बीएनओ : हङकङवासी नेपालीलाई कति फाइदा?

बीएनओ : हङकङवासी नेपालीलाई कति फाइदा?

मगेन्द्र राई
माघ १७, २०७७ शनिबार १०:४५,

सुपुर्दगी विधेयकको बहानामा हङकङमा सन् २०१९ मार्चमा हिंसात्मक प्रदर्शन सुरु भयो। आन्दोलनकारीले चीनको झन्डा जलाउँदै र बेलायत र अमेरिकाका झन्डा फहराउँदै हङकङ स्वतन्त्रताको माग गरे। उनीहरूले सडक, भवन भत्काउने, आगो लगाउने, विरोधीलाई कुटपिट गर्ने र जिउँदै जलाउनेजस्ता आपराधिक गतिविधिसमेत गरे।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि चीन (बेइजिङ) ले २०२० जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन लागू गर्‍याे। 

‘के निहुँ पाउँ, कनिका बुकाउँ’ भनेजस्तो बहाना मिल्यो, बेलायतलाई। त्यसपछि चीनले हङकङको प्रजातान्त्रिक आन्दोलन ध्वस्त पारेको र स्वतन्त्रता अपहरण गरेको, चीन-बेलायतको संयुक्त घोषणापत्र उल्लंघन गरेको जस्ता आरोप लगाउँदै उसले ३० लाख ब्रिटिस नेसनल ओभरसिज (बीएनओ) धारी र तिनसँग आश्रित गरेर झन्डै ५४ लाख हङकङेलीलाई सजिलै बेलायत जाने ढोका खोलिदियो।

बेलायतको यस्तो निर्णयले हङकङमा बसोबास गरिरहेका झन्डै ४० हजार नेपालीसमेत यतिबेला बिलखबन्दमा परेका छन्। बेलायत जानबाट रोकिएका यहाँका नेपाली यो अवसर उपयोग गर्न चाहन्छन्।

नेपालीलाई कति फाइदा? 
बेलायत सरकारले हङकङका ५४ लाख बासिन्दालाई आफ्नो देश बसोबास गर्ने सजिलो बाटो दिएपछि यसअघि बेलायत जानबाट रोकिएका हङकङवासी नेपाली उत्साहित देखिएका छन्। तर हङकङ र बेलायत दुवै देशका कानुनका ज्ञाता नेपाली अधिवक्ता उत्तरमान तिगेला लिम्बू भने यसबाट नेपालीले तत्काल लाभ लिन नसक्ने बताउँछन्।

उनी भन्छन्, ‘हङकङमा १९९७ फेब्रुअरीभन्दा अगाडि बीएनओ लिन नपाएका र बीएनओ होल्ड गरेका नेपालीले ब्रिटिस नेस्नालिटी एक्ट १९८१ तथा ब्रिटिस नेस्नालिटी (हङकङ) एक्ट १९९७ अनुसार सीधै बेलायती नागरिकता प्राप्त गर्न सक्छन्। बेलायतले हाल लागू गरेको नियमअनुसार बीएनओवाहकले लगातार ५ वर्ष बेलायत बसेपछि छैटौं वर्षमा मात्र नागरिकताका लागि निवेदन दिन सक्छ्न्, तसर्थ सीधै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै ६ वर्ष कुर्नुपर्ने मूर्खता कसले गर्छ?’

बरु कानुनले अयोग्य भनेकालाई छिटो प्रक्रियाबाट भित्र्याउने तर कानुनले योग्य ठहर्‍याएकालाई चाहिँ अनेक बहानामा झुलाउने बेलायती सरकारविरुद्ध मुद्दा हाल्नुपर्ने उनको तर्क छ।

‘बेलायतको उक्त कदमपछि चीनले बीएनओधारीलाई मान्यता नदिने घाेषणा गरेको छ, यसको असर के कस्तो हुन सक्छ भन्ने प्रश्नमा लिम्बूले भने, ‘बेइजिङले हङकङ छाडेर जान (बेलायत) चाहनेहरूलाई तर्साउन खोजेको मात्र हो, कोकोसँग बीएनओ छ, त्यो पनि उसलाई थाहा छैन। हङकङका बासिन्दाले सुरुमा बीएनओ पासपोर्ट प्रयोग गरे पनि पछिल्लो समय सार पासपोर्टको महत्त्व बढेपछि बीएनओ प्रयोग गर्न छाडिसकेका छन्।’

उनका अनुसार फेरि बेलायतले को कोसँग बीएनओ छ, ककसले भिसाका लागि आवेदन दिएका छन् भन्ने कुरा चीनलाई भन्दैन। तसर्थ यसकाे असर खासै पर्दैन। उनी थप्छन्, ‘तर चीन समर्थक देशहरूले पनि बीएनओधारीलाई मान्यता नदिन सक्छन्।’

उक्त विषय राजनीतिक लडाइँ भएकाले बेलायत जानेहरूको संख्या ठूलो भएमा बेइजिङ (चीन) ले कठोर कदमसमेत चाल्न सक्ने लिम्बू बताउँछन्। तर त्यसो भए पनि हङकङमा नेपालीको संख्या सानो भएकाले खासै ठूलो असर नपर्ने उनको अनुमान छ।

बेलायत बसाइँ सर्न हतारो
जमानसिंह राई (नाम परिवर्तन) आफ्नी श्रीमतीको आश्रित बनेर सन् १९९७ भन्दा अगाडि हङकङ आए। तर उनकी पत्नीले बीएनओ लिन भ्याइनन्। बेलायत रहेका आफन्तले तारन्तार आउन अनुरोध गरेपछि उनले ब्रिटिस ओभरसिज सिटिजन (बीओसी) बनाउन खोजे। तर प्रक्रिया झन्झटिलो भएपछि बेलायत जाने उनको योजना अवरुद्ध भयो।

अहिलेको माहोलले उनको बेलायत जाने हुटहुटी फेरि जगाइदिएको छ। बेलायतले ५४ लाख हङकङवासीलाई लान्छु भनेर लोभ देखाएपछि त्यो हुलमा आफू पनि परिन्छ कि भन्ने आशा उनमा पलाएको हो। लामो समय एकै ठाउँको बसाइले दिक्क भएका उनी ‘रिफ्रेस’ हुन बेलायत बसाइँ सर्न हतारिएका हुन्।

सहज छैन बेलायत बसाइ
देव मगर (नाम परिवर्तन) हङकङबाट करिब डेढ वर्षअघि बेलायत बसाइँ सरे। हङकङ छँदा उनी सिकर्मीका सिफु (मास्टर) थिए। मासिक झन्डै लाख डलर बुझ्ने उनी बेलायत छिरेपछि महिनौं बेरोगार बने।

आफ्नी श्रीमतीको अंग्रेजी त्यति राम्रो नभएकाले एजेन्सीबाट काम त पाइन् तर दाम थोरै। देवले पनि बल्लतल्ल काम त पाए तर महिनाको जम्मा १२/१५ सय पाउन्ड ! घरभाडा तिर्दै ठिक्क ! सन्तानकाे राम्रो शिक्षाका लागि बेलायत गएका उनलाई त्यहाँको पढाइ नम्बरी सुनजस्तै हुन्छ भन्ने कुरामा अहिले शंका लागेको छ।

‘गोराको देश भन्नु मात्रै, नानीहरूको स्कुलका विद्यार्थी ९० प्रतिशत काला र साउथ एसियन मूलका छन्। सबै एकै ड्याङका मूला भएपछि के राम्रो पढ्लान् नानीहरूले,’ उनी निराशा पोख्छन्।

उनले आफ्ना नानीहरूको पुस्तक र होमवर्क आजसम्म देखेका छैनन्। आफ्ना बच्चाले स्कुलमा के पढ्छन् उनलाई थाहा छैन। होमवर्क खोइ भनेर नानीहरूलाई सोध्यो भने सबै स्कुलमै गर्छौ भन्ने जवाफ आउँछ। पुराना बेलायतवासीलाई सोध्दा बेलायतको स्कुलमा यस्तै हो, नेपालको जस्तो घोकन्ते कहाँ हुन्छ यहाँ? सबै कम्प्युटरबाट पढाइ हुन्छ भन्छन्।

पुराना बासिन्दाका अनुसार त्यहाँ विद्यार्थीले ए लेभल र युनिभर्सिटी गएपछि राम्रो पढाइ पाउँछन्। तर उनी भन्छन्, ‘आधार नै बलियो नभएकाहरूले युनिभर्सिटीमा गएर कसरी राम्रो पढ्न सक्लान् र !’

