बेलायतमा सम्पन्न ‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को उपाधि कृष्ण थापा मगरलाई

बेलायतमा सम्पन्न ‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को उपाधि कृष्ण थापा मगरलाई

मगेन्द्र राई
जेठ १३, २०८१ आइतबार ८:१९, बेलायत

बेलायत (यूके) मा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एकदिवसीय ‘स्प्रिङ टेनिस टुर्नामेन्ट २०२४’ को प्रमुख उपाधि कृष्ण थापा मगरले जितेका छन्। त्यसैगरी भेटेरन्सतर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारेका छन्।

शनिबार (मे २५) अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन तर्फको फाइनल खेलमा थापाले शीर्ष वरीयताका तारामान गुरुङलाई ४–६, ६-३, ६–४ सनसनीपूर्ण खेलमा  पराजित गर्दै उपाधि हात पारेका हुन्। खेल करिअरमै थापाले फाइनलमा गुरुङलाई पहिलोपल्ट हराएका हुन्।

विजेता कृष्ण थापा मगर

पहिलो सेट डाउन हुनु भो, तर दोस्रो सेटमा कमब्याक हुनु भो, धेरै पटक फाइनलमा भिडन्त भए पनि यो तपाईंको पहिलो जित हो, यो खेलमा कुनै स्ट्राटेजी, ट्याक्टिस र गेम प्लान पनि थियो कि? जित्छु भन्ने कतिको आत्मविश्वास थियो भनी नेपालखबरको जिज्ञासामा थापाले भने, ‘हामीले धेरैपटक फाइनल खेलिसकेका छौ, हामी दुवैले एकआपसको स्ट्रेन्थ र विकनेसबारे जानकार छौँ, यो फाइनल खेलमा मेरो केही ट्याक्टिस र गेम प्लान थियो, जसलाई मैले भरपूर उपयोग गरे, जसले जित निकाल्न सम्भव भयो। दोस्रो सेट हात पारेपछि थप आत्मबल बढ्यो, र जित्न सफल भएँ। धेरै पटकको प्रयासमा पहिलो पटक तारामानलाई जित्नु मेरा लागि विशेष भएको छ।’

उनले ठट्यौली भाषामा थपे, ‘सायद यो मेरो उहाँविरुद्ध पहिलो र अन्तिम  जित पनि हुन सक्छ।’

फाइनल खेल बेस्ट अफ थ्री प्रो सेटको  फर्म्याटमा खेलाइएको थियो।

विजेता थापा बेलायती सेनाका पूर्वखेलाडी हुन् भने गुरुङ बहालवाला बेलायती सेना हुन्। उनी नेपालका पूर्व राष्ट्रिय टेनिस खेलाडी हुन्।

त्यसैगरी ओपन बीतर्फ नेइल पुनले अजित गुरुङलाई  सोझो सेटमा हराए। 

त्यसैगरी भेटेरन ४५ वर्ष माथितर्फ मीन पुनले खुम थापालाई हराए भने ५५ वर्ष माथिको मास्टर्स समूहमा पञ्च पुनले नवराज गुरुङलाई जिते।

त्यसैगरी वुमन्स सिङ्गल्सतर्फ रितु गुरुङले नविना गुरुङलाई हराइन्। पोखराकी रितु  पूर्व राष्ट्रिय खेलाडी हुन्।

त्यसैगरी भेटेरान्स डबल्स तर्फ सुवास पुन र देउ देवानको जोडीले उपेन राई र प्रशान्त तामाङको जोडीलाई हरायो भने भेटेरान्स बीतर्फ रुद्र गुरुङ र राजु गुरुङको जोडीले भीष्म गुरुङ र सुलभ गुरुङलाई जित्यो। 

प्रतियोगितामा ८० नेपाली टेनिस खेलाडी सहभागी भएका थिए। 

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका महासचिव सरोज राईले ट्रफी प्रदान गरे। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

क्लबले हरेक वर्ष ‘स्प्रिङ’, समर, औटम र विन्टर गरी प्रमुख चार प्रतियोगिता आयोजना गर्ने गरेको छ।

क्लबले आगामी जुलाई ६ मा कोल्चेस्टर स्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा ‘समर टुर्नामेन्ट’ गराउने  क्लबका महासचिव मेजर सरोज राईले नेपालखबरलाई जानकारी गराए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .