नेपाली भाषा, कला, संस्कृति र परम्परा जोगाउन बेलायतमा ‘प्रतिभा नक्षत्र’ (३६ तस्बिर)

इभाना न्यौपाने र सुयाज्ञा केसीले जिते प्रतियोगिता
नेपाली भाषा, कला, संस्कृति र परम्परा जोगाउन बेलायतमा ‘प्रतिभा नक्षत्र’ (३६ तस्बिर)

मगेन्द्र राई
भदौ ४, २०८२ बुधबार १०:२७, बेलायत

‘आजको प्रतियोगिता जित्नुभयो भने तपाईंको भूमिका र जिम्मेवारी के हुनेछ?’

बेलायतलाई कर्मथलो बनाइरहेका नेपालीहरूद्वारा आयोजित ‘प्रतिभा नक्षत्र’ प्रतियोगितामा गरिएको उक्त प्रश्नको सही जवाफ दिई युवा क्याटेगोरीतर्फ इभाना न्यौपाने र बाल क्याटेगोरीतर्फ सुयाज्ञा केसी विजेता बनेका छन्। 

बेलायतको राजधानी लन्डनको दक्षिण-पूर्वमा पर्ने वुलविचस्थित सेन्ट जोर्ज्स ज्यारिजन चर्चको हातामा यही अगस्ट १७ मा आयोजित प्रतियोगितामा युवातर्फ मत्सु सानु मगर र डाइमन्ड मगर क्रमशः दोस्रो र तेस्रो बने भने बालतर्फ आर्शिया भट्टराई र सुमिना इस्बो लिम्बु क्रमशः दोस्रो र तेस्रो बनेका छन्। 

युवातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः  ७ सय, ६ सय र ५ सय पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र हात पारे भने बालतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ सय, ४ सय र ३ सय पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

बाल क्याटेगोरीतर्फ  ६-११ वर्षका बालबालिका तथा युवा क्याटेगोरीमा यसभन्दा माथि १९ वर्षसम्मका धेरै जना बालबालिका र किशोर-किशोरी सहभागी भएका थिए। उनीहरूले नेपाली गीत, स‌ंगीत, नृत्य, साहित्य, कला, चित्रकलालगायत विधामा आफ्नो कला प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रतिभा भिलेज र नेपाली एक्पो गरी प्रमुख दुई आकर्षण पनि थिए। प्रतिभा भिलेजअन्तर्गत नेपालको झल्को दिने प्रवेशद्वार, नेपाली परिकार, खेल, मौलिक बाजा, परम्परागत डोको, नाङ्लो, ढिकी, जाँतो, विभिन्न नेपाली चाडपर्वमा नाचिने सांस्कृतिक नाच, विभिन्न जातजातिका मौलिक पहिरनलगायत प्रदर्शन गरिएका थिए।

साथै स्वस्थ वातावरणजस्ता चेतनामूलक कार्यक्रम पनि आयोजना गरिएका थिए। जसबाट नेपाली मात्र नभएर विदेशी नागरिकले समेत नेपालबारे जान्नेबुझ्ने मौका पाएका थिए।

नेपाली एक्पोमार्फत विषेशगरी नेपाली अर्गानिक खाद्यान्न, लत्ताकपडा, मौलिक गरगहना, पोसाकको बिक्री तथा प्रवर्द्धन गरिएको थियो। प्रदर्शनीमा ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ नारा तय गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य नेपाली भाषा, कला, संस्कृति, परम्परा संवर्द्धन र संरक्षणका लागि विश्वभर छरिएर रहेका नेपालीलाई एक सूत्रमा बाँध्ने तथा विदेशी भूमिमै जन्मिएका नयाँ पुस्तालाई नेपाली विरासत हस्तान्तरण गर्न त्यस्ता गतिविधि गर्ने गरिएको कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खसले नेपालखबरलाई बताए।

हरेक वर्ष जनसहभागिता बढ्दै गएकाले उत्साह अझ बढ्दै गएको सुनाउँदै उनले अझ धेरै कुरा गर्न बाँकी रहेको बताए। 

सन् २०१७ देखि गर्न थालिएको उक्त कार्यक्रमलाई ब्रान्डिङ गर्दै विश्वभर फ्रेन्चाइजका रूपमा विकास गर्ने योजना रहेको कार्यक्रम संयोजक खसले जानकारी दिए।

कार्यक्रममा घरेलु तथा साना उद्योगका प्रतिनिधि, बेलायतमा सक्रिय विभिन्न संघसस्थाका प्रतिनिधि, लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

हेर्नुहोस् कार्यक्रमका तस्बिरहरू:

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .