हङकङका स्काफोल्डिङ कामदारको तलब बढ्ने सम्भावना देखिएको छ। निर्माण उद्योगका एक प्रतिनिधिलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार, अर्को महिनादेखि अग्नि सुरक्षा परीक्षण पास गरेका प्लास्टिक जालीको प्रयोग सुरु भएसँगै कामदारको तलब पनि बढ्ने सम्भावना रहेको हो।
हङकङका निर्माणाधीन दुई सयभन्दा बढी भवनमा आगो-परीक्षण गरिएका प्लास्टिकका जाली जडान हुँदै छन्। यी भवनका जाली, ताइपोमा भएको घातक आगलागीपछि सरकारको आदेशमा हटाइएका थिए।
ताइपो घटनापछि सरकारले निर्माण क्षेत्रमा प्रयोग गरिने जालीमा कडा परीक्षण पास गर्नुपर्ने घोषणा गरेको छ। जसको मुख्य बुँदामा, जाली आगो प्रतिरोधी छ भनेर ठेकेदारले प्रमाणित गर्नुका साथै तोकिएका प्रयोगशालाहरूमा नमूना परीक्षण गर्नुपर्ने रहेका छन्।
ताइपोको वाङफुक कोर्टमा १६० जनाको ज्यान जाने गरी भएको आगलागीमा आगो द्रुत गतिमा फैलिनुको कारणमध्ये कमसल स्काफोल्डिङ जाली र फोम बोर्डहरू मुख्य भएको विश्वास गरिएको छ।
Shares

प्रतिक्रिया