हङकङ जस्ता अन्तर्राष्ट्रिय केन्द्रबाट घुम्दै, रमाउँदै देशलाई यसरी दिऊँ योगदान

भौतिक परिधिभन्दा माथि उठेर संसार नियाल्नु सपनाभन्दा माथिको सपना
हङकङ जस्ता अन्तर्राष्ट्रिय केन्द्रबाट घुम्दै, रमाउँदै देशलाई यसरी दिऊँ योगदान

इन्दर पुन
जेठ २४, २०८३ आइतबार १४:९, हङकङ

हाम्रो जीवनको यात्रा पनि कति अनौठो र अप्रत्याशित हुन्छ। हामी अक्सर आफ्नो हैसियत र परिवेशले तोकिदिएको एउटा निश्चित परिधिभित्र मात्र सपना देख्ने गर्छौँ। जस्तै, एउटा सुरक्षित जागिर, थोरै सम्पत्ति र एउटा स्थापित जीवन। तर, जब समय र सङ्घर्षले हाम्रो चेतनाको ढोका खोलिदिन्छ, हामी त्यो प्रारम्भिक सपनाको सीमाभन्दा कति हो कति माथि उठेर एउटा नयाँ क्षितिज देख्न थाल्छौँ। त्यही नै वास्तवमा ‘सपनाभन्दा माथिको सपना’ हो।

मेरो आफ्नै अनुभव र आज हाम्रो प्रवासी नेपाली समुदायको स्थितिलाई नियाल्दा म के महसुस गर्छु भने, भौतिक प्रगतिको एउटा तह पार गरिसकेपछि अब हामी सबैले यो बृहत् सपना देख्ने र यसलाई आत्मसात गर्ने बेला आइसकेको छ।

परम्परागत सपनाको परिधि र यसको सीमा
प्रवासमा रहेका हाम्रा धेरैजसो नेपालीले विगतका केही दशकमा निकै प्रशंसनीय प्रगति गरेका छन्। नेपालको तुलनामा सबैको जीवनस्तर निकै माथि उठेको छ। धेरैले घरजग्गा जोडेका छन्, राम्रो बैंक बचत र सुरक्षित लगानी सुनिश्चित गरेका छन्। आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने यो पहिलो तहको सपना पूरा गर्नु आफैँमा गर्व गर्न लायक कुरा हो।

तर, के हाम्रो जीवनको अन्तिम वृत्त यत्तिमै सीमित हुन्छ त? केही थान घडेरी र बैंक बचत बाहेक हामीले जीवनमा कुनै नयाँ ‘ठूलो फड्को’ गर्न सक्यौँ कि सकेनौं? कहिलेकाहीँ हामीले वर्षौँ दुःख गरेर कमाएको सम्पत्ति जब आफूलाई वा परिवारलाई आपत्‌कालीन समयमा साँच्चै आवश्यक पर्छ, त्यतिबेला तुरुन्तै उपलब्ध हुन सक्दैन भने त्यसको वास्तविक अर्थ के रह्यो र?

यही भौतिक जोडघटाउमा मात्र रुमल्लिइरहँदा हाम्रो समाजमा ‘भ्रमण’ अर्थात् संसार घुम्ने र नयाँ कुरा खोज्ने संस्कृति सधैँ हाम्रो प्राथमिकताको सबैभन्दा पुच्छरमा पर्छ। के हामी एउटै दिनचर्यामा मात्र बाँधिइरहँदा जीवन कतै एकाङ्की त भइरहेको छैन? के मानिसले जीवनमा संकलन गरेको ‘कथा’ र वैश्विक अनुभव नै सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति होइन र? हङकङ जस्ता अन्तर्राष्ट्रिय केन्द्रहरूमा बसेर यदि हामी वैश्विक अनुभव र कथा संकलन गर्ने सोच्छौँ भने, हामी सही मार्गमा छौँ। यो सोच नै ‘सपनाभन्दा माथिको सपना’को पहिलो पाइला हो।

यही बहस गरिरहँदा हामीले आफ्नो परिवार र भावी पुस्तालाई लिएर एउटा गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ। के हामीले हाम्रा छोराछोरीलाई आफ्नो स्थापित परिधिभन्दा बाहिरको विशाल संसार देखाउन सक्यौँ? के हामी हाम्रा छोराछोरीको व्यक्तित्व विकासमा फराकिलो दृष्टिकोण भर्न सफल भयौँ? या हामी आफैँ यही सीमित परिधिभित्र कैद भएर उनीहरूलाई नयाँ कुरा सिकाउने निरर्थक कोसिस मात्र गरिरहेका छौँ? जबसम्म हामी नयाँ पुस्ताको सोचको क्षितिजलाई फराकिलो बनाउन सक्दैनौँ, तबसम्म उनीहरूले वैश्विक मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने छैनन्।

संगतको फल, आत्मविश्वास र मार्गदर्शनको नयाँ क्षितिज
मेरो आफ्नै जीवनमा पनि मैले यो दर्शनलाई नजिकबाट भोगेको छु। विदेश नजाने सोच बनाएको म, संगत र परिस्थितिका कारण बेलायत पुगेर अध्ययन गर्न पुगेँ। यो ‘संगत गुणाको फल’ थियो, जसले मलाई मेरो सोचेको दायराभन्दा बाहिर निकाल्यो।

