नेपाली युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न इन्टरनेशनल युथ आन्ट्रप्रेनर्स समिट हुने भएको छ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को आयोजनामा हङकङमा २ दिने सम्मेलन हुन लागेको हो।
नोभेम्बर २९ र ३० मा मार्कोपोलो हङकङ होटलमा हुने कार्यक्रममा विश्वभरबाट १५० देखि १७० जना युवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
जसमा १०० देखि १२० हङकङका उद्यमी र करिब ४० जना अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, मकाउ, मध्यपूर्वलगायतबाट सहभागी हुँदै छन्।
कार्यक्रमको व्यवस्थापन गर्ने उद्यमी महासंघ हङकङका अध्यक्ष इन्दर पुनले नेपाल वा हङकङबाट प्रमुख अतिथिको रुपमा मन्त्री सहभागी हुने जानकारी दिए।
‘नेपाली युवा उद्यामीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो’, अध्यक्ष पुनले भने, ‘१० देखि १४ वटा छलफल सत्र सञ्चालनको योजनामा छौँ।’
‘नेपाली उद्यमीको सशक्तीकरण : नवप्रवर्तन, सहकार्य र सफलता’ भन्ने नारामा कार्यक्रम सञ्चालन हुने उनले बताए।

कार्यक्रमको मुख्य वक्ताको रुपमा नेपालको एफवान सफ्टका विश्वास ढकाल, डोल्पा इम्प्याक्ट फन्डका प्रबन्धनिर्देशक विद्यावारिध सिग्देल, ग्लोबल इक्विटी फन्डका संस्थापक डा. मनिस थापा, फिनटेक एलाइन्स नेपालका संस्थापक सञ्जीव सुब्बा, पोलिटेक्निक युनिभर्सिटी हङकङका एसिस्टेन्ट रिसर्च प्रोफेसर रोशिस कृष्ण श्रेष्ठ, डायस्पोरा र वैदेशिक लगानीको विषयमा सम्बोधन गर्न डिला खरेल आउने निश्चित भइसकेको पुनले जानकारी दिए।
कार्यक्रम सञ्चालन र सेसन मोडरेटरको रुपमा दीपमाला ढकाल, सुरेश थापा, सोयना ढकाल, अन्जु घिसिङ लगायत रहनेछन्।
महासंघ विश्वभर रहेका नेपाली युवा व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन हो।
महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाह छन् भने १९ जना कार्यसमिति सदस्य छन्।
Shares

प्रतिक्रिया