विश्वको जुनसुकै कुनामा पुगियोस्, दूरीले टाढा भए पनि मातृभूमिसँग कोही टाढा हुन सक्दैन। जसरी आमाको कोख बदल्न सकिँदैन त्यसरी नै मातृभूमि कहिल्यै बदलिँदैन चाहे त्यो कागजी रूप फरक नै किन नहोस्।
यस्तै, देशबाट केही पर हङकङलाई कर्मथलो बनाइरहेका केही नेपालीले मातृभूमिको मौलिकतालाई आफूले काम गर्ने कार्यालयभित्र भित्र्याएका छन्।
आज असार १५। उनीहरूले कार्यालयभित्र दही चिउरा खाएर संस्कृतिप्रति सम्मान झल्काएका हुन्। असार १५ नेपाली किसानको उत्सवको दिन हो। हिलोसँग पसिना साट्दै धान रोप्ने र दही–चिउरा खाई रमाउने यस दिन हाम्रो कृषि संस्कृति र श्रमप्रतिको सम्मानको प्रतीक बनेको छ। यस दिनलाई धान दिवसका रूपमा पनि चिनिन्छ।
निर्माण क्षेत्रको एक कम्पनीमा कार्यरत झन्डै २ दर्जनको संख्यामा रहेका नेपालीले कम्पनी कन्टेनरमा दही चिउरा खाएर असारे पर्व मनाएका हुन्।
समूहका एक गोरखाका गणेश तमु परदेशमा बसेर देशको संस्कृतिलाई थोरै पछ्याउन पाएकोमा गर्व गर्छन्। यति भन्दै गर्दा उनले दही-चिउराको मेसोमेलो मिलाउने साथी देवराज कन्दङ्वा लिम्बूलाई क्रेडिट दिन भने भुल्दैनन्।
तमु भन्छन्, ‘हङकङ समय दिउँसोको ३:४० बजिसक्यो सधैँजसो खाजा खान हतारिने साथी देवराजको कुनै सुरसारै छैन! टि ब्रेक जाऊँ भन्दा पो भन्छन् त– चिया नास्तातिर लाग्ने होइन, आज असार १५ थाहा छैन?’
भोकले रन्थनिएको वेला साथीको कुरा अवाक् नै भइयो। तर, उनैले निन्याउरिएको अनुहारमा खुसी छरि हाले, ‘आज दही चिउरा केरा खाने हो।’
तमु थप्छन्, ‘राष्ट्रिय पर्व मनाऔँ है साथहरू भन्दै उनी कन्टेनर प्रवेश गरे। उनको पिछा लाग्दै जाँदा पो थाहा भयो दही चिउराको जोहो गरिसकेका रहेछन्। अघि नै सँगैका साथी मोरङका राजकुमार गुरुङलाई कम्पनी नजिकै रहेको नेपाली स्टोरमा दही चिउरा लिन पठाइसकेका रहेछन्।’
तेह्रथुमको आठराई गाउँपालिकामा पर्ने छातेढुङ्गामा हुर्किएको वेदराज लिम्बू ऊ बेलाको सम्झनाले हुरुक्कै भएर आझको कार्यक्रम फुरेको बताउँछन्। देशको संस्कृतिलाई विदेशमा जति सकिन्छ बाँड्न सकिँदा आफ्नो मुलुकप्रति न्याय हुने उनलाई लाग्छ।
Shares

प्रतिक्रिया