हङकङको पहिलो चिनियाँ औषधि अस्पताल (चाइनिज मेडिसिन हस्पिटल अफ हङकङ) ले बिहीबारबाट सेवा सुरु गरेको छ। अस्पताल स्रोतका अनुसार सेवा सुरु गरेको पहिलो दिन नै सबै टिकट बुक भएका छन्।
चिनियाँ औषधि विकासलाई विश्वसामु ल्याउने उद्देश्य राखेको यो अस्पताल चेङक्वान ओमा रहेको छ। जसको लक्ष्य जटिल केसका लागि पनि सेवा प्रदान गर्नु रहेको अस्पतालको दाबी छ।
‘हामी हङकङमा चिनियाँ औषधिको विकासलाई विश्वसामु ल्याउने र अझ बलियो जग स्थापित गर्ने आशा राख्छौँ,’ बिहीबार बिरामीका लागि ढोका खुला गरेसँग अस्पतालको निर्देशक बोर्डका अध्यक्ष वोङ क्वाइले भने।
क्वाइको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट थप लेख्छ, ‘अस्पतालले स्वास्थ्य सेवा, शिक्षण, तालिम र अनुसन्धानको निरन्तर वृद्धिको लागि पूर्ण रूपमा जोड दिनेछ र सरकारले चाँडै घोषणा गर्ने चिनियाँ औषधि विकास खाकालाई सक्रिय रूपमा सहजीकरण गर्नेछ।’
यस्तै, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रोफेसर बियान झाओसियाङले बिरामीको चाप देखिए पनि पहिलो दिन सेवा सञ्चालन सहज रूपमा अघि बढेको बताए।
पहिलो दिन नै बिरामीको चाप देखिएपछि सुविधा र स्लट थप गर्नका लागि अस्पताललाई प्रेरित गरेको प्रमुख कार्यकारी बियानले प्रतिक्रिया दिएका छन्।
उनका अनुसार सरकारी अनुदान प्राप्त कोटा पहिलो महिनाको लागि पूरै बुक भइसकेको छ। यही चाप हेरेर पहिलो १० दिनका लागि कोटा दोब्बर गरिएको छ भने बिहीबारबाटै सुरु हुने गरी ३० प्रतिशत स्लट थपिएका छन्।
बियानले बताएअनुसार, अनुदानित र निजी सेवाग्राहीसहित कुल १८१ बिरामीले पहिलो दिनका लागि अपोइन्टमेन्ट बुक गरेका थिए।
यस अस्पतालमा ६५ प्रतिशत सेवा अनुदानमा र ३५ प्रतिशत सेवा बजारउन्मुख आधारमा सञ्चालन हुने छन्। अस्पताल स्रोतले यसअघि नै गराएको जानकारीअनुसार, अन्य सेवा प्रदायकको तुलनामा अनुदानित सेवाको मूल्य बजार दरको लगभग एक दशांशदेखि एक तिहाइसम्म हुनेछ। जसबाट हङकङका बासिन्दाले लाभ लिन सक्ने छन्।
अस्पतालले टिकट शुल्क बाहिरी बिरामीका लागि प्रतिभ्रमण १८० हङकङ डलर तोकेको छ।
यो अस्पताल सरकारको स्वामित्वमा छ भने बाप्टिस्ट विश्वविद्यालयद्वारा सार्वजनिक-निजी साझेदारी मोडलमा सञ्चालन हुनेछ।
Shares

प्रतिक्रिया