गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, हङकङ (एनआरएनए हङकङ)को लोगोले हङकङ सरकारको बौद्धिक सम्पत्ति विभाग (आईपीडी हङकङ)बाट ट्रेडमार्क दर्ता पाएको छ।
यो सँगै एनआरएनए हङकङको लोगोले अब हङकङ सरकारबाट बौद्धिक सम्पत्तिको कानुनी अधिकार प्राप्त गरेको छ। ट्रेडमार्क पाएसँगै अब संस्थाको अनुमतिविना कसैले लोगो प्रयोग गर्नु कानुनी रूपमा अवैध हुनेछ।
हङकङमा नेपाली सम्बन्धित अनगिन्ती संघसंस्था छन्। नेपाली समुदायको हकहितमा काम गर्नलाई यसरी समुदायलक्षित संस्था खोलिनु निकै राम्रो पक्ष हो।
यसका साथसाथै यहाँ अर्को एक संस्कारले पनि जरो गाड्दै फैलिइरहेको छ त्यो हो संस्थामा फुट। जुनकुनै संस्थामा चिराचिरा हुनेगरी फुट आउनु यहाँको नियमजस्तै बनिसकेको छ। जुन संस्था र लाभान्वित वर्ग दुवैलाई घातक हो।
यसका साथसाथै संस्था फुटको पीडासँगै फुटेर जाने समूहले पनि समान लोगो र कार्यक्रमसहित समानान्तर गतिविधि गरिँदिँदा धेरै संस्थालाई टाउको दुखाइको विषय बन्न पुगेको छ।
यस्तै टाउको दुखाइको मल्हमपट्टि बन्न पुगेको छ एनआरएनए हङकङको लोगो ट्रेडमार्क। जसले एक हप्ताअघि मात्र हङकङ सरकारको आधिकारिक निकायबाट एनआरएनए हङकङको लोगो ट्रेडमार्क पाएको छ।
यसबाट संस्थाको अनुमतिविना कुनै समूहलाई यो लोगो प्रयोग गर्ने बाटो बन्द गरिदिएको छ। यदि कसैले प्रयोग गरेमा आफूहरू कानुनी कारवाहीका लागि अदालत पुग्ने बाटो खुलेको बताउँछिन् संस्थाकी अध्यक्ष अनु राई।
राईले नेपालखबरसँगको फोनवार्तामा भनिन्, ‘सन् २००४ मा हङकङको सम्बन्धित निकायमा दर्ता भएको एनआरएनए हङकङको पछिल्लो समय लोगो दुरुपयोगको मात्रा एकदम बढेर गयो। यसको समाधानका लागि हामीले ४/५ महिना पहिले ट्रेडमार्क लिने प्रक्रिया सुरु गरेका थिए। अन्तत: गएको हप्ता प्रमाणपत्र आइपुगेको छ।’
ट्रेडमार्क आएपछि अब कसैले संस्थाको लोगो प्रयोग गर्न नपाउने उनको दाबी छ। अध्यक्ष राई अगाडि थप्छिन्, ‘अब अनधिकृत तवरले लोगो प्रयोग गरी ब्यानर बनाउने, कार्यक्रम गर्ने तथा सोसल मिडियामा समेत कसैले प्रयोग गरेको पाइए हामी अदालत जाने बाटो खुलेको छ।’
एनआरएनए हङकङको यो प्रयासले हङकङमा रहेका अन्य संघसंस्थालाई पनि पाठ मिलेको राई बताउँछिन्। ‘संस्था जुट र फुटको समस्या भोग्दै आइरहेका अन्य संघसंस्थालाई पनि हाम्रो कामले यसो गर्न सकिँदो रहेछ भन्ने शिक्षा दिएको छ,’ राई भन्छिन्, ‘यसले संस्थामा ससानो समूहले फुट निम्त्याउने, आफू नै आधिकारिक हौँ भन्ने र समानान्तर गतिविधि गर्ने कामलाई पूर्णत: रोकथाम गर्न सघाउँछ।’
ट्रेडमार्क आएपछि एनआरएनए हङकङले आफ्नो फेसबुकमा यसबारे सूचना राख्दै सचेत समेत गराएको छ। जसमा एनआरएनए हङकङको लोगो अब संस्थाको कानुनी र बौद्धिक सम्पत्ति बनेकोले यसको दुरुपयोग रोक्न हङकङको ट्रेडमार्क कानुनबमोजिम कडा कानुनी प्रावधान र चेतावनीप्रति गम्भीर ध्यान दिन समेत खबरदारी गरेको छ। जहाँ बुँदागत रूपमा उल्लेख गरिएको छ–
लिखित अनुमति अनिवार्य: संस्थाको आधिकारिक र लिखित अनुमतिबिना संस्थाको लोगो कतै पनि (कुनै पनि कार्यक्रम, ब्यानर, लेटरहेड वा अनलाइन पेजमा) प्रयोग गर्न पाइने छैन।
मिल्दोजुल्दो लोगोमा पूर्ण बन्देज: संस्थाको लोगो मात्र होइन, यससँग हुबहु मिल्दोजुल्दो र सर्वसाधारणलाई भ्रममा पार्ने खालका कुनै पनि लोगो बनाएर प्रयोग गर्न कानुनी रूपमा सख्त मनाही छ।
क्षतिपूर्तिसहितको कानुनी कारबाही: स्वीकृतिबिना अनधिकृत रूपमा लोगो प्रयोग गरेको पाइएमा, त्यस्ता व्यक्ति वा संस्थाविरुद्ध अदालतमा मुद्दा दर्ता गरी आर्थिक क्षतिपूर्ति र प्रयोगमा बन्देज माग गरिने तथा यस प्रक्रियामा लाग्ने सम्पूर्ण कानुनी र अदालती खर्च समेत उल्लङ्घनकर्ताबाटै असुल गरिनेछ।
सामग्री जफत तथा नष्ट: अनधिकृत लोगो वा मिल्दोजुल्दो लोगो प्रयोग गरी बनाइएका ब्यानर, पर्चा, लेटरहेड वा कुनै पनि सामग्री ट्रेडमार्क कानुन बमोजिम जफत गरी नष्ट गरिनेछ।
व्यक्तिगत जवाफदेहिता: कुनै संस्था वा समूहको नाममा लोगो दुरुपयोग भएता पनि उक्त कार्यमा संलग्न आयोजक वा सञ्चालकहरू व्यक्तिगत रूपमै कानुनी कारबाहीको भागीदार हुनेछन्। कानुनको अज्ञानता (‘थाहा थिएन’ वा ‘झुक्किएर भयो’ भन्ने बहाना) ले कुनै कानुनी छुट दिलाउने छैन।
स्वीकृति लिन अनुरोध: संस्थाको लोगो वा नाम कुनै पनि रूपमा प्रयोग गर्नुअघि एनआरएनए हङकङबाट औपचारिक स्वीकृति लिनुपर्नेछ।
Shares

प्रतिक्रिया