नेपालीहरू हङकङमा आउन थालेका करिब तीन दशक पुगेको छ। त्यो भन्दा अगाडि बेलायती सेनाको रूपमा गोर्खालीहरू यहाँ कार्यरत हुन्थे। तिनकै सन्तान आज करिब ४० हजारको हाराहारीमा हङकङमा छन्।
सन् नब्बेको अन्त्यतिर हङकङमा सञ्चालित ठूला परियोजनाबाट नेपालीहरूले आकर्षक कमाई गर्थे। त्यतिबेला हङकङ आउनेहरू धेरैको एउटै सपना थियो– दुई/चार वर्ष दु:ख गर्ने, धन कमाउने, अनि काठमाडौँमा बङ्गला बनाउने। केही पैसाले व्यापार गर्ने।
धेरैले काठमाडौँमा घर पनि बनाए। तर, आफ्नो मेहनतको कमाइले बनाएको घरमा बस्न पाएका छैनन्, दु:ख जहीँको तहीँ छ।
खोटाङका हेमन्त राई यही मेसोमा हङकङ आईडीमार्फत सन् २००९ मा हङकङ झरे। नेपालमै व्यवसायमा जमेका उनी पारिवारिक कारणले हङकङ आउनुपरेको बताउँछन्।

हङकङ आएपश्चात् उनको सपना आमनेपाली भन्दा अलि भिन्न थियो। उनी चाहन्थे–हङकङमा आर्जन गरेर हङकङमै व्यवसाय सुरु गरुँ। चाहनाअनुरुप उनले वित्तीय क्षेत्र रोजे।
कोभिडको महामारीले धेरै व्यवसाय धराशायी भइरहेको बेला तीन वर्ष अगाडि उनले आँटे पब्लिक इन्भेस्टमेन्ट कम्पनी। आफ्नै नेतृत्वमा स्थापना गरेको यो व्यवसायले सुरुकै वर्षबाट सेयरधनीबीच मुनाफा वितरण गरिरहेको छ।
कान्छो कम्पनी मुनाफामा अगाडि
हङकङमा नेपालीहरूद्वारा सञ्चालित कतिपय वित्तीय कम्पनी बन्द हुने स्थितिको सामना गरिरहेको बेला पछिल्लो समय कान्छो वित्तीय कम्पनीका रूपमा भित्रिएको ‘पब्लिक इन्भेस्टमेन्ट’ले तेस्रो वार्षिक साधारण सभाका अवसरमा सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
जोर्डनस्थित जेडी मलमा अवस्थित चाइनिज रेस्टुरेन्टमा गत आइतबार आयोजित साधारण सभाले कम्पनीले उक्त नगद लाभांश वितरण गरेको हो। साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार हाल कम्पनीको पुँजी करिब ७० लाख हङकङ डलर रहेको छ।

अध्यक्ष हेमन्त राईको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, प्रमुख अतिथि तथा नेपाल फाइनान्सका अध्यक्ष धिरजकुमार राई, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ लगायतका अतिथि थिए।
कार्यक्रम सञ्चालक सचिव नेत्रपाल राईका अनुसार, कम्पनीले व्यक्तिगत तथा व्यावसायिक कर्जा, मोर्गेज, विद्यार्थी कर्जा आदि उपलब्ध गराउँदछ भने सम्पत्ति, सुन तथा विदेशी मुद्रामा समेत लगानी गर्ने गरेको छ।


Shares

प्रतिक्रिया