हङकङको हाइकिङ एसोसियसन हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसन (एचकेनुट्रा)ले आइतबार हाइकिङ कार्यक्रम आयोजना गर्यो।
दुई वर्षअघिदेखि मासिक रूपमा हाइकिङ कार्यक्रम गरिरहेको एचकेनुट्राको यो २५औँ कार्यक्रम हो। २५औँ हाइकिङ एचकेनुट्राका लागि केही विशेष समेत रहन गयो।
किनकि हाइकिङमा हङकङलाई कर्मथलो बनाउँदै आएका कलाकार मौसम लिम्बूदेखि अन्तर्राष्ट्रिय रूपमा म्याराथनमा विशेषज्ञता हासिल गरेका धावक हरिकुमार रिमाल अनि पर्वतारोही राज गुरुङको उपस्थिति रहन पुग्यो।
फुलेन्देको बाउ उपनामले चर्चित रहेका कलाकार लिम्बूले पछिल्लो समय ‘जोर ढुंगा’ चलचित्रमार्फत आफूलाई अभिनयमा निरन्तरता दिएका छन्। यो फिल्म आगामी ३० अगस्टमा हङकङमा ग्रान्ड प्रिमियर हुँदैछ।
हाइकिङका क्रममा पंक्तिकारसँग भेटिएका अभिनेता लिम्बू प्रकृतिको काखमा समय बिताउँदा सिर्जनात्मक उर्जा पैदा हुने बताए।

त्यस्तै, लामो दूरीका धावक रिमालले आफूलाई अन्तर्राष्ट्रिय धावकका रूपमा दर्ज गरिसकेका छन्। सन् २०१६ मा रियो दि जेनेरियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा उनले नेपालको प्रतिनिधित्व गर्दै पुरुष पाँच हजार मिटरतर्फ राम्रो प्रदर्शन गरेका थिए।
पर्वतारोही राज गुरुङले एचकेनुट्राको २५औँ हाङकिङमा सहभागी भई कार्यक्रमको शोभा बढाएका थिए। गुरुङले २०२५ को मे १८ मा सर्वोच्च शिखर सफल आरोहण गरी हङकङवासी नेपालीको शिर उचो बनाएका थिए।
व्यवसायी गुरुङले यो ऐतिहासिक सफलतालाई सगरमाथा चुचुरो चुम्ने दोस्रो हङकङवासी नेपालीमा दर्ज गरे। सोही दिन गुरुङभन्दा ६ घण्टा अघि हङकङकी अर्की नेपाली चन्द्रकला (अन्जला) राईले सगरमाथा शिखरमा पाइला राखेकी थिइन्।
युवा, महिला, किशोरकिशोरीसहित ४५ जना सहभागी हाइकिङमा साहित्यकार, गीतकार, नियात्राकारका साथै केही विदेशी पनि थिए। कोही पहिलो पटक कार्यक्रममा सहभागी थिए। एचकेनुट्राको हाइकिङमा पहिलो पटक सहभागी गणेश गुरुङ सहरको कोलाहलबाट बाहिर निस्केर प्राकृतिक वातावरणमा रम्न पाउँदा निकै हर्षित मुद्रामा देखिन्थे।

‘हाइकिङले १५ वर्ष पहिले पल्टनमा छँदाको क्षण ताजा गरायो,’ भारतीय पूर्वसैनिक गुरुङ खुसी साट्दै थिए।
आइतबारको हाइकिङ दक्षिणपूर्वी हङकङको टापुमा रहेको शेकओबाट सुरु भएर प्राकृतिक दृश्य अवलोकनका साथ ट्रेल सरसफाइ गर्दै बिग वेभ बे समुद्र तटमा पुगेर अन्त्य भएको थियो।

Shares

प्रतिक्रिया