बेलायतको त्यो अवसर र त्यहाँ हरेक ६ महिनामा दिइने कठिन परीक्षाको सङ्घर्षले मभित्र एउटा यस्तो आत्मविश्वास पैदा गरिदियो कि आज मलाई जीवनका जस्तोसुकै जटिल समस्या पनि सहजै समाधान गर्न सकिन्छ भन्ने लाग्छ। यो आत्मविश्वास म बेलायत ननिस्किएको भए सायद सम्भव थिएन। मेरा साथीभाइ र संगत मेरा लागि अप्रत्यक्ष मार्गदर्शक थिए, जसका कारण मलाई टाढाको मुलुक पुगी अध्ययन गर्ने आँट मिल्यो। पश्चिमा मुलुकहरूमा ‘मार्गदर्शन’लाई यति धेरै महत्त्व दिनुको कारण पनि यही नै होला।

संकुचित मानसिकताबाट ‘एक्सप्लोरर मेन्टालिटी’तर्फ
हामी प्रायः पश्चिमा मुलुकहरूको विकास र उनीहरूको नयाँ दृष्टिकोण देखेर अचम्मित बन्छौँ। तर उनीहरूले संसारमा यसै प्रगति गरेका होइनन्। उनीहरूले संसार घुमे, नयाँ संस्कृति र प्रकृति नियाले अनि नयाँ कुरा सिके। हाम्रो समाजमा भने अझै पनि एउटा सीमित र संकुचित मानसिकता विद्यमान छ, जसले गर्दा हामी आफ्नैभित्रका सिर्जनशील मानिसहरूलाई हौसला दिन सक्दैनौँ।

यदि हामीमध्येकै कसैले नयाँ दृष्टिकोण ल्याएर केही नयाँ व्यवसाय वा सिर्जना गर्न खोज्यो भने हामी आफैँ उसको खुट्टा तान्ने वा नकारात्मक अफवाह फैलाउन सुरु गर्छौँ। किन त? किनभने हामीले संसारलाई व्यापक रूपमा नियाल्ने मौका पाएका छैनौँ।

तर, त्यही कुरा कुनै अन्य विकसित देशको नागरिकले हाम्रो नेपालको गाउँघर घुमेर, त्यहाँको रैथाने संस्कृति र उत्पादनको महत्त्व बुझेर त्यसलाई नयाँ व्यापारिक रूप दियो भने हामी ‘वाह! विदेशीले कस्तो गज्जबको काम गर्‍यो’ भन्दै महँगो मूल्य तिरेर उसकै उत्पादन किन्छौँ। त्यो विदेशीको काम गर्ने ढङ्ग किन त्यति फरक र रचनात्मक भयो? किनभने उसले संसार घुमेको छ, धेरै ठाउँबाट सिकेको छ। यो ‘अन्वेषक मानसिकता’बिना यस्ता नवीन काम सम्भव नै हुँदैनन्। त्यसैले, आफ्नो समाज र आफ्ना सन्ततिहरूलाई यो संकुचित घेराबाट बाहिर निकालेर वैश्विक सोचतर्फ डोहोर्‍याउनु हामी सबैको ‘सपनाभन्दा माथिको सपना’ हुनुपर्दछ।

नागरिक वकालत र राहदानीको मूल्य
हामी जब संसार घुम्न र नयाँ क्षितिजहरू खोज्न निस्कन्छौँ, तब हामी केवल व्यक्तिगत रूपमा मात्र घुमिरहेका हुँदैनौँ; हामी अप्रत्यक्ष रूपमा आफ्नो देश र समुदायको लागि धेरै ठूलो कूटनीतिक पैरवी गरिरहेका हुन्छौँ। हामीले विश्वको क्षितिजमा नेपाली राहदानीको सान र अस्तित्वलाई बलियो बनाइरहेका हुन्छौँ।

हङकङजस्तो अन्तर्राष्ट्रिय सहरमा लामो समय बिताइसकेका हामी नेपालीले जब नेपाली राहदानी बोकेर संसारका विभिन्न देशका वाणिज्यदूतावासहरू धाउँछौँ, तब उनीहरूमा एउटा बलियो र नयाँ सन्देश जान्छ। उनीहरूले बुझ्छन् कि, ‘नेपालीहरू केवल श्रम गर्न मात्र आउँदैनन्, उनीहरू त विश्व भ्रमण गर्न सक्ने एउटा सक्षम र उच्चस्तरीय ‘विशिष्ट बजार’ पनि हुन्।’ जब हामी यसरी बाहिर निस्कन्छौँ, हामी विदेशीहरूसँग सिधै जोडिएर नेपाली कथा र नेपालको प्रवर्द्धन गरिरहेका हुन्छौँ।

जति जना आफैँ यसरी घुमिरहनुभएको छ, तपाईँले अप्रत्यक्ष रूपमा ठूलो योगदान दिनुभएको छ। जसले यसरी निस्कने सोच गर्नुभएको छ, त्यो सोच नै ‘सपनाभन्दा माथिको सपना’को पहिलो पाइला हो। जसको अहिलेसम्म यो सोच आएको छैन, अब सोच्ने बेला आएको छ।

सुन्दा पनि कति राम्रो सुनिने– घुम्दै-फिर्दै, रमाइलो गर्दै, आफ्नो जीवन सार्थक बनाउँदै समुदाय र देशलाई ठूलो योगदान पुर्‍याउने! आउनुहोस्, ‘सपनाभन्दा माथिको सपना’ सँगै मिलेर साकार पारौँ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .