हङकङको ताइपोमा डेढ हप्ताअघि (२६ नोभेम्बर) भएको भयानक आगलागीमा मृत्यु हुनेको संख्या १ बढेर १६० पुगेको छ। प्रहरीका अनुसार अझै ६ जना हराइरहेका छन्।
प्रहरी आयुक्त जो चाउलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार अर्को चरणको खोजी कार्यका लागि घटनास्थलबाट स्काफोल्डिङ हटाइँदैछ। स्काफोल्डिङको थुप्रो हटाउने क्रममा हड्डीका टुक्रा फेला परे पनि मानवको हो वा जनावरको भन्ने निश्चित भइसकेको छैन।
त्यस्तै, मृत्यु पुष्टि भएका १६० मध्ये पनि १२० जनाको मात्र पहिचान भएको छ भने बाँकी ४० को डीएनए प्रमाणीकरण हुन बाँकी रहेको चाउले बताए।
‘भेटिएका अन्य अवशेष मानव हुन् वा जनावर हुन् भनेर प्रमाणित गर्ने काम भइरहेको छ,’ आयुक्त चाउको भनाइ छ, ‘प्रमाणित भइसकेपछि मृत्यु संख्या समायोजन हुन सक्छ।’
२६ नोभेम्बरमा ताइपो जिल्लाको वाङफुक कोर्टका आठ भवनमध्ये सात वटामा भीषण आगलागी भएको थियो।
Shares

प्रतिक्रिया