मंगलबार हङकङ विमानस्थलको प्रतिबन्धित क्षेत्रभित्र चालकविहीन सटल बसले विमान टो ट्रयाक्टरलाई ठक्कर दिएको छ।
मङ्गलबार दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनाका बेला बसमा यात्रु थिएनन्।
विमानस्थल प्राधिकरणका अनुसार, एक ड्युटी अफिसरको गल्तीले उक्त दुर्घटना भएको थियो। उनले भुलबस बसलाई गुड्नका लागि निर्देशन दिएका थिए, जसको परिणामस्वरूप एप्रोनको ड्राइभिङ लेनमा रोकिइराखेको टो ट्रयाक्टरको पछाडि ठोकिन पुगेको थियो।
प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार, टो ट्रयाक्टर तोकिएको स्ट्यान्डमै पार्क गरिएको थियो तर यसको पछाडिको भाग ड्राइभिङ लेनमा निस्किएको थियो।
ठक्करपछि बसको सेन्सरले अवरोध पहिचान गरी प्रोटोकल पछ्याउँदै, एकीकृत विमानस्थल केन्द्रलाई अलर्ट गरेको थियो।
यो सँगै विमानस्थलमा दुई महिनाको बीचमा दुई पटक चालकविहीन बस दुर्घटनामा परेको छ। यसअघि पनि दुई चालकविहीन बस प्रतिबन्धित क्षेत्रभित्रको टी जक्सनमा ठोकिएका थिए। त्यतिबेला पनि बसभित्र यात्रु भने थिएनन्।
दुर्घटनापछि त्यतिबेला केही समयको लागि सञ्चालन नै निलम्बन गरिएको थियो।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले चालकविहीन सवारी साधन लागू गर्ने विश्वको पहिलो र एक मात्र विमानस्थलको रूपमा मान्यता पाएको छ। यो प्रविधि सामान र कार्गो ढुवानी, सुरक्षा गस्ती र कर्मचारीहरू ओसारपसार जस्ता कार्यको लागि प्रयोग गर्ने गरिएको छ।
हाल यहाँ ४७ चालकविहीन ट्रयाक्टर, ८ चालकविहीन गस्ती सवारी साधन र ६ चालकविहीन सटल बस सञ्चालित छन्।
Shares

प्रतिक्रिया