हङकङमा साइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या दोब्बर भएपछि साइकलयात्रीले हेलमेट लगाउनुपर्ने नियम कार्यान्वयनमा ल्याउन पुन: प्रयास थालिएको छ। यसका लागि प्रहरीले यातायात अधिकारीहरूसँग परामर्श थाल्ने भएको हो।
प्रहरी आयुक्त रेमण्ड सिउले यस वर्षको पहिलो आठ महिनामा ट्राफिक दुर्घटनामा मारिने साइकलयात्रीको संख्या अघिल्ला वर्षहरूको तुलनामा दोब्बर भएको बताए। यसै हप्ता आयोजित एक कार्यक्रममा बोल्दै आयुक्त सिउले यस वर्षको पहिलो आठ महिनामा साइकल दुर्घटनाको संख्या अघिल्ला वर्षहरूको तुलनामा ७ प्रतिशतले घटेर १ हजार १०५ पुगेको तर मृत्युदर भने चारबाट बढेर आठ पुगेको बताए।
उनका अनुसार दुर्घटनामा मारिएका आठ साइकलयात्रीमध्ये ६ जनाले हेलमेट लगाएका थिएनन्। ‘साइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन यातायात विभागसँग सहकार्य गर्नेछौँ,’ उनले भने।
यातायात विभागले सन् २०२२ मा साइकल चलाउँदा सडक दुर्घटना बढेको भन्दै साइकल चालकले हेलमेट अनिवार्य लगाउने विषयमा विचार गरिरहेको बताएको थियो। (एससीएमपी)
Shares

प्रतिक्रिया