शनिबार साँझ हङकङबाट सिंगापुर जाँदै गरेको स्कुट एयरलाइन्सको उडानमा आगो लागेको छ। अत्यधिक तातो पावर बैंकका कारण लागेको आगो क्याबिन क्रुले तुरुन्तै निभाएपछि ठूलो दुर्घटना भने टरेको छ।
सिंगापुर एयरलाइन्सको बजेट शाखा स्कुटले आइतबार पुष्टि गरेअनुसार उडान टीआर९३९ ले शनिबार साँझ ५:४९ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरका लागि उडान भरेको थियो।
एयरलाइन्सले स्थानीय मिडियालाई बताएअनुसार ‘अत्यधिक तातो पावर बैंकले क्याबिनमा सानो आगो लागेको थियो जुन क्याबिन क्रुले तुरुन्तै निभाए।’
उक्त विमान सोही दिन राति ९:०६ बजे सिंगापुरमा अवतरण गरेको थियो। विमान सिंगापुर पुग्दा विमानस्थलमा आपत्कालीन सेवाहरू स्ट्यान्डबाइ राखिएको थियो। तर, चालक दलका सदस्य र सबै यात्रु सामान्य रहेकाले कुनै उद्धार गर्नु परेन।
एयरलाइन्सले अस्वाभाविक घटनाका निम्ति सबैप्रति माफी मागेको छ। ‘स्कुटले गरेको अवरोध र असुविधाको लागि हामी हार्दिक माफी चाहन्छौँ। हाम्रा ग्राहक र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
उक्त घटनाको फुटेज भन्दै चिनियाँ सामाजिक सञ्जाल रेडनोटमा १० सेकेन्डको भिडिओ पोस्ट समेत गरिएको छ। जहाँ, केही उडान परिचारिका झुरुप्प भई केबिनको भुइँमा रहेको एउटा वस्तुलाई घेरेर त्यसपछि झोलामा राखेको देखिन्छ।

Shares

प्रतिक्रिया