हङकङमा विस्फोटक पदार्थ राखिएको झुटो हल्ला फैलाउने एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
क्वाईचुङको प्रहरी कार्यालयमा बम राखिएको दाबी गरिएपछि प्रहरीले खोजी गरेको थियो, तर केही भेटिएन। त्यसपछि हल्ला फैलाउनेतिर सोझिएको प्रहरीको अनुसन्धानले सामाजिक सञ्जाल पोस्टबाट पहिचान गर्दै १९ वर्षीया युवतीलाई पक्राउ गरेको हो।
पक्राउबारे आइतबार जानकारी गराइए पनि प्रहरी शनिबार नै उनलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्ने युवती लिउ उपनामकी हुन्। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने यस घटनालाई प्रहरीले भद्दा मजाकको रूपमा लिँदै कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
हङकङमा सार्वजनिक व्यवस्था अध्यादेशमा यस किसिमका झुटा सन्देश प्रवाह गर्नेलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था रहेको स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्ट लेख्छ।
18
Shares

प्रतिक्रिया