उनलाई बेलायती पढाइ एउटा ‘ब्रान्ड’ मात्र भएजस्तो लाग्न थालेको छ। उनी बेलायतको भन्दा नेपालकै पढाइ स्तरीय भएको दाबी गर्दै भन्छन्, ‘बेलायतका विश्वविद्यालयमा राम्रो स्कोर गर्ने नेपाली विद्यार्थी नेपालकै प्रडक्ट हुन् अर्थात् उनीहरू हाइस्कुल वा प्लसटु नेपालमै सकेर आएका हुन्छन्।’

यी यावत् निराशाले आफू डिप्रेसनमा पर्न लागेको सुनाउँदै उनी आफू चाँडै हङकङ फर्किने सुनाउँछन्।

गणेश राई (नाम परिवर्तन) हङकङबाट बेलायत गएको १ वर्ष नाघ्यो। तर उनी अझै बेरोजगार छन्। हङकङ छँदा कहिल्यै कामविहीन नभएका उनी यति लामो समय फुर्सदिलो बन्नुपर्ला भन्ने सोचेका थिएनन्।

स्काफफोल्डिङका सिफु उनी मासिक ५० हजारसम्म हङकङ डलर बुझ्थे। भन्छन्, ‘अब त सेभिङ (बचत) पनि सकिँदै गयो। हङकङ छाडेर हिडिँहालियो, अब जे पर्ला, त्यही टर्ला।’

हङकङबाट बेलायत गएकाहरूलाई निकै पैसावालाका रूपमा हेर्ने गरेको उनको अनुभव छ। तर नेपालबाट आएकाहरूको चाहिँ कन्तबिजोग भएको उनी बताउँछन्।

घर भाडामा लगाउनेहरूले पनि हङकङवालाहरूलाई पहिलो प्राथमिकता दिएको उनले बताए। भन्छन्, ‘जे होस्, यूकेमा हङकङे नेपाली ब्रान्ड बनेका रहेछन्।’

‘लङटर्म लगानी’
६ महिनाअघि हङकङबाट बेलायत हानिएका प्रित गुरुङले बेलायत बसाइलाई ‘लङटर्म लगानी’का रूपमा लिएका छन्। उनी पनि अन्यजस्तै बेरोजगार छन्। भन्छन्, ‘कुसाइतमा बेलायत छिरिएछ, आर्थिक रूपमा निकै घाटा खाइयो, हङकङमा भए यतिबेलासम्म निकै कमाइन्थ्यो।’

हङकङ छँदा संस्थाका अध्यक्षसमेत भइसकेका उनी बेलायतमा शून्यबाट सुरु गर्नुगर्दा निकै चुनौती सामना गर्नुपरेको बताउँछन्।

‘इच्छाका कारण मान्छेले दुःख निम्त्याउँछ’ बुद्ध वाणी उनलाई राम्रो हेक्का छ। तर पनि आफ्ना सन्तानलाई बेलायतको शिक्षा दिलाउन पाउँदा यसलाई ‘लङटर्मको लगानी’ रूपमा आफूले लिएको उनको भनाइ छ।

बेलायत जाँदै, हङकङ फर्किंदै
हङकङबाट बेलायत बसाइँ सर्नेको लर्को लागेपछि प्रकाश लिम्बू (नाम परिवर्तन) पनि अछुतो रहन सकेनन्। उनी आफ्नी श्रीमतीसहित बेलायत हानिए।

हङकङमा सेलेब्रेटीका रूपमा स्थापित भइसकेको यो जोडीलाई बेलायत फापेन। हङकङमा हुँदा जमघट, स्टेज सोतिर देखापर्ने बानी परेको यो जोडीलाई बेलायतमा सुनसान वातावरणमा बस्नुपर्दा आइसोलेसनजस्तै लाग्यो।

फेरि आफ्नो संगीतप्रतिको मोहको मुनालाई बेलायतको ठिही (चिसो) ले खाइदिएको अनुभूति उनलाई भयो। फलस्वरूप उनी फेरि हङकङ फर्किए। हङकङ फर्किंदा उनले धेरै जनाको प्रश्नको वाणको सामना गर्नुपर्‍याे।

भन्छन्, ‘बेलायत र हङकङका आआफ्नै विशिष्टता र विशेषता छन्, कहाँ बस्ने भन्ने कुरा नितान्त निजी मामिला हो।’

हालसम्म हङकङबाट अधिकतर नेपाली बेलायत बसाइँ सरिसकेका छन्। अहिले हङकङमा जति नेपाली छन्, तीमध्ये प्रायः बेलायत नजाने मनस्थितिमा छन्। उनीहरूका लागि डलर कमाउन हङकङ उत्कृष्ट गन्तव्य हो भने आरामदायी जीवन र शैक्षिक उन्नतिका लागि बेलायत।

याे पनि :  हङकङवासीलाई एकसाथ अवसर र संकट, नेपाली पनि प्रभावित

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .