट बिहानै उही बफे ब्रेकफास्टपछि ‘चिनियाँ क्यारेक्टर पार्क’ मा अध्ययन भ्रमणको सूची थियो। खासगरी पुतोङ्वा भाषाका सुरुआतकर्ता र त्यसलाई दस्तावेजीकरण गर्ने दुई ऐतिहासिक पात्रहरूको विशाल मूर्ति स्थापना गरिएको रहेछ। हाम्रो काठमाडौ बसन्तपुर जस्तै छापिएका ढुङ्गाहरूमा सबै क्यारेक्टर अर्थात लिपी अक्षरहरू हातले कुँदिएको। निकै ठूलो क्षेत्रमा पदमार्ग र त्यही समयका लाग्ने कलाकृति र अवलोकनस्थल रहेछ।

यस्ता खाले पुरातात्त्विक ऐतिहासिक र प्राकृतिक सम्पदामा भने हामी पनि कम छौँ जस्तो लाग्दैन। भूकम्पपछिका हाम्रा कयौँ सम्पदा पुनर्निर्माण र मर्मतसम्भारमै चीन सरकारले सहयोग गरेको छ। उनीहरूको देशमा त नहुने कुरै भएन। 

त्यसपछि हामीलाई बिदाइ दिवाभोजको लागि ग्वाङदोङको स्थानीय प्रसिद्ध भोजनालयमा लगियो। 

हरेक दिन स्थानीय परिकार भए पनि स्वाद र साजसज्जा भने फरकफरक। बाँसको नाङ्गलोमा पस्किएको माछा विशेष लाग्यो यो दिन।

यसरी दिउँसोको खानापछि पुनः ग्वाङदोङको स्पिड ट्रेन बिसौनीतिर बस गुड्यो। बस ड्राइभर र जियाङ्सीको स्थानीय टुर गाइड भाषा नबुझे पनि हामीसँग झ्याम्मिएका उनीहरूको हाउभाउ र मुखाकृतिले जनाउँथ्यो। 

हामी नेपाली समूहले दामासही रकम उठाएर उनीहरूलाई दिँदै हात मिलाएर बिदा भयौँ। 

द्रूत रेलले उही सवा दुई घण्टामा सेन्जानको ‘ल उ’ बोर्डरमा छोडेपछि अविस्मरणीय यात्राको लागि मूल आयोजक मिस सार्लोट र पथ प्रदर्शक सिंक्लेयरलाई धन्यवाद दिँदै हामी अध्यागमन पार गरी घड्क घडक् घडक् घडक् गर्ने रेल चढेर हङकङतर्फ लाग्यौँ। 

घरको ढोकाको साँचोको आवाजसँगै छोरी काया दौडिएर झोला समाउन आइन्। 

यसपालिको गर्मी बिदादेखि आफै पकाएर खान सिकेकी उनको कुकिङलाई आवश्यक पर्ने सरसामानमध्येको एक मह देखाउँदै टेबुलमा राखिदिएँ। 

खुसी हुँदै थ्याङ्क यु ड्याड! वाउ हनी भनिन्। तर नो लेबल, नो नेम, नो एक्स्पायरी डेट भन्दै प्रश्न गरिन् तुरुन्तै। 

मैले भनेँ, ‘छोरी यो त फयाक्ट्रीमा बनेको हैन नि, घरमा बनेको।’ 

अनि मैले ती बेच्ने आमालाई मूल्यभन्दा बीस बढी दिन लाग्दा नलिएर कर गरेपछि मात्रै लिएको अनि तुरुन्तै दुईवटा जियाङ्सी स्न्याक्स सित्तैमा जबरजस्ती झोलामा हालिदिएको सविस्तार भनेपछि मात्र उनले कुरा बुझिन् र विश्वास गरिन्। 

सङ्लो महको बोटल र स्न्याक्सका पोकासँगै मैले जियाङ्सीकी त्रिहत्तर वर्षीया आमाको हँसिलो स्वावलम्बी अनुहार झलक्क सम्झेँ र मनमनै नमन गरेँ फेरि। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .