झन्डै डेढ दशकदेखि हङकङमा बसोबासरत मार्सल आर्ट खेलाडी सुर्जन टिजीले आफू अभिनित ‘छोए हुन्थ्यो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्।
हालै सार्वजनिक गीतमा स्वर, शब्द, संगीत र कम्पोज सन्तोष सुनारको छ। मन्जिलविक्रम केसीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडिओ सौरभ लामिछानेले छायांकन, सम्पादन र निर्देशन गरेका हुन्।
रैला प्रोडक्सनाको ब्यानरमा निर्माण भएको म्युजिक भिडिओको निर्माता सुर्जन आफैँ हुन्।
भिडिओमा सुर्जन र अशिम रानाभाटको अभिनय छ। जनकपुर, सिन्धुली, चितवन, निजगढ, पोखरा, चित्लाङ, कालिञ्चोक आदि सुन्दर स्थलमा १६ दिन लगाई छायांकन गरिएको म्युजिक भिडिओ झन्डै १० लाख रुपैयाँ लागतमा निर्माण भएको हो।
भिडिओमा नेपालका विभिन्न ठाउँमा घुमफिर गर्ने दुई प्रेमी–प्रेमिकाको यात्रालाई रोमान्टिक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
एकअर्काको सुखदुःख, हासो, खुसी, माया र समर्पण सुर्जन र अशिमले जीवन्त रूपमा प्रस्तुत गरेका छन्। वियोगान्तमा टुंगिएको भिडिओ मर्मस्पर्शी छ।
तेक्वान्दोमार्फत हङकङ, मकाउ र कोरियामा पदक जितिसकेका सुर्जनले हङकङमा राष्ट्रिय स्तरका ठूल्ठूला कार्यक्रममा समेत उत्कृष्ट ‘डेमो’ प्रदर्शन गरी चिनियाँहरूको मन जितेका छन्।
तेक्वान्दोको खेलाडी भएर कसरी अभिनयको मात चढ्यो भनी नेपालखबरले राखेको जिज्ञासामा सुर्जनले भने, ‘म थाइल्यान्डका एक्सन हिरो टोनीबाट प्रेरित भएको हुँ। उनी पनि तेक्वान्दो, जुडो, उसु, मुए थाईलगायतका खेलाडी थिए, उनको फाइट स्टन्ट देख्दा म रोमाञ्चित हुन्थेँ, अनि उनको नक्कल गर्थेँ। खासमा म नेपाली फिल्म जगत्मा टोनी जाजस्तै एक्सन हिरो हुन चाहन्छु।’
हङकङ बसे पनि नेपाली चलचित्र क्षेत्रमा केही गर्ने सुर्जनको चाहना छ। भविष्यमा आफ्नै प्रोडक्सन हाउस खोलेर नेपाली दर्शकलाई नया स्वादका चलचित्र पस्कने योजना रहेको उनले बताए।
हेर्नुहोस् ‘छोए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ–
प्रतिक्रिया