हङकङमा म्युजिक कन्सर्ट हुनु र नेपाली फिल्म सो लाग्नु कुनै नौलो कुरा होइन। यहाँ यस्ता कार्यक्रम हप्ता नबिराइकन हुने गर्दछन्।
तर, बक्सिङ, म्युजिकल सो र डान्स एकै स्टेजमा सम्पन्न हुनुचाहिँ नौलो कुरो हो।
यही नौलोपनाको आभास हङकङवासी नेपालीलाई आउँदो १५ तारिखमा हुने भएको छ। खेलकुद, सङ्गीत र नृत्यको फ्युजनसहित १५ नोभेम्बर, शनिबार साँझ ‘रिदम एन्ड रम्बल फेस्ट’ हुँदैछ। फेस्ट सेङवानस्थित डेफ बक्सिङ जिममा हुनेछ।
विशेष गरेर बक्सिङ खेललाई नेपालीबीच प्रमोट गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको आयोजक सदस्य तथा प्रोफेसनल बक्सर एवं कोच मिलन घले बताउँछन्।

उनका अनुसार, कार्यक्रममा ६ जना नेपाली बक्सरले स्थानीय चिनियाँ बक्सरसँग भिडन्त गर्नेछन्। त्यस्तै, हङकङकै स्थानीय नेपाली ब्यान्ड र नेपाली डान्स स्टुडियोबाट नृत्य प्रस्तुत हुनेछ।
‘बक्सिङ मनोरञ्जन र व्यवसाय दुवै हो। त्यसैले, हामीले साङ्गीतिक ब्यान्ड र नृत्य पनि राखेका हौँ। हामी एक तिरले तीन निसाना लगाउने प्रयत्न गर्दैछौँ। यद्यपि, प्रमुख उद्देश्य चाहिँ बक्सिङ खेलको प्रमोट नै हो,’ मिलन भन्छन्, ‘त्यसैले विशेष गरेर अभिभावकहरूलाई कार्यक्रममा सहभागी भइदिनु हुन अनुरोध गर्नेछौँ।’
मिलनका अनुसार उनी कार्यरत बक्सिङ जिममा करिब १० जना अमेच्युर नेपाली बक्सर, ३ जना व्यावसायिक बक्सर छन्।
कार्यक्रममा सङ्कलित रकम परोपकारी कार्यमा खर्च गरिने कुरा आयोजक सदस्य मिलनले नेपालखबरलाई बताए। जसमध्ये केही रकमबाट नेपालमा नेत्र गुमाएकाहरूलाई सहयोग गरिनेछ।
प्रवेश शुल्क चार सय हङकङ डलर रहेको छ भने कार्यक्रम शनिबार साँझ साढे ६ